बाह्रै महिना सिँचाइ

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका ३ लुहाममा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । गैरालुहाम सिँचाइ योजनामा पक्की कुलो निर्माण भएपछि किसानले नियमित सिँचाइ सुविधा पाएका हुन् । सिँचाइ कुलो निर्माणका क्रममा स्थानीयवासीले ६ लाखभन्दा बढीको श्रमदान गरेका थिए ।

बाह्रै महिना सिँचाइ

सिँचाइ सुविधाले किसान तरकारी खेतीमा आकर्षित भएका छन् । तरकारी खेतीमार्फत स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुगेको छ । स्थानीय पदमबहादुर रावतले यसअघि सिँचाइ सुविधा नहुँदा अन्नबाली र तरकारी खेती गर्न समस्या भएको बताए ।

‘रोपाइँका लागि हप्तांै पालो कुनुपर्ने अवस्था थियो,’ उनले भने । उनका अनुसार पक्की सिँचाइ कुलो बनेपछि त्यत्तिकै खेर गइरहेको पानीको सदुपयोगसमेत भएको छ । खाद्य सुरक्षा कार्यक्रमले सिँचाइ कुलो निर्माणमा सहयोग गरेको हो । सिँचाइबाट ४० घरधुरी लाभान्वित भएका छन् । करिब १५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ सुविधा पुगेको स्थानीयको भनाइ छ । स्थानीय प्रेम बुढाका अनुसार लुहाम खोलामा पानीको अभावले किसानले वर्षौंदेखि सिँचाइ समस्या भोग्दै आएका थिए । ‘सिँचाइ समस्याका कारण हिउँदमा गहुँ बाली मात्र लगाउन बाध्य भएका थियौँ,’ उनले भने, ‘अब तरकारी लगाउन र वर्षभरि तीन बाली लगाउन सकिने भएको छ ।’ सिँचाइको अभावमा साउन दोस्रो सातासम्म बाँझै देखिने फाँटभरि रोपाइँ सकिएको छ । सिँचाइको सुविधा भएपछि तरकारी खेती गरेर आयस्रोत बढाउन सकिएको उनले जनाए ।

उपभोक्ता समितिकी अध्यक्ष भीमकुमारी ओलीका अनुसार पक्की सिँचाइ कुलो निर्माण गर्न स्थानीयवासीले ६ लाख रुपैयाँभन्दा बढीको श्रमदान गरेका थिए ।
करिब ६ लाख रुपैयाँ कार्यक्रमले सहयोग गरेको थियो । सिँचाइ कुलो पुगेपछि स्थानीयलाई सरसफाइका काम गर्नसमेत सजिलो भएको छ । यसअघि स्थानीयलाई कपडा धुन, नुहाउन र बस्तुभाउलाई पानी खुवाउन खोलामै झर्नुपर्ने बाध्यता थियो ।

वरिष्ठ कृषि बिकास अधिकृत अमरराज शर्माले जिल्लाका विभिन्न ठाउँमा दुई वर्षमा ६० लाख अनुदानमा ४० साना सिँचाइ योजना सम्पन्न गरेको बताए । उनका अनुसार त्यसबाट ६ सय किसान परिवार लाभान्वित भएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?