अस्पतालमा ज्यादती भएको भन्दै नेविसंघको प्रदर्शन

एलपी देवकोटा

जुम्ला — अस्पतालमा बिहीबार भएको घटनाको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको छ । कर्णाली विज्ञान प्रतिष्ठान, जुम्लामा भएको ज्यादतीविरुद्ध नेपाल विद्यार्थी संघ शुक्रबार सडकमा उत्रिएको हो ।

विद्यार्थीमाथि कुटपिट भएको भन्दै जुम्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु समेत नेविसंघले बन्द गराएको थियो । शुक्रबार खलंगामा सरकारको विरोध गर्दै अस्पतालमा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने भन्दै निशेषित क्षेत्रभित्र प्रदर्शन ऱ्यालीसमेत निकालेको थियो ।

शान्तिपूर्ण आन्दोलनलाई गलत दिशातर्फ धकेल्न प्रहरीले प्रहरीले घटना गराएको नेविसंघका केन्द्रीय सदस्य घनश्याम थापाले आरोप लगाए । 'अस्पतालभित्रै गएर ड्यूटीमा रहेका चिकित्सक, नर्स र विद्यार्थीहरुमाथि कुटपिट गर्न पाइँदैन' उलने भने, 'विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेकाले नेविसंघ सडकमा उत्रिएको हो ।'
कानुनको उल्लंघन गरेर अस्पतालभित्रै प्रहरीले अश्रुग्यास प्रहार गर्ने, गोली चलाउने, लाठी बर्साउने कार्यको घोर भर्त्सना गर्दै विरोधमा उत्रन बाध्य भएको नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले बताए ।

प्रकाशित : श्रावण ४, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

देउवाद्वारा डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शुक्रबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्था बुझेको उनको सचिवालय जानकारी दिएको छ ।

तस्बिर : इलिट जोशी/कान्तिपुर


पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले डा. केसीको मागप्रति कांग्रेसको ऐक्यबद्धता रहेको बताएका थिए। आफू सरकारमा हुँदा चिकित्सा शिक्षा अध्यादेश जारी गरेको अवगत गराउँदै देउवाले त्यही अनुसार संसद्‌मा दर्ता भएको विधेयक परिमार्जन हुनपर्नेमा कांग्रेस अडिग रहेको केसीलाई विश्वास दिलाएका थिए। 'स्वास्थ्य ठूलो कुरा हो, तपाईंलाई राम्रो हुनुपर्‍यो' सभापति देउवाले भनेका थिए, 'हामीले अध्यादेश अनुसार चिकित्सा शिक्षा विद्येकलाई परिवर्तन गराउन सदन र सडकमा विरोध जारी राखेर सरकारलाई दबाब दिइरहेका छौं।'

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनको आमरण अनशनका कारण उनको स्वास्थ्य बिग्रिएपछि सरकारले उपचारका लागि बिहीबार काठमाडौं ल्याएको हो।

चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा असार १६ देखि अनशन बसेका थिए। केसीको माग सुनुवाईबारे भने अझै गहन वार्ता हुन सकेको छैन्। यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको थियो। डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन्।

सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ।

प्रकाशित : श्रावण ४, २०७५ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्