२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खानेपानी योजना अलपत्र

जाजरकोट/मुगु — भेरी नगरपालिका–१३, कुदुका आठ सय घरपरिवारले वर्षौंदेखि खानेपानी संकट बेहोर्दै आएका छन् । उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् । बारेकोट गाउँपालिका–४, जिरीका तीन सय परिवार पनि कुवा र खोल्साको पानीमा निर्भर छन् । कुशे–८ जिन्ताला र वडा नम्बर ५ खुर्पाका ६ सय घरपरिवारलाई पानीकै पिरलो छ ।

खानेपानी योजना अलपत्र

जाजरकोटमा करिब १० हजार घरपरिवार खानेपानीको पहुँचबाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण पटक–पटक भाइरल इन्फ्लुएन्जा, झाडापखालालगायत महामारी फैलिने गरेको छ । महामारीकै कारण चार सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । तर, सम्बन्धित निकायले खानेपानी व्यवस्थापनमा असाध्यै थोरै बजेट दिँदै आएका छन् ।

एक आर्थिक वर्षमा तीन दर्जन योजनाका लागि पाँच करोड मात्र खर्चने गरिएको छ । अत्यावश्यक रहेका कतिपय गाउँमा योजना नै पर्दैनन्, बनेका योजना पनि मर्मतसम्भार अभावमा अलपत्र रहेको स्थानीय ओमप्रकाशसिंह राठौरले बताए । ‘जलवायु परिवर्तन, अतिक्रमण, वन विनाशलगायत कारणले स्रोत सुकेपछि अभाव झन् बढेको छ,’ उनले भने, ‘स्थानीय बासिन्दा कुवा, नदी र खोलाको पानी पिउन बाध्य छन् ।’

जिल्लामा दस वर्षयता बनेका चार सयभन्दा बढी योजना अलपत्र छन् । सम्बन्धित निकाय र उपभोक्ताले योजना मर्मत सम्भारमा ध्यान नदिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौं गाउँमा खानेपानी अभाव छ । सरकारी तथा गैरसरकारी निकायले बर्सेनि करोडौं खर्चे पनि पानीको समस्या ज्युँका त्युँ रहेको स्थानीयको भनाइ छ । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका अनुसार जिल्लाका ३१ हजारमध्ये २४ हजार घरधुरीमा स्वच्छ खानेपानी सुविधा छ । गत आवमा स्थानीय तह र कार्यालयले १३ हजार घरपरिवारका लागि तीन सय योजना निर्माण गरेका छन् । बजेट अभावमा पुराना योजना मर्मतसम्भार र नयाँ निर्माणले गति लिन नसकेको सबडिभिजन प्रमुख महेशी महतोले बताए ।

गाउँगाउँमा अभाव
मुगुको छायानाथ रारा नगरपालिका, लुम्स गाउँका ७६ घरधुरीमा खानेपानीको चरम अभाव छ । पारिको दलित बस्तीका १९ घरधुरीको पनि उही समस्या छ । उनीहरू पानीका लागि आधा घण्टा तलको खोला झर्न बाध्य छन् । जिल्लाका अधिकांश लेकाली बस्तीमा खानेपानी संकट बढ्दै गएको छ । खानेपानी योजनामा गत वर्ष पहिरोले क्षति पुर्‍याएपछि खोलाको दूषित पानी खानुपरेको लुम्सवासीको गुनासो छ । खोलाबाट ल्याएको पानी कपडाले छानेर खाने गरिएको टिउकी बडुवालले बताइन् । ‘बर्खामा बाढीका कारण खोला धमिलो आउँछ,’ उनले भनिन्, ‘दूषित पानीका कारण बेलाबेला ज्वरो, झाडापखाला, पेट दुख्नेलगायत समस्या देखिने गरेका छन् ।’

सोरु गाउँपालिका–३ भीई गाउँमा ३ सय ५० जति घरधुरी छन् । तीन स्थानका मुहान सुकेपछि उनीहरू पनि सास्ती भोगिरहेका छन् । गाउँनजिकैको एक मात्र कुवामा रातभर पालो पर्खेर पानी भर्नुपर्ने बाध्यता छ । ‘चैतदेखि जेठसम्म पालो लगाएर पानी भर्नुपर्छ,’ वडाध्यक्ष लालु धामीले भने । खत्याड गाउँपालिका रिघागाउँका बासिन्दा पनि दूषित पानी पिउन बाध्य छन् । गाईभैँसीलाई पानी खुवाउन गाउँ वरिपरि कुवा बनाउँदा लामखुट्टे फैलिएर स्थानीयमा मलेरियाको समस्या देखिएको छ ।

मुहानबाट पानी नआउँदा धारा उपयोगविहीन बनेका छन् । सोरु–२, मुसिनमेलाका १८ घरधुरीलाई एक घण्टा टाढा गएर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । केहीले पानी ढुवानीकै लागि खच्चडसमेत खरिद गरेको स्थानीय जग्ग शाहीले बताए । सोरुका ३ हजार १८ घरधुरीलाई लक्षित गरी बृहत् खानेपानी योजना सञ्चालन गर्न लागिएको खानेपानी कार्यालयका इन्जिनियर सुरेशकुमार शाहले बताए ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?