आफैँले चलाएको गोली लागेर सैनिक घाइते

रासस/याेन्हाप

दुनै (डोल्पा) — डोल्पामा एकजना नेपाली सेनाका जवान आफैले चलाएको गोली लागेर शख्त घाइते भएका छन् ।


बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैले गोली चलाई घाइते भएका थिए।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए।

डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताउनुभयो। उहाँले भन्नुभयो “अवस्था गम्भीर छ, तर काठमाडाँैमा उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन।”

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ। सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत हुँदै काठमाडौँ लगिएको छ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए।

ड्यूटीमा रहेका २२ वर्षीय ध्रुवको स्थायी घर कैलालीको धनगढीमा भएको नेपाली सेनाले जानकारी दिएको छ। घाइते जवानको अवस्था गम्भीर भए पनि होस्मा नै रहेकाले उपचार राम्रैसँग हुने चिकित्सकले जानकारी दिए। घाइते सैनिक जवान ध्रुव लेखेर नै आफ्ना भनाइ राख्छन्।

प्रकाशित : श्रावण ४, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

स्वतन्त्र प्रयास

कतिपय निर्देशक सानो बजेट र आफ्नै बलबुतामा स्वतन्त्र कथा भन्छन्, जहाँ बजारको भार हुन्न । निर्देशकको भिजन नै सर्वोपरि हुन्छ । खास व्यापारिक स्वार्थ हुन्न । यसैलाई ‘इन्डी फिल्म’ भनिन्छ । ‘चक्कर’ हाम्रो सन्दर्भमा त्यस्तै फिल्म हो ।
गोकर्ण गौतम

काठमाडौँ — बन्न त तीन करोडसम्मका फिल्म बन्न थालेका छन् तर अहिले नेपाली फिल्मको औसत बजेटचाहिँ एक करोड हो । निर्माताहरूका अनुसार प्रि–प्रोडक्सनदेखि रिलिजसम्म आइपुग्दा सालाखाला यति खर्च हुन्छ नै । शुक्रबारबाट ‘चक्कर’ नामक फिल्म प्रदर्शन भएको छ, यसको लगानीचाहिँ जम्माजम्मी १८ लाख रुपैयाँ हो ।

जबकि फिल्ममा अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, सिर्जना सुब्बा जस्ता गिनेचुकेका कलाकार छन् । फिल्मको लम्बाइ करिब दुई घण्टा छ । हल्काफुल्का प्रचारप्रसार पनि गरिएकै हो । । तैपनि यति सस्तोमै फिल्म तयार भयो । कारण यसरी खुलाउँछन्, निर्माता रवीन आचार्य भन्छन्, ‘पैसाले मात्र फिल्म राम्रो हुन्छ भन्ने होइन । अत्यावश्यकबाहेक फजुल खर्च गरिएन । हामीलाई ‘भिजुअल रिच’ देखाउनु थिएन । कथा भन्नु थियो । त्यही गर्‍यौं ।’


तर यसको पहिलो जस जान्छ, अनुष्क रौनियारलाई । किनभने ‘चक्कर’ का ‘वान म्यान आर्मी’ हुन् उनी, निर्देशक, लेखक, सिनेमाटोग्राफर, सम्पादकदेखि पोस्टर डिजाइनरसम्म । अभिनयबाहेक फिल्मका हरेक पक्षमा रुचि र एक खालको क्षमता छ, त्यही देखाएका छन् यस फिल्ममा । भारतको पुनाबाट फिल्म डिजाइनको चार वर्षे कोर्स गरेका यी तन्नेरी भन्छन्, ‘म बजेटअनुसारको कथा लेख्छु र सोहीअनुसार बनाउने प्रयास गर्छु । बजेट र निर्देशकको भिजन मेल खाएन भने समस्या सिर्जना हुन्छ ।’ पत्याउन मुस्किल पर्छ, यसभन्दा अगाडि उनले ‘काठमाडौं कक्टेल’ भन्ने फिल्म बनाएका थिए, जसको पोस्ट प्रोडक्सनबाहेक कुल खर्च मात्र डेढ लाख । अर्थात् चार मिनेटको म्युजिक भिडियोको भन्दा थोरै लगानीमा उनले फिचर फिल्म नै बनाइदिए । भन्छन्, ‘यो सबै प्यासनको करामत हो । हामीले उपलब्ध स्रोत साधनमै फिल्म बनायौं ।’


