कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिलाम्मे सडकमा गाडी फसे

९४ किमि सडकमा समस्या, यात्रुलाई सास्ती
राजबहादुर शाही

मुगु — वर्षाका कारण गमगढी–नाग्मा सडक हिलाम्मे भएपछि यात्रुलाई आवतजावतमा सास्ती भएको छ । गमगढीदेखि नाग्मासम्मको ९४ किमि सडक हिलाम्मे भएपछि गाडी ठाउँठाउँमा अलपत्र परेका छन् ।
सडक हिलाम्मे बनेपछि फसेका गाडीहरू निकाल्न यात्रुलाई सास्ती हुने गरेको छ ।

हिलाम्मे सडकमा गाडी फसे

कच्ची सडकमा पानीका खाल जमेर गाडी फस्ने गरेका हुन् । अधिकांश स्थानमा फसेका गाडी निकाल्दा निकाल्दै घण्टौं बित्ने गरेको यात्रुको गुनासो छ । ताल्चामइतु, तलितुम, झयारीखोलालगायत क्षेत्रमा गाडी चलाउन समस्या भएको चालकको भनाइ छ । सडक हिलाम्मे बनेपछि सुर्खेत र नेपालगन्जबाट सामान बोकेर ल्याएका गाडी बीच बाटोमै रोकिएका छन् ।


यातायात व्यवसायी नेत्रप्रसाद चौलागाईले सडकका कारण चालक र व्यवसायीलाई पनि सास्ती भएको बताए । झयारी खोलामा घण्टौं गाडी रोकिंदा स्थानीयवासीलाई सुर्खेत र नेपालगन्ज आउजाउमा समस्या भएको छ । सडकको अधिकांश स्थानमा माथिबाट स–साना पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको यात्रुको गुनासो छ । पहिरो पन्छाउँदा पन्छाउँदै घण्टौं बित्ने गरेको गाडीचालक महेन्द्र न्यौपानेले बताए । हिलोका कारण ठाउँठाउँमा गाडी फसेपछि यात्रुले धकेलेर निकाल्दै यात्रा गरेको उनको भनाइ छ ।


गमगढीदेखि ताल्चासम्म ९ किमि सडकखण्डमा सडक डिभिजन कार्यालयले स्तरोन्नतिको नाममा माटो मात्रै पटान गरेपछि सडक झन् हिलाम्मे बनेको छ । उक्त खण्डमा पनि दर्जनौं गाडी फस्ने गरेका छन् । हिलोमा गाडी फसेपछि स्काभेटर र ट्याक्टरको सहायता लिनुपर्ने अवस्था आएको गाडीचालकको गुनासो छ । ‘हिलोमा डुबेको सवारीसाधन निकाल्दै बाटोमै रात पर्छ,’ चालक न्यौपानेले भने, ‘दिनहुँ यात्रा अनिश्चित बन्न थालेको छ ।’


गमगढी–नाग्मा खण्डको झयारी खोला, ताल्चाखोला, जुम्लाको गाडीज्युलालगायतका खोलामा पुल नहुँदा समस्या भएको स्थानीयले जनाए । २०६९ सालदेखि मुगुमा यातायात सेवा सञ्चालन भएको हो । सडक अहिलेसम्म कालोपत्रे नहुँदा यात्रुलाई बर्सेनि सास्ती भएको छ । सडक डिभिजन कार्यालयबाट हरेक वर्ष मर्मतका नाममा करोडौं रकम विनियोजन हुने भए पनि यात्रा सहज बन्न सकेको छैन । सडक कालोपत्रे नहुँदा रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । वर्षाका कारण अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

प्रकाशित : श्रावण ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?