दृष्टिविहीनको बिचल्ली

कान्तिपुर संवाददाता

सल्यान — कपुरकोट गाउँपालिकाको दानबाङका दृष्टिविहीन भद्रसिंह दमाई बिचल्लीमा परेका छन् । रेखदेख गर्ने कोही नहुँदा दमाईको अवस्था दयनीय बन्दै गएको छ । सहाराविहीन हुँदा उनलाई दैनिक जीविकोपार्जनमा समस्या भएको छ ।

आँखा पाक्ने रोगबाट दुवै आँखाको दृष्टि गुमाएपछि काम गर्न नसक्ने भएका दमाई मागेर खान बाध्य छन् । उपचारका क्रममा सबै सम्पत्ति सकिएकाले उनलाई आर्थिक समस्या परेको छ । सहारा दिंदै आएकी पत्नीले छाडेपछि उनको बिचल्ली भएको हो । उनलाई अहिले भाइ–बुहारीले सहारा दिंदै आएका छन् । भाइसमेत सानैदेखि कान नसुन्ने र बोल्न नसक्ने भएकाले थप समस्या भएको उनले बताए ।

पत्नीको सहारामा हिंड्डुल र दैनिक कार्य गर्ने उनले अहिले धेरै समस्या भएको बताए । पत्नीले पाँच वर्षअघि छाडेपछि घर न घाटको भएको उनको भनाइ छ । पेट पाल्नका लागि व्यापारिक केन्द्रका घर–घरमा माग्दै चहार्नुपरेको उनले बताए । ‘भाइ पनि अशक्त भएकाले उसको घरमा सधैं बस्न सकिँदैन,’ उनले भने।

प्रकाशित : श्रावण ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

धान खेत डुबानमा

महलीसागर बाँध
असार दोस्रो सातासम्म यशोधरा गाउँपालिकाका भगवानपुर, कचरिहवा, रंगपुर, भैंसहिया, लोहरौली तथा पर्सोहिया गाउँका किसानले झन्डै २ सय ५० हेक्टरमा रोपाइँ सके
मनोज पौडेल

कपिलवस्तु — सीमा क्षेत्रमा निर्माणाधीन महलीसागर बाँधका कारण नेपाली खेतीयोग्य जमिन डुबानमा परेको छ । भारतले पुरानो ५ ढोके बाँधका ठाउँमा १६ वर्षअघि १५ ढोके नयाँ बाँध निर्माण सुरु गरेपछि समस्या चर्किएको हो । अहिले बाँधमा अस्थायी रूपमा काठ राखेर पानी छेकेपछि नेपालको झन्डै साढे दुई सय हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली डुबानमा परेको छ ।

भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण डुबानले काम नलाग्ने अवस्थामा पुगेको यशोधरा गाउँपालिका वडा नं. ६ को भगवानपुर गाउँको धानबाली देखाउँदै कृषक (मथि) र महलीसागर बाँध । तस्बिर : मनोज पाैडेल । कान्तिपुर

ढोका मात्र राख्न बाँकी बाँधको फाँटकमा सालका मोटा पटरा राखेर पानी छेकिएपछि समस्या निम्तिएको हो । बाँधमाथिबाट हिँड्न मिल्ने गरी काठ राखेर २५ मिटर बाटो पनि बनाइएको छ । संरचनासँगै बाँधमा बालुवा, गिट्टीका बोरा र माटो थपिएको छ । महिना दिनअघि नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले एकतर्फी ढंगले यस्तो काम गरेको थियो ।

सन् १९०१ मा बनाइएको पुरानो बाँध र ०५९ मा निर्माण थालिएको नयाँ बाँध, (जहाँ ढोका मात्र राख्न बाँकी छ) ले नेपाली भूमि डुबानमा पारेका हुन् । पछिल्लो बाँध निर्माणप्रति स्थानीयले तीव्र विरोध जनाएपछि संरचनाको निर्माण कार्य पूरा भएको छैन । तर, बाँधका कारण नेपाली खेतीयोग्य जमिन डुबानको समस्या भने बढदो छ ।

