कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमा समूहले गराए मेलमिलाप

सल्यान — शारदा नगरपालिका–७, कजेरीका आमा समूहमा आबद्ध महिला विभिन्न हिंसाविरुद्ध सक्रिय हुन थालेका छन् । आमा समूहमा आबद्ध महिलाले हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हिंसापीडितलाई कानुनी दायरामा ल्याउनसमेत महिला सक्रिय भएका छन् ।

आमा समूहले गराए मेलमिलाप

आमा समूहले पीडित र पीडक दुबैसहितको कचहरी बसाउनेसमेत गरेका छन् । पीडितको न्यायका लागि गाउँमै मेलमिलाप हुने गरेको छ । मेलमिलाप सम्भव नभए कानुनी उपचारका लागि समेत आमा समूहले पहल गरेका छन् ।

घरेलु हिंसाबाट महिला पीडित हुँदै गएपछि आमा समूहले अभियान नै सुरु गरेको आमा समूहकी सदस्य हिमा बुढाथोकीले बताइन् । हिंसाविरुद्ध अभियान थालेपछि विगतको तुलनामा महिला हिंसा घटेको उनको भनाइ छ । आमा समूहले यो वर्ष एक दर्जन बढी उजुरीमा मेलमिलाप गराएको छ ।

मदिरा सेवन र जुवातास नियन्त्रणका लागि समेत सक्रिय भएको महिला समूहको भनाइ छ । सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्नेलाई सार्वजनिक माफी मगाउँदै आएको उनले बताइन् । महिला समूहको सक्रियतापछि गाउँमा मदिरा सेवन गर्ने र जुवातास खेल्ने क्रम घटेका छन् । ‘न्यायका लागि प्रहरी तथा अदालतसम्म पुग्न नसक्ने हिंसापीडितलाई समूहकै सक्रियतामा कानुनी उपचार दिलाउन थालेका छौं,’ आमा समूहकी सदस्य दिलमाया रेउलेले भनिन् ‘सामान्य घटना भएमा गाउँमै मेलमिलाप गराउने गरिएको छ ।’

आमा समूहमा आबद्ध महिलाले अन्य सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएको जनाएका छन् । समूह बचत र आयआर्जन क्रियाकलापमा विपन्न महिलालाई सघाउँदै आएको स्थानीय अगुवा नेपी बुढाथोकीले बताइन् । उनका अनुसार विभिन्न सामाजिक अभियान सञ्चालन गरेपछि आमा समूहलाई पुरुषले समेत साथ दिन थालेका छन् । महिलाले महिला अधिकार, बाल अधिकार, सरसफाइलगायत विषयमा बेलाबेलामा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।

प्रकाशित : श्रावण ६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?