पाँच स्वास्थ्य चौकी औषधिविहीन

राजबहादुर शाही

मुगु — मुगुम्कार्मारोङ गाउँपालिकाका पाँच स्वास्थ्य चौकी औषधिविहीन भएका छन् । स्वास्थ्य चौकीमा सिटामोलसमेत पाउन मुस्किल छ । मुगु, पुलु, माग्री, किम्री र डोल्फु स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो ।

पाँच स्वास्थ्य चौकी औषधिविहीन

गाउँमा ज्वरो, टाइफाइड, पेट दुख्ने, पखाला लाग्नेलगायत बिरामीको संख्या बढ्दै गए पनि औषधि अभावले उपचारमा समस्या भएको छ । बिरामी उपचारका लागि जाने गरे पनि औषधि नपाएर रित्तो हात घर फर्कनुपरेको गुनासो गरेका छन् ।

गाउँमा औषधि पाउन मुस्किल भएपछि दुई दिन पैदल हिँडेर गमगढी आउनुपर्ने बाध्यता भएको बिरामीको गुनासो छ । ‘स्वास्थ्य केन्द्रमा एक चक्की सिटामोल पनि पाइँदैन,’ माग्री गाउँका जिक्मे कामीले भने, ‘अधिकांश बिरामी नजिकैका निजी मेडिकलमा महँगोमा उपचार गर्न बाध्य छन् ।’ उनका अनुसार स्वास्थ्य केन्द्रमा उपचारका लागि बोकेर ल्याइएका बिरामीलाई स्वास्थ्यकर्मीले जिल्ला अस्पतालमा रेफर गरेका छन् । बारम्बार औषधि अभाव भएपछि बिरामीले लामो समयदेखि सास्ती भोग्दै आएको उनको भनाइ छ । भौगोलिक समस्याका कारण बिरामीलाई बोकेर जिल्ला अस्पताल पुर्‍याउन समस्या भएको स्थानीय बताउँछन् ।

किम्री गाउँस्थित बर्थिङ सेन्टरमा लामो समयदेखि औषधि र उपकरण अभाव छ । बर्थिङ सेन्टर गाउँमै भए पनि औषधि र उपकरण नहुँदा गर्भवती महिला उपचार र प्रसूति सेवाबाट वञ्चित हुँदै आएका छन् । जिल्ला स्वास्थ्यबाट एक वर्षदेखि औषधि ढुवानी भएको छैन । गाउँपालिकाले न्यून बजेट विनियोजन गरेकाले अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

गाउँपालिकाले छुट्याएको रकमले खरिद गरेको औषधिले मुस्किलले तीन महिना धानेको स्वास्थ्यकर्मीले बताए । ‘यहाँका सरकारी स्वास्थ्य केन्द्र नाम मात्रका छन्, केही पनि औषधि पाइँदैन,’ पुलु गाउँका छिरिङतोर्चे लामाले भने, ‘त्यसैले अधिकांश बिरामी घरेलु उपचार गर्न बाध्य छन् ।’

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलिबहादुर बुढाले माग गरेअनुसार गाउँका स्वास्थ्य केन्द्रमा औषधि पठाइने गरेको दाबी गरे । ‘त्यहाँको अवस्था के हो बुझेर औषधि ढुवानीको व्यवस्था गरिनेछ,’ उनले भने, ‘औषधि अभाव भएकोबारे केही जानकारी आएको छैन ।’

प्रकाशित : श्रावण २, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?