२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लोप हुँदै रैथाने बीउ

जयबहादुर रोकाया

हुम्ला — जिल्लामा आलु, धान, चिनो कागुनोलगायतको रैथाने जात लोप हुँदै गएको छ । बढी फल्ने भन्दै किसानले उन्नत जातको बीउको लगाउन थालेपछि परम्परागत बीउ लोप भएको हो । उन्नत प्रविधिको आलु खेती गर्न थालेपछि रैथाने जातको आलु लोप भएको छ ।

लोप हुँदै रैथाने बीउ

जिल्लाका सबै गाउँमा आलुखेती हुन्छ तर अहिले ग्रामीण बस्तीमा समेत रैथाने जातको आलु भेटाउन मुस्किल छ । केही वर्षअघिसम्म स्थानीय जातको आलु मिठो र स्वादिलो हुने गरेकोले स्थानीयले कोसेलीको रूपमा विभिन्न जिल्लामा पठाउने गरेका थिए । तर कम फल्ने र दाना साना हुने भएकाले स्थानीय जातको आलुको खेती गर्न छोडेको किसानले जनाएका छन् । सिमकोटमा दुई रोपनी जग्गामा आलु खेती गर्दै आएका कृषक श्यामजोर ऐडीले विकासे आलु धेरै फल्ने भएकाले स्थानीय आलुको खेती हुन छाडेको बताए ।


उन्नत प्रविधिको आलु स्थानीय जातको तुलनामा मिठो कम हुने, पकाउँदा बाहिर पाक्ने तर, भित्र काँचो हुने गरेको उनले बताए । ‘स्थानीय आलुलाई परिश्रम धेरै चाहिने तर कम फल्ने समस्या थियो,’ उनले भने, ‘त्यसैले खेती हुन छोडिसक्यो ।’ स्थानीय किसानको उत्पादनमा बढाई आयस्रोतमा वृद्धि गर्न विगत एक दशकदेखि कृषि विकास कार्यालयले उन्नत जातको आलु जिल्लामा भित्र्याएको थियो ।


उन्नत जातको आलुको बीउ अनुदानमा बिक्री भएपछि किसान त्यसैमा आकर्षित भएका थिए । अहिले हरेक बस्तीका बासिन्दाले विकासे आलु नै उत्पादन गरेका छन् । केही वर्षअघिसम्म स्थानीय जातको आलु उत्पादन हुने उत्तरी तिब्बत सीमाको नाम्खा गाउ‘पालिकाको यारीका बासिन्दाले समेत विकासे आलु लगाउन सुरु गरेका छन् । स्थानीय रामचन्द्र बुढाले रैथाने जातको आलु दुर्गम बस्तीमा पनि भेटाउन मुस्किल भएको बताए । विकासे बीउका कारण खाद्यान्नका स्थानीय जातसमेत मासिन थालेको छ ।


जिल्लाको दक्षिणी भेगमा उत्पादन हुने रातो चामल पनि मासिंदै गएको छ । बढी उत्पादन हुने भएपछि किसानले विकासे धानको बीउ प्रयोग गर्न थालेका छन् ।


कम फल्ने भए पनि स्थानीय जातको धानको चामल स्वादिलो हुने गरेको थियो । भात पकाउन मिल्ने कागुनो, चिनोलगायतका खाद्यान्नका रैथाने बीउसमेत लोप भएका छन् । अहिले रैथाने जातको चोती र फापरमात्र किसानले लगाउने गरेको स्थानीय लोटइ लामाले