२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

फोहोर कहाँ फाल्ने ?

सुर्खेत/जुम्ला — फोहोरमैला व्यवस्थापन गर्ने उपयुक्त स्थान नहुँदा वीरेन्द्रनगर–९ लाटीकोइली बौद्धटोलका बासिन्दाले पीडा भोग्नुपरेको छ । डुङडुङ्ती गन्हाउने फोहोरको गन्धले टोलवासी आजित छन् ।

फोहोर कहाँ फाल्ने ?

‘नगरपालिकासँग बारम्बार गुनासो पोख्दै आए पनि सुनुवाइ भएको छैन,’ स्थानीय लालबहादुर चौधरीले भने, ‘बिहान–साँझपख हावा चलेका बेला त गन्ध सिधै घरभित्रै आउँछ ।’ फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको ग्रिनसिटी कम्पोस्ट प्लान्ट एन्ड रिसर्च सेन्टरले वातावरणीय प्रभावको ख्यालै नगरी त्यहाँ जथाभावी प्लान्ट सञ्चालन गर्‍यो । त्यसकै परिणाम स्थानीयलाई आफ्नै घरभित्र नाकमुख थुन्नुपर्ने बाध्यता आइलाग्यो ।

केही अघिसम्म वीरेन्द्रनगरको नकुहिने फोहोर भांगारीस्थित भेरी नदीमा बगाइन्थ्यो । सरोकारवालाको चर्को दबाबपछि त्यो स्थान परिर्वतन गरियो । केही महिनायता वीरेन्द्रनगर–१ स्थित तारेभीरमा फोहोरमैला व्यवस्थापन गर्न थालिएको छ । मुख्य बजार क्षेत्रको फोहोर नियमित संकलन नगरिनु, संकलित फोहोर निश्चित स्थानमा व्यवस्थापन नगरिनु र वातावरणीय प्रभाव अध्ययनै नगरी बस्ती बीचमा फोहोर प्लान्ट सञ्चालन गरिएको छ ।

निर्वाचित भएलगत्तै एक वर्षअघि नगरपालिका नेतृत्वले नगरको फोहोर दिउँसो नउठाउने प्रतिबद्धता जनाएको थियो । दिउँसो बजारमा मानिसको चहलपहल बढ्ने, दुर्गन्ध फैलिने समस्याका कारण बिहानै वा रातिको समयमा संकलन गर्ने योजना बनाएको थियो । फोहोर संकलकको लापरबाही र नगरपालिका प्रशासनको प्रभावकारी अनुगमनको कमीका कारण तोकिएको समयमा संकलन हुन सकेन । यसले गर्दा मुख्यबजार, चोक आसपासमै बेला–बेला फोहोरको डंगुर
लाग्ने गरेको छ ।

नगरपालिका कार्यालय, ग्रिनसिटी कम्पोस्ट प्लान्ट एण्ड रिसर्च सेन्टर र नमोबुद्धले वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापन गर्दै आएका छन् । बढी फोहोर उत्पादन हुने मुख्य बजार क्षेत्र रहेको वडा नं ६ मा ग्रिनसिटीले संकलन गर्दै आएको छ । ग्रिनसिटीका व्यवस्थापक शशि केसीले वर्षात्का कारण बिहानै फोहोर संकलन गर्न नसकिने बताए । ‘मुसलधारे पानी परेका बेलाबाहेक अन्य दिन बिहानै फोहोर उठाएका छौं,’ उनले भने, ‘बरु उठाएको फोहोर डम्पिङ साइट नहुँदा कहाँ पुर्‍यएर फाल्ने, समस्या छ ।’

नगरपालिकाले तारेभीरमा अस्थायी ल्यान्डफिल साइट सञ्चालनमा ल्याए पनि सडक व्यवस्थित छैन । उनले कच्ची सडकका कारण पानी परेका बेला फोहोर पुर्‍याउन समस्या हुने बताए । ‘दुइटा गाडी पल्टिसके, बाटो ग्राभेल पनि गरिएको छैन, फोहोर बोकेको गाडी बाटोमै रोकिने अवस्था छ,’ ग्रिनसिटीका व्यवस्थापक केसीले भने, ‘नगरपालिकाले कम्तीमा सडक ग्राभेल गरिदिएको भए यस्तो समस्या हुन्थेन ।’ लाटीकोइलीस्थित कम्पोस्ट प्लान्टमा गन्ध नआउने गरी फोहोर व्यवस्थापन गरिएको उनले बताए ।