असार दोस्रो सातासम्म यशोधरा गाउँपालिकाका भगवानपुर, कचरिहबा, रंगपुर, भैंसहिया, लोहरौली तथा पर्सोहिया गाउँका किसानले झन्डै २ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिसकेका थिए । अहिले त्यही धानखेत डुबानमा परेको हो । ‘त्यसयता पानी नपरेका कारण रोपाइँ हुन पाएको छैन,’ यशोधरा गाउँपालिका ६, भगवानपुरका कृषक इन्द्रजित यादवले भने, ‘धानबाली डुबेपछि कुहिएको छ । कतिपय रोपो खेतमाथि पानीमा तैरिएको छ ।’ त्यस्तै, ७५ वर्षीया फुर्सतअली धुनियालाई आफ्ना लालाबाला पाल्ने समस्याले सताएको छ । ‘६ लालाबालालाई अब कसरी पाल्ने, के ख्वाउने ?’ उनले भनिन्, ‘ऋण गर्जो गरेर १० हजार रुपैयाँ खर्च गरी ३ बिघामा धान रोपें । पानी पसेर रोपो डुब्यो, अहिले गलेर मरेको छ ।’ घरव्यवहार र ऋण कसरी तिर्ने भन्ने चिन्ताले रातभरि निदाउन छाडेको उनले सुनाइन् ।

उनीजस्तै लौहरौलीका रफिकमोहम्मद नाउ पनि १० कट्ठा खेतमा रोपेको धान पानीमा डुबेर नाश भएको दुखेसो गर्छन् । ‘बर्सेनि खेती डुबानमा पथ्र्यो,’ उनले भने, ‘तर, यति ठूलो मात्रामा ६/७ वर्षपछि यसपटक नोक्सान भएको हो ।’ भगवानपुर र लौहरौलीका एक सयभन्दा बढी किसान डुबानबाट नराम्ररी प्रभावित छन् । स्थानीयका खेतमा धान स्याहार्न जानै नपर्ने अवस्था आएको कृषक परशुराम यादवले बताए ।

‘रोपेर सकेका मात्र के थियौं, बाढी पसेर सर्वस्व गर्‍यो,’ कृषक विष्णुप्रसाद केवटले भने, ‘२ बिघामा रोपेको सावा मन्सुलीको रोपो सबै बगाएर लग्यो ।’ गाउँले सबैको अवस्था अहिले यस्तै छ । ‘छरछिमेककाले रोपेर भ्याइसके,’ उनले भने, ‘अब बीउ उमारेर रोप्न पनि भ्याइँदैन, समस्यै समस्यामा छौं ।’ बाँधपीडित भगवानपुरका बासिन्दा दोहोरो मारमा छन् । असारदेखि कात्तिकसम्म अत्यधिक वर्षा नहोस् भनेर भगवान्सँग पुकारा गर्छन् । ‘बढी वर्षा भएको ४ घण्टामै खेत डुबानमा पर्छ,’ मोहम्मद अयुबले भने, ‘वर्षा भएन भने धान रोप्नै पाइँदैन । पानी नपरे धानको बीउ राख्न आकाशतिर हेरेर बस्नुपर्छ । धेरै परे लालावाला र घर जोगाउन मुस्किल पर्छ ।’ बढी वर्षा भए गाउँका घर सबै डुबानमा पर्छन् । धान खेती मात्र होइन, यहाँका स्थानीयले गहँु खेती गर्दा पनि डुबानको समस्या झेलिरहेका छन् ।

