कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरो जोखिममा १२ गाउँ

राजबहादुर शाही

मुगु — जिल्लाका १२ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । रिघा, कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, गमगढी क्याम्पस रोड, गाडेखोला, भटडाडीलगायत १२ गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् ।

पहिरो जोखिममा १२ गाउँ

छायाँनाथ नगरपालिकास्थित २१ घरधुरी रहेको भियालबाडा दलित बस्ती पहिरोको सबैभन्दा बढी जोखिममा छ । वर्षामा माथिबाट पहिरो आउने र तलबाट मुगु कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

केही घर पहिरोले पुरिन थालेपछि स्थानीय घर छोडेर लुम्स बगरमा बस्न जान थालेका छन् । जग्गाजमिन सबै पहिरोले बगाउँदा सुकुम्बासी बन्नुपरेको स्थानीयको गुनासो छ । पहिरोको डरले पुख्र्यौली घर छोडेर बगरछाइलमा बस्नुपरेको भियालबाडाका नन्दबहादुर नेपालीले बताए । ‘जग्गा पहिरोले पुरेपछि बजारको खाद्यान्न किनेर जोहो गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कसरी वर्षा कटाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’

नगरपालिकाको भटडाडी गाउँमा पनि पहिरोको त्रास छ । माथिबाट पानी परेको बेला पहिरो आउने गरेकाले रात कटाउन कठिनाइ हुने गरेको स्थानीयले बताए । माथिबाट डोजरले सडक खनेपछि गाउँ पहिरोको जोखिममा परेको हो । नगरपालिकाकै कम्फा, चरापगाउँका स्थानीयलाई पहिरोको त्रास छ । करिव ४२ घरधुरी रहेको कम्फा मुनिबाट पहिरो बग्दै गएकाले स्थानीयवासी त्रासमा छन् । पहिरोको जोखिमका कारण माथिलेकमा बस्ती सार्न थालेको स्थानीय धनरूप बडुवालले बताए । ताल्चा विमानस्थलको पानीले कालापाल्तामा पहिरो जान थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

मुगमकार्मारोङ गाउँपालिकास्थित माग्रीका तीन सय घरधुरी पनि पहिरोको जोखिम बढेपछि त्रासमा छन् । मुगु कर्णाली नदीले बर्सेनि गाउँको मुनिबाट कटान गर्दै जाने र माथिबाट पहिरो बढ्दै गएको स्थानीयको भनाइ छ । गाउँमुनि पाँच सय मिटर बढी क्षेत्रफल पहिरोले बर्सेनि बगाउने गरेको स्थानीयको भनाइ छ ।

खत्याड गाउँपालिका–८ र ७ को रिघा गाउँका बासिन्दा पानी पर्न थालेपछि त्रसित हुने गरेका छन् । ठूलो वर्षा हुन थाले स्थानीय पीपलचौतारामा जम्मा हुने गरेको स्थानीयले जनाए । दुई वर्षअघिको वर्षामा पहिरो आउँदा एक दर्जन घर पुरिएका थिए । ‘वर्षातको समयमा राति घरभित्र सुत्न साह्रै डर लाग्छ,’ रिघा गाउँका मनोज गिरीले भने, ‘राति माथिबाट पहिरो खस्ने क्रम बढेको छ, त्यसैले पीपलचौतारीमा बसेर रात कटाउने गरेका छौँ ।’ पहिरोको त्रासले केही घरधुरी विस्थापित भएको उनले बताए ।

सोरु गाउँपालिका–४, रावलबाडाको दलित बस्ती पनि पहिरोको जोखिममा छ । दलित बस्तीको मुनि हुम्ला कर्णाली नदीले कटान गर्दै गइरहेको छ भने माथिबाट दिनहुँ पहिरो खस्ने गरेको छ । ४५ घरधुरी रहेको दलित बस्तीका बासिन्दाले ठूलो पानी परे रातभर जाग्राम बस्ने गरेको बताए । रावलबाडाका बुद्धिसिंह नेपालीले पहिरोका कारण खेती गर्ने जग्गा बर्सेनि मासिंदै गएपछि जीविकोपार्जनमा समस्या भएको बताए ।

प्रकाशित : श्रावण ७, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?