टुक्रे योजनामा टालटुल

जयबहादुर रोकाया

हुम्ला — यहाँका स्थानीय तहले गतवर्ष टुक्रे योजनामा करोडौं रकम खर्च गरेका छन् । गत वर्ष स्थानीय तहले सडक र विद्युत् जस्ता ठूला योजनालाई कम प्राथमिकता दिएका थिए । यस वर्ष पनि बढी महत्त्वका योजनामा न्यून रकम मात्र विनियोजन गरिएको छ ।

टुक्रे योजनामा टालटुल

केही स्थानीय तहले जनप्रतिनिधिको भ्रमण, ल्यापटप खरिदलगायतमा खर्च गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिकाले एक गैरसरकारी संस्थाले जिम्मा लिएको सडकमा डुप्लिकेसन गरेर सडक निर्माणको काम गरेको छ । खुद्रे योजनामै करोडौं रकम खर्च गर्दा बजेट दुरुपयोग भएको स्थानीयको गुनासो छ । साना योजनामा उपभोक्ता समिति बनाउँदै रकम दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ ।

गतवर्ष मन्दिर, साना काठे पुल, घोडेटो बाटो निर्माणलगायत साना योजनामा गाउँपालिकाले रकम विनियोजन गरेका थिए । साना योजना अधिकांश उपलब्धिविहीन भएको स्थानीयले बताए । माथिल्ला निकायबाट योजना छनोट भएर बजेट आउने गरेकाले स्थानीयस्तरमा टुक्रे योजनामै बजेट सकिने गरेको हो । नि:सर्त अनुदानमा थोरै रकम आउने भएकाले साना योजनामा रकम विनियोजन हुने गरेको पाइएको छ ।

उत्तरी चीन सीमा जोडिएको नाम्खा गाउ‘पालिकाले पर्यटन विकासलाई प्राथमिकता दिएको बताए पनि बजेट विनियोजन गरेन । पर्यटनलाई प्राथमिकतामा राखे पनि सडक निर्माणमा गतवर्ष बढी रकम खर्च भएको अध्यक्ष विष्णु लामाले बताए । ‘गाउँपालिका भएर बर्सेनि हजारभन्दा बढी पर्यटक आवतजावत गर्ने गरेका छन्,’ अध्यक्ष लामाले भने, ‘पर्यटन विकास नै हाम्रो पहिलो प्राथमिकता हो तर गतवर्ष हिल्सा–सिमकोट सडकलाई गाउँसम्म जोड्न पर्यटनको रकम खर्च गरियो ।’ लामाका अनुसार तुम्कोटदेखि मुचु र यालबाङदेखि याङ्गारसम्मको सडक निर्माण गरिएको हो । उनका अनुसार अन्य स–साना योजना र गाउँपालिकाको संस्थागत विकासमा धेरै रकम खर्च भएको छ ।

स्थानीय तहले यस वर्ष पनि ठूला योजनालाई कम महत्त्व दिएका छन् । सिमकोट गाउ‘पालिकाले केन्द्रदेखि वडा नम्बर ४, ३, २ जोडदै १ नम्बर वडामा सडक पुर्‍याउनेगरी सडक निर्माण भइरहेको जनाएको छ । सिमकोटदेखि बुराउसे खोलासम्म ट्रयाक खोलिएको छ । उत्तरतर्फ डाडाफयाको हिल्सा सिमकोट सडकको खण्डदेखि ग्यालेखोर गाउ‘सम्मको सडकको ट्रयाक खोलिएको गाउँपालिकाले जनाएको छ । सडकलाई टुलिङ हुँदै धारापोरी पुर्‍याउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

खार्पुनाथ गाउ‘पालिकाले पनि खार्पुनाथबाट मारुघोरसम्म लैजान सडक निर्माण सुरु गरेको जनाएको छ । यो सडक निर्माण भए भीमसेन गुफा पुग्न सहज हुनेछ । हुङ्ग नामक संस्थाले मुगुको गमगढीदेखि हुम्लाको दार्मसम्म सडक निर्माण गर्ने जिम्मा लिएर निर्माण स्थलमा कार्यालयसमेत स्थापना गरेको जनाएको छ ।

स्थानीयस्तरबाट साना योजनाकै माग बढी आउने भएकाले टुक्रे योजना बढी भएको जनप्रतिनिधिको भनाइ छ । ‘आफूले भनेको योजनामा बजेट नहाले विभिन्न धम्की दिन्छन्,’ खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, ‘पहिलेबाटै टुक्रे योजनामा बजेट छरिने परम्परा बसेकाले सुधार्न गाह्रो भएको छ ।’

प्रकाशित : श्रावण ५, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?