भत्केको घर फोरेर निस्किए किशोर

भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे–६, छिर्क गर्खाकोटका १२ वर्षीय पारस बुढा कहालीलाग्दो घटना सम्झँदा अझै विक्षिप्त हुन्छन् । आफैंले उद्धार गर्दागर्दै आधा घण्टामै हजुरआमा र बहिनीको पहिरोमा पुरिएर ज्यान गुमेको घटना झलझल्ती सम्झन्छन् ।

भत्केको घर फोरेर निस्किए किशोर

कहालीलाग्दो घटना पहिलो पटक बेहोरेका पारसले हजुरआमा र बहिनी सिर्जनालाई बचाउन नसकेको पीडा भुल्न सकेका छैनन् ।

७ कक्षामा अध्ययरत उनको आँट र बहादुरी देख्दा स्थानीय बासिन्दा दंग छन् । शुक्रबार राति १२ बजे छिर्क गाउँमा माथिबाट खसेको पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु र तीन जना घाइते भए । पहिरोमा पुरिएर ५५ वर्षीया लली बुढा र ९ वर्षीया सिर्जनाले ज्यान गुमाए । सोही पहिरोमा परेर घरमुली ६१ वर्षीय भक्तबहादुर, १२ वर्षीय पारस र ६ वर्षीय खिमा घाइते भए । घाईते तीनै जनाको शनिबारदेखि जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शुक्रबार दिनभर हजुरबा भक्तबहादुर, हजुरआमा लली, बहिनी सिर्जना र खिमा घरमै बसेका थिए । उनी घरमा उज्यालो बाल्नका लागि सल्लोको दियालो खोज्न गएको थिए । ‘दियालो ल्याएर फर्केपछि हजरआमाले खाना पकाउनुभयो । बेलुकी ८ बजेतिर सबै जनाले खाना खायौं,’ उनले भने, ‘९ बजेबाट वर्षा सुरु भयो । दुई घण्टासम्म लगातार ठूलो पानी पर्‍यो । ११ बजेरतिर उक्त पानी रोकिएपछि मात्र हामी निदायौं ।’

घरका तीन कोठामध्ये हजुरबा, दुई बहिनी र पारस एउटा कोठामा सुतेका थिए । बुवा हर्कबहादुर, आमा कली र भाइ राजबहादुर भने तीन दिनअघि घरायसी कामले जुम्ला गएका थिए । ‘सुतिरहेकै बेला राति १२ बजेतिर एक्कासि ड्याम्म आवाज आयो र हामी सुतेकै अवस्थामा पहिरोमा पुरियौं,’ उनले भने, ‘माटोपानी मुखमा पसेपछि मात्र निद्रा खुल्यो र हामी सबै पहिरोमा पुरिएका थियौं । मेरो कम्मर तलको शरीर पहिरोमा पुरिएको थियो ।’ अरू सबै जना पूरै पुरिएका थिए । पारस भत्केको घरको भित्ता फोरेर बाहिर निस्किए । वरपर कोही थिएनन् । अध्यारो थियो । ढुंगा माटोमा पुरिएका हजुरबुवा र बहिनी खिमालाई मुस्किलले एक्लै तानेर बाहिर निकालेको उनी बताउँछन्, ‘हजुरआमालाई खोज्दा भेटाउन सकिनँ ।’

हजुरआमा कराउनु पनि भएन,’ उनले भने, ‘बहिनी सिर्जना गुहार गरिरहेकी थिइन् । उनलाई खोज्दै जाँदा कपाल हात लाग्यो, निकाल्ने प्रयास गरे तर सकिनँ ।’ सोही क्रममा उल्टै आफू आधा पुरिएको पारसले बताए । उनी पहिरोबाट निस्कन नसकेपछि गुहार माग्दा पल्लो घरका टेकबहादुर बुढा आएर पारसलाई निकाले । १५ मिटर माथिबाट रूखसहित पहिरो खसेको थियो । उनकी बहिनी सिर्जनाले एक घण्टासम्म ‘दाइ बचाऊ’ भन्दै गुहार मागिरहेकी थिइन् । त्यसपछि घटनास्थलमा २०/२५ जना छिमेकीहरू जम्मा भए ।

लगातार पहिरो खसिरहेको थियो । कसैले जोखिम मोल्न नसक्दा बहिनी सिर्जना र हजुरआमाको उद्धार सकेनन् । भोलिपल्ट बिहान ९ बजे मात्र पारसकी हजुरआमा र बहिनी सिर्जना मृतावस्थामा फेला परे । १५ घण्टापछि घटनास्थल पुगेको प्रहरी र स्थानीयले पहिरो खोतल्दा उनीहरू मृतावस्थामा फेला परेका थिए ।

प्रकाशित : श्रावण ७, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?