ग्रिनसिटीले साउन १५ देखि कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी गरेको छ । बस्ती आसपासमा दुर्गन्ध फैलिएको सन्दर्भमा उनले अचेल भने त्यस्तो समस्या नरहेको प्रस्ट पारे । नियमित फिनाइल छर्किने गरेको उनको भनाइ छ ।

ल्यान्डफिल साइट बन्दै
वीरेन्द्रनगरले तारेभीर गठेरीमा वैज्ञानिक ल्यान्डफिल साइट निर्माणलाई नगरपालिकाले महत्त्वको योजनाका रूपमा अघि बढाएको छ । यसका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरिसकेको छ । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले वातावरणीय प्रभाव मूल्यांकन गर्नुका साथै जग्गा भोगाधिकार प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । जग्गा भोगाधिकारसम्बन्धी फाइल वन मन्त्रालयमा पुगेको छ । ‘भोगाधिकार प्रक्रिया नटुंगिएकाले ल्यान्डफिल साइट निर्माण गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘बहुवर्षीय योजनाका रुपमा वैज्ञानिक ल्यान्डफिल साइटलाई नगरले महत्त्वका योजनाका रूप सञ्चालन गर्छ ।’

४ दशमलव ४४ हेक्टर क्षेत्रफलमा निर्माण गरिने ल्यान्डफिलमा सडक पहुँच विस्तार भइसकेको छ । यद्यपि, ग्राभेल नहुँदा फोहोर बोकेका गाडीहरू त्यहाँ पुग्न समस्या छ । वरिष्ठ अधिकृत पौडेलले वैज्ञानिक ल्यान्डफिल साइट निर्माण र फोहोर वर्गीकरण कार्यलाई महत्त्वका साथ अघि बढाएको बताए । हाल वीरेन्द्रनगरको सहरी क्षेत्रमा दैनिक करिब पाँच टन फोहोर उत्पादन हुँदै आएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ ५७ प्रतिशत कुहिने र ४३ प्रतिशत नकुहिने फोहोर उत्पादन हुने गरेको तथ्यांक संकलन गरेको छ । केन्द्रले भने प्रतिदिन ३१ दशमलव ३० टन उत्पादन हुने र त्यस फोहोरबाट ऊर्जा निकाल्न सकिने गरी अध्ययन गरेको हो । अब वडाले आफैं रकम विनियोजन गरेर फोहोर व्यवस्थापन गर्नेछन् । वडाले फोहोरमैला संकलनबापत उठाएको कुल राजस्वको १० प्रतिशत बजेट नगरपालिकाले उपलब्ध गराउने नीति लिएको छ । जसले गर्दा वडा कार्यालयलाई थप प्रोत्साहन मिल्ने नगरपालिकाको दाबी छ ।

दुर्गन्धित खलंगा
फोहोर व्यवस्थापन नहुँदा जुम्ला सदरमुकाम खलंगा बजार दुर्गन्धित छ । जनघनत्व बढे पनि नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुर्गन्ध बढ्दै गएको हो ।स्थानीय बासिन्दाले जथाभावी फोहोर फाल्दा सदरमुकाम प्रदूषित बनेको छ । मुख्य बजार क्षेत्र रहेको चन्दननाथ–५, का वडाध्यक्ष अर्जुनसिंह कठायतले अस्थायी डम्पिङ साइटको व्यवस्थापन गरेर फोहोर व्यवस्थापन गरिएको बताए । उनका अनुसार स्थायी डम्पिङ साइट निर्माणका लागि चन्दनाथ–२, भण्डारीबाटास्थित दुनादुनैमा खाली जग्गा छनोट गरिएको छ । अहिले डम्पिङ साइटसम्म सडक निर्माण नभएकाले समस्या भएको उनको भनाइ छ ।

सदरमुकाममा दैनिक करिब ४० क्विन्टल फोहोर निस्कने गरेको छ । ५ नम्बर वडाको रिचेगौडी नजिकैको व्यक्तिगत जग्गामा अहिले फोहोर व्यवस्थापन भइरहेको नगरपालिकाले जनाएको छ । ज्युलो नजिकै फोहोर फालिएको भन्दै कृषकले पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

फोहोर व्यवस्थापनका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । ‘गुरुयोजनाकै आधारमा खलंगाको फोहोर पुरै व्यवस्थापनको काम हुनेछ,’ उनले भनिन्, ‘हामी डम्पिङ साइट निर्माणको तयारीमा छौं ।’ नगरपालिकाभित्र जथाभावी फोहोर गर्नेलाई पहिलो चरणमा सम्झाउने र नमानेको खण्डमा कानुनी कारबाही गरिने उनले बताइन् ।

प्रकाशित : श्रावण ३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?