तरकारीबाट मासिक लाख आम्दानी

सल्यान — सिद्धकुमाख गाउँपालिकास्थित फलाटेका कुलाराम रेउले तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । १२ वर्षदेखि तरकारी खेती गरेका उनले हाल त्यसबाट मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनले बताए । उनले २२ रोपनीमा तरकारी खेती गरेका छन् ।

तरकारीबाट मासिक लाख आम्दानी

खर्च कटाएर वर्षमा पाँच लाखभन्दा बढी रकम बचत हुने गरेको उनको भनाइ छ । १६ वर्षको उमेरमा मजदुरीका लागि भारतको कालापहाड गएर लामो समय त्यही काम गरेको उनको भनाइ छ । भारतबाट १५ वर्षपछि फर्किएका उनले गाउँमै तरकारी खेती गरेका हुन् । उनको बारीमा बाह्रै महिना बन्दा, गोलभेँडा, भान्टा, खुर्सानी, भेडेखुर्सानी, काउली, सिमी, काँक्रोलगायतका तरकारी फल्ने गरेको छ । तरकारी खेतीबाट ६ जनाको परिवार सजिलै पालेको उनको भनाइ छ ।

तरकारी खेतीबाट आएको रकमले उनले गाउँमै २० लाखभन्दा बढीको जग्गा जोडेका छन् । उनले केही वर्षदेखि बारीमा रासायनिक मल प्रयोग गरिरहेका छन् । कम्पोस्ट मल र दूधका लागि उन्नत जातका भैंसी पालेको उनको भनाइ छ । तरकारी खेतीमा लागेपछि साहुको ऋणबाट मुक्ति पाएको र जग्गा जोड्न थालेको उनको भनाइ छ । छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेको उनले बताए । तरकारी खेतीकै रकमले जीवनस्तर बदल्दै गएको उनको भनाइ छ ।

तरकारी खेतीबाट घरका ६ जनाले रोजगारी पाएको उनले जनाए । ‘तरकारी खेतीमा जति धेरै मिहिनेत गर्न सक्यो त्यत्ति धेरै कमाइ गर्न सकिन्छ,’ उनले भने, ‘व्यापारीले बारीमै आएर तरकारी खरिद गर्ने गरेका छन् । तरकारीको भाउ पनि बर्सेनि बढ्दै गएकाले आम्दानी बढेको हो । ’ उनले उत्पादन गरेको तरकारी श्रीनगर, खलंगा र तुलसीपुरसम्म पुग्ने गरेको छ । तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका अधिकांश किसानले व्यावसायिक तरकारी खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?