बजेट बढेपछि फिल्म बजारबाट निर्देशित हुनुपर्छ । बजारको चाह पूरा गर्ने चक्करमा निर्देशकले चाहेको कथा भन्न अनेक व्यवधान आइलाग्छ । जबकि निर्देशकका लागि फिल्म कथा भन्ने माध्यम हो । त्यसैले कतिपय निर्देशक सानो बजेट र आफ्नै बलबुतामा स्वतन्त्र कथा भन्ने प्रयास गर्छन्, जसमा ठूला निर्माता वा स्टुडियोको लगानी हुन्न । खास व्यापारिक स्वार्थ हुन्न । यसैलाई ‘इन्डिपेन्डेन्ट’ अर्थात् ‘इन्डी फिल्म’ भनिन्छ । ‘चक्कर’ हाम्रो सन्दर्भमा त्यस्तै फिल्म हो । २८ वर्ष टेक्दै गरेका अनुष्क भन्छन्, ‘चक्कर बनाउँदा तमाम अभाव झेल्नुपर्‍यो । तैपनि आनन्दित छु किनभने निर्माताको हस्तक्षेप बेहोर्नुपरेन । मेरो सोचाइलाई निर्धक्क पस्कन पाएँ ।’ नेपालमा यसअघि ‘सिक सिटी’, ‘आँपको अचार’, ‘लाटोकोसेरो’ लगायतका थोरै इन्डी फिल्म बनेका थिए ।


अनुष्कलाई लाग्छ, फिल्मको मूल धर्म मनोरञ्जन प्रदान गर्नु हो । ‘चक्कर’ यसभन्दा भिन्न छैन । तर न बलिउडको ह्याङ छ, न परम्परागत सूत्रमै झेलिएको छ । व्यापार हुन्छ भन्ने निहित लोभमा न गीत, फाइन्ट, रोनाधोना राखिएको छैन । जे हुन्छ, कथाकै मागअनुरूप हुन्छ । स्टार सिस्टम पछ्याउँदा कथा हराउँछ । हिटको पछाडि दौडँदा एकै प्रकारका फिल्मको बाढी लाग्छ । जस्तो : ‘लुट’ सुपरहिट भएपछिको एक वर्ष ‘लुट’ जस्तै–जस्तै फिल्मको ओइरो लाग्यो । अहिले छक्कापञ्जा–मेनिया छ । दुई सर्ट फिल्म र वेब सिरिज ‘वान्स अपन अ टाइम इन कालोपुल’ निर्देशन गरिसकेका इन्डी फिल्म मेकरका रूपमा अनुष्कले यो भीडभन्दा अलग हुने प्रयास गरेका छन् ।


‘चक्कर’ पूर्णत: रियल लोकेसनमा खिचिएको छ । डीएसएलआर क्यामेराले खिचेकाले खास ‘डिस्टर्भ’ पनि भएन । १८ दिनमा त सुटिङ नै सकियो । फिल्म हेर्दा झर्रोपन महसुस हुने दाबी छ निर्देशकको । मुख्य भूमिकामा अभिनय गरेका छन्, एवनराज उप्रेतीले । खोल, थ्यांक यु मिस्टर ग्ल्याड, सिंहदरबार टेन्डर, बहुलाकाजीको सपनाजस्ता नाटक खेलिसकेका एवनराज चक्करमा बेकुफ र बेरोजगार गुन्डा बनेका छन् । चरित्र निर्माण कसरी गरे त ? भन्छन्, ‘यस्ता टोले गुन्डाहरू धेरै देखेको छु । उनीहरूमध्ये चार–पाँच जनालाई मिसाएर एउटा नयाँ पात्र बनाएको छु ।’ अभिनेताका रूपमा फरक पात्र जन्माउन र त्यसलाई जीवन्त उतार्न दिलचस्पी राख्छन् उनी ।


‘लुट’, ‘लुट–२’ मा छुच्ची पत्नी अनि ‘डाइङ क्यान्डल’ मा मायालु दिदी बनेर प्रशंसा कमाएकी सिर्जना सुब्बालाई ‘चक्कर’ मा बायोसेक्सुअलका रूपमा देख्न पाइन्छ । जो प्रेमी हुँदा पनि केटी साथीसँग रोमान्स गर्छे । यस्ता पात्र समाजमा बग्रेल्ती हुन्छन् तर पर्दामा खासै अटाउँदैनन् । त्यसैले पनि सिर्जनाका लागि चुनौती थियो तर नाटक भजाइना मनोलगमा अभिनय गर्ने क्रममा यस्ता पात्रका बारेमा अध्ययन गरेकाले ‘चक्कर’ मा सजिलो भएको अनुभव सुनाइन् । फिल्ममा उनी र स्मृति पोखरेलको अन्तरंग दृश्य कैद गरिएको छ । सिर्जना भन्छिन्, ‘स्मृतिलाई एकैपटक सुटिङमा भेटेकाले चुम्बन गर्दा अलि अप्ठ्यारो महसुस भयो । त्यसबाहेक पात्रलाई मज्जैले आत्मसात् गरें ।’

gokarna.gtm@gmail.com

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्