१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बजेटप्रति नगर उपप्रमुखको असहमति

नगर सभामा बजेट पेस गर्नेबारे सहमति जुट्न सकेको छैन
आर्थिक चलखेल हुन लागेको वडा अध्यक्षको आरोप
विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकामा चालु आर्थिक वर्षमा विनियोजित बजेट समान रूपमा नभएको भन्दै नगर उपप्रमुख लगायतका वडा अध्यक्षले असहमति जनाएका छन् । दुई सातादेखि दैनिक कार्यपालिकाको बैठक बस्दा समेत टुंगोमा पुगेको छैन ।

बजेटप्रति नगर उपप्रमुखको असहमति

कार्यपालिका बैठकमा उपमेयरसहित ८ वडा अध्यक्ष र ७ कार्यपालिका सदस्यले असहमति जनाएका छन् ।

विनियोजित बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको मापदण्ड विपरीत बजेट विनियोजन भएको भन्दै कार्यपालिका सदस्यले विरोध जनाए । समितिले प्रत्येक वडामा २५ लाखको योजनामा रकम विनियोजनको निर्णय गरेको थियो । वडाले २५ लाखको सिलिङमा रहेर कार्ययोजना पेस गर्ने र बाँकी अन्य बजेट नगरपालिकाले नै विनियोजन गर्ने प्रस्ताव गरेपछि नगर उपप्रमुख मञ्जु यरी, ८ वडा अध्यक्ष र ७ कार्यपालिका सदस्यले असहमति जनाएका हुन् ।

उनीहरूले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । नगर सभामा बजेट पेस गर्नेबारे सहमति जुट्न सकेको छैन । वडा अध्यक्ष र कार्यपालिका सदस्यले सल्लीबजारमा पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएका छन् । वडा अध्यक्षले १३ बुँदे विज्ञप्ति जारी गरेका छन् । नगरपालिकाभित्र आर्थिक चलखेल हुन लागेको वडा अध्यक्षको आरोप छ । बजेट अधिकार क्षेत्रबाहिर गएर बजेट विनियोजित गरिएको वडा अध्यक्षको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

वडा अध्यक्षहरूले जनप्रतिनिधि नआउँदै सरकारले उपलब्ध गराएको एक करोड रकम नगरप्रमुखले सामान खरिदका क्रममा दुरुपयोग गरेको आरोप लगाएका छन् । उपप्रमुख यरीले नगरप्रमुख गोविन्दकुमार पुनले विभिन्न काम एकलौटी सञ्चालन गर्न खोजेको आरोप लगाइन् । उनले शिक्षा समिति, उपभोक्ता समिति लगायतका समिति गठन गर्दा नगरप्रमुखले मनपरी गरेको आरोप लगाइन् ।

नगर प्रमुख पुनले नियमानुसार बजेट बाँडफाँड गरिएको दाबी गरेका छन् । बहुमतको बल देखाएर नगरलाई असफल पार्ने खेलमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य लागेको उनले बताए । ‘वडा अध्यक्षले वडामा भएका समस्याको योजना सिलिङ ल्याउने हो, आवश्यकता हेरेर बजेट विनियोजन गरिएको छ,’ नगरप्रमुख पुनले भने, ‘केही बढी रकम नगरका दूरगामी महत्त्वका विषयमा विनियोजित गरिएको छ ।’ नीति र विधिअनुसार आफूले काम गर्न खोज्दा कार्यपालिका सदस्य र वडा अध्यक्षले बलमिच्याइँ गरेको उनको दाबी छ ।

प्रकाशित : श्रावण ४, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?