कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नगरपालिका र मालपोतबाट रकम संकलनमा कमी

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा एक करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर त्यसको आधाभन्दा कम ४५ लाख राजस्व मात्रै नगरपालिकाले संकलन गर्न सक्यो ।

नगरपालिका र मालपोतबाट रकम संकलनमा कमी

९९ लाख राजस्व संकलनको लक्ष्य राखेको मुसिकोट नगरपालिकाले पनि ५४ लाखभन्दा बढी राजस्व संकलन गर्न सकेन । चौरजहारी र मुसिकोट जस्तै त्रिवेणी र बाँफिकोट गाउँपालिकाले पनि राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेनन् । ६ स्थानीय तहमध्ये एउटा नगर र एउटा गाउँपालिकाबाहेकले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेनन् ।

५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको त्रिवेणी गाउँपालिका २१ लाखमा सीमित भयो भने १५ लाख मात्रै राजस्व संकलनको लक्ष्य राखेको बाँफिकोट गाउँपालिकाले मुस्किलले ९ लाख बढी राजस्व संकलन गर्न सक्यो । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले मालपोत कार्यालयबाट आउनुपर्ने कर नआएपछि लक्ष्यअनुसारको कर संकलन हुन नसकेको बताए । ‘हामीले मालपोत कार्यालयबाट आउने घरजग्गा रजिस्ट्रेसन करसमेतलाई जोडेर राजस्व संकलनको लक्ष्य किटान गरेका थियौं,’ उनले भने, ‘मालपोत कार्यालयबाट उक्त रकम नआएपछि लक्ष्यसम्म नपुगिएको हो ।’ उनका अनुसार नगरपालिकाबाट आधा र मालपोत कार्यालयबाट आधा गरी एक करोड राजस्व संकलनको लक्ष्य लिइएको थियो ।

करको दायरा साँघुरो र दर पनि कम भएकाले सोचेअनुसारको राजस्व संकलन हुन नसकेको बाँफिकोट गाउँपालिकाले जनाएको छ । अध्यक्ष धर्मबहादुर केसीले गत आर्थिक वर्षमा सोचेभन्दा कम राजस्व संकलन भएकाले चालु वर्षमा सेवा शुल्क तथा वस्तुमा लाग्ने करमा पुनर्विचार गरिने बताए । आठबिसकोट नगरपालिकाले गत आर्थिक वर्षमा एक करोड दुई लाख ७० हजार राजस्व संकलन हुने अनुमान गरेको थियो ।

नगरपालिकाले लक्ष्य लिएकोभन्दा चार प्रतिशत बढी एक करोड ६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यभन्दा तीन लाख ८७ हजार रुपैयाँ बढी राजस्व संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

मालपोत कर (तिरो), एकीकृत सम्पत्ति कर, व्यवसाय कर, दण्ड जरिवाना, सेवा दस्तुर, सडक मर्मत दस्तुर, जडीबुटी, जीवजन्तु, कवाडी कर, परीक्षा शुल्क, बहाल कर, जरिवानालगायत क्षेत्रबाट उक्त राजस्व संकलन भएको हो ।

२० लाख राजस्व संकलनको लक्ष्य लिएको सानीभेरी गाउँपालिकाले गत वर्ष २० लाख ३५ हजार संकलन गरेको छ । चालु आर्थिक वर्षमा ५० लाखको लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए । सडकले छोएका मुख्य ठाउँको नक्सा पाससम्बन्धी कानुनलाई कार्यान्वयनमा लैजान बित्तिकै राजस्व संकलन बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । गाउँपालिकाभित्रका अन्य क्षेत्रलाई पनि करको दायरामा ल्याउने गरी नीति बनाइएकाले चालु वर्षको लक्ष्यमा पुगिने उनले बताए ।

चालु आर्थिक वर्षमा ६ स्थानीय तहले ६ करोड राजस्व संकलनको लक्ष्य लिएका छन् । जसमा मुसिकोट नगरपालिकाले २ करोड २५ लाख, आठबिसकोट नगरपालिकाले एक करोड ५० लाख, चौरजहारी नगरपालिकाले एक करोड राजस्व संकलनको लक्ष्य किटान गरेका छन् । यसैगरी सानीभेरी र त्रिवेणी गाउँपालिकाले ५०/५० र बाँफिकोट गाउँपालिकाले २५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् ।

प्रकाशित : श्रावण ६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?