३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

योजना सुरु आर्थिक वर्षको अन्त्यमा

हुम्ला/रुकुम पश्चिम — आर्थिक वर्ष २०७४/७५ मा हुम्लाका स्थानीय तहमा विकास खर्च कम भएको छ । कर्मचारी अभाव, भौगालिक विकटता, जनप्रतिनिधिमा अलमल, कानुन निर्माणमा ढिलाइ, समयकै निकासा नहुनुलगायत कारण विकास खर्च कम भएको हो । दक्ष जनशक्तिको अभावका कारण केही योजनामा ढिलाइ भएको छ ।

योजना सुरु आर्थिक वर्षको अन्त्यमा

सबै विकास योजना आर्थिक वर्षको अन्त्यमा मात्र सुरु गर्ने प्रवृत्ति दोहरिएकाले पनि विकास बजेट कम खर्च भएको हो । यहाँका अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा आएर मात्र सुरु भएका थिए ।

चालुतर्फ ९५ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुँजीगततर्फ जेठ र असारमा मात्रै २५ प्रतिशत खर्च भएको छ । कोलेनिकाका अनुसार अन्य १० महिनामा भने ४२ प्रतिशत खर्च भएको थियो । चालुतर्फ १० महिनामा ८५ प्रतिशत र जेठ/असारमा २५ प्रतिशत रकम खर्च भएको छ ।

कोष नियन्त्रक राजन रेग्मीका अनुसार हुम्लामा पुँजीगततर्फ ८४ करोड १५ लाख ९६ हजार बजेट बिनियोजन गरिएको थियो । त्यसमध्ये ५६ करोड १३ लाख १० हजार निकासा भएको रेग्मीले बताए । ‘चालुतर्फ दुई अर्ब ३४ करोड ५४ लाख ४७ हजार बजेट रहेकोमा दुई अर्ब २२ करोड ८५ लाख ९७ हजार निकासा भएको थियो,’ कोष नियन्त्रक रेग्मीले भने, ‘चालु आर्थिक वर्षमा चार करोड ९६ लाख १६ हजार राजस्व संकलन भएको छ ।’

गत वर्षको तुलनामा एक करोड बढी राजस्व संकलन भएको छ । गत वर्ष तीन करोड ५७ लाख राजस्व असुल भएको थियो । सबैभन्दा बढी बेरुजु रकम असुली भएको कार्यालयले जनाएको छ ।

साढे दुई अर्ब बजेट
रुकुमका ६ स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ का लागि साढे दुई अर्ब बढीको बजेट पास गरेका छन् । गाउँ तथा नगरसभा मार्फत तीन नगर तथा तीन गाउँपालिकाले दुई अर्ब ५९ करोड ४३ लाख २७ हजारको बजेट पास गरे । असार १० गतेदेखि २९ गतेसम्म चलेका गाउँ तथा नगरसभाका बजेट अधिवेशनले चालु र पुँजीगत तथा अन्य शीर्षकमा बजेट पास गरेका हुन् ।

यो बजेट आर्थिक वर्ष २०७४/०७५ का भन्दा ४६ करोड ८७ लाख ७८ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा जिल्लाका यी नै ६ स्थानीय तहले २ अर्ब १२ करोड ५५ लाख ४८ हजार तीन सय ५४ रुपैयाँको बजेट ल्याएका थिए । तीन नगरपालिकामा सबैभन्दा बढी बजेट मुसिकोट नगरपालिकाले पास गरेको छ । चालु आर्थिक वर्षका लागि मुसिकोटले ६५ करोड ६४ लाख ८८ हजार बजेट पास गरेको छ । उक्त बजेटमा चालुतर्फ २९ करोड ६ लाख ९६ हजार र पुँजीगततर्फ ३६ करोड ५७ लाख बजेट विनियोजन गरेको छ ।

आठबिसकोट नगरपालिकाले ६४ करोड ५८ लाख ११ हजार रकम विनियोजन गरिएको जनाएको छ । चालुतर्फ १८ करोड ९७ लाख र पुँजीगततर्फ ४५ करोड ६१ लाख रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकाले ३६ करोड पाँच लाखको बजेट पास गरेको छ । चालुतर्फ पाँच करोड ५५ लाख र पुँजीगततर्फ ७ करोड ९ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

तीन गाउँपालिकामध्ये सानीभेरी गाउँपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ । सानीभेरीले चालु आर्थिक वर्षका लागि ३४ करोड ९६ लाख २७ हजार बजेट विनियोजन गरको छ । जसमध्ये चालुतर्फ चार करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ८८ लाख रुपैयाँ छुट्याएको छ । त्रिवेणीले ३० करोड १७ लाख बजेट पास गरेको जनाएको छ । चालुतर्फ आठ करोड ६५ लाख र पुँजीगततर्फ आठ करोड १८ लाख बजेट पास गरिएको त्रिवेणीले जनाएको छ ।

त्यस्तै, यसैगरी बाँफिकोट गाउँपालिकाले २८ करोड एक लाखको बजेट पास गरेको छ । चालुतर्फ पाँच करोड ६९ लाख र र पुँजीगततर्फ ११ करोड २१ लाख बजेट विनियोजन गरिएको हो । चालु आर्थिक वर्षमा ६ स्थानीय तहले ६ करोड आन्तरिक राजस्व संकलनको लक्ष्य लिएका छन् ।

मुसिकोटले चालु आर्थिक वर्षमा दुई करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य किटान गर्दा आठबीसकोट नगरपालिकाले एक करोड ५० लाख र चौरजहारी नगरपालिकाले एक करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै सानीभेरी र त्रिवेणी गाउँपालिकाले ५०/५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् भने बाँफिकोट गाउँपालिकाले २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?