कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भेरीमा २ डम्पिङ साइट

जाजरकोट — भेरी नगरपालिकाले दुई डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन गरेको छ । डम्पिङ निर्माणसँगै नगरपालिकाको खलंगा बजारमा छरपस्ट फोहोरमैला देखिन छाडेको छ । नगरपालिकाले आठ महिनादेखि थालेको सरसफाइ अभियानको सिलसिलामा डम्पिङ निर्माण गरेको हो ।

भेरीमा २ डम्पिङ साइट

प्लास्टिक, सिसा, अन्य सडेगलेका वस्तु जथाभावी फालेर सदरमुकाम खलंगालगायत स्थान दुर्गन्धित बनेपछि नगरपालिकाले सरसफाइ तथा फोहोर व्यवस्थापनको अभियान थालेको थियो । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वडा नं ३, टाट्के जंगलमा २ वटा डम्पिङ साइड निर्माण गरेको छ ।

मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने फोहोरमैला र दुर्गन्धलाई व्यवस्थापन गरेर सफा तथा सुन्दर नगर निर्माणको अभियानमा जुटेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । सरसफाइयुक्त नगर बनाउनका लागि खलंगा बजार क्षेत्रभित्र एक सय बढी फोहोर डस्टबिन राखेको उनले बताए । डस्टबिनमा जम्मा भएको फोहोर दुईजना कर्मचारी र ट्रयाक्टरको सहयोगमा टाट्के जंगलस्थित डम्पिङ साइटमा जम्मा गर्ने व्यवस्था मिलाएको नगरप्रमुख घर्तीले बताए ।

सातामा दुईपटक ट्रयाक्टरले फोहोर उठाएर डम्पिङ साइटमा फाल्ने गरेको नगरपालिकाले जनाएको छ । डम्पिङ साइटमा सड्ने र नसड्ने दुई खाडल बनाइएको छ । मानव बस्तीलाई प्रतिकूल असर नपर्ने डम्पिङ साइटको निर्माण गरेको नगरप्रमुख घर्तीको भनाइ छ । ‘५० वर्षसम्मका लागि अर्को डम्पिङ साइट निर्माण गर्नु नपर्ने भएको छ,’ उनले भने, ‘नगर क्षेत्रमा दैनिक १० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।’ उनका अनुसार फोहोर व्यवस्थापनका लागि हालसम्म ५० लाख खर्च भइसकेको छ ।

नगरमा ढल निकास, खानेपानी पाइपलाइन, शौचालयका सेफ्टी ट्यांकी लगायतको पनि कडाइका साथ व्यवस्थापन गरिने घर्तीले बताए । नगरपालिकाले प्लास्टिकजन्य वस्तु, पुकार लगायतको बिक्रीमा रोक लगाउने जनाएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?