बाँधकै कारण भगवानपुरको मात्रै एक सयभन्दा बढी हेक्टर डुबानमा परेको छ । बाँधबाट तीन सय हेक्टरभन्दा बढी नेपाली भू–भाग खतरामा पर्ने नेपाली प्राविधिकहरू बताउँछन् । बाँधकै कारण उक्त क्षेत्रमा रहेका दुई सीमास्तम्भ पनि वर्षाका बेला डुबानमा पर्छन् । ‘मनले मान्दैन,’ कृषक बलिराम यादवले भने, ‘१५ जनाको परिवारलाई हातमुख जोर्न खेती लगाउँछु । अविरल वर्षासँगै आएको डुबानले हाम्रो महिनौंको मिहिनेत एकछिनमै नष्ट हुन्छ । अनि, रुनु न मर्नुु भएर बस्नुको विकल्प रहन्न ।’ त्यसै त गरिब विपन्न गाउँलेको बसोबास रहेको यस गाउँमा बाढीको डुबान र कटानका कारण जीवनयापन झन् कष्टकर बन्दै गएको उनले बताए ।

नेपालबाट हुने हरेक उच्चस्तरीय भारत भ्रमणका बेला बाँधपीडितले समस्या समाधान गर्न माग गर्छन् । त्यस्तो माग गरेको पनि १८ वर्ष बितिसक्यो, कुनै प्रगति भएको छैन । ‘मुलुकमा नयाँ प्रधानमन्त्री चुनिनासाथ भारत भ्रमण गर्ने चलन छ,’ स्थानीय सन्तराम केवटले भने, ‘त्यसर्थ, भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीलाई समस्या समाधान गर्न ध्यानाकर्षण होस् भनेर प्रशासन कार्यालय पुगेर अवगत गराउँछौं । तर, अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन ।’ ‘प्रशासनमा समस्या समाधानार्थ कतिपटक ज्ञापनपत्र दिइयो, उल्लेख गरेर साध्य छैन,’ स्थानीय हरिलाल यादवले भने, ‘बाँधकै स्थलगत अवलोकन गर्न आउने मन्त्री र नेताको ध्यानाकर्षण पनि गरायौं । तर, समस्या ज्यूँका त्यूँ छ ।’

भगवानपुरका भगवानदास यादव धान खेती नस्याहार्दासम्म सधैं तनावमा हुन्थे । तर, यसपटक ४ महिनाअघि नै तनावमा छन् । ‘२ दशकयता कहिल्यै पनि राम्ररी अन्नबाली स्याहार्न पाएको छैन,’ उनले भने, ‘मिहिनेत र मजदुरी गरेर जोडेको ५ कट्ठा खेत डुबानमा परेर क्षति हुँदा अहिलेदेखि नै चिन्ता थपिएको छ ।’ भारतीय एसएसबीको सुरक्षा नियन्त्रण रहेको बाँध सदरमुकाम तौलिहवादेखि करिब १० किमि दक्षिणमा पर्छ ।

यशोधरा गाउँपालिका ५ को भगवानपुरको नेपाली सीमा क्षेत्रबाट ३ सय मिटरको दूरीमा भारतको सिद्धार्थनगरको महली गाउँमा १५ ढोके महलीसागर बाँध निर्माणाधीन छ । बाँधको विषयमा जब विवाद निस्किन्छ, बाँधको मर्मत सम्भार भनेर भारतले आफ्नो भनाइ अगाडि सार्छ । यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डे दुई देशको समस्या भएकाले केन्द्रबाट यो समस्या समाधान गर्नुपर्ने बताउँछन् । ‘कूटनीतिक समस्या भएकाले यसको समाधान पनि कूटनीतिक ढंगले नै हुनु जरुरी छ,’ उनले भने, ‘तर, पीडित कृषकलाई राहत दिने र गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्न म हरदम तयार छु ।’

नेपालतर्फबाट भारतीय समकक्षी सिद्धार्थनगरका डीएमलाई समस्या समाधान गर्न आग्रह गरेको प्रजिअ मदन भुजेलले बताए । ‘नेपालका तर्फबाट जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भारतीय ड्रेनेज डिभिजन कार्यालयलाई पत्राचार गरिसकेको छ,’ उनले भने, ‘पानीको निकास दिई बाँधका कारण नेपाली जमिन डुबान हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न आग्रह गरेको छु ।’

प्रकाशित : श्रावण ५, २०७५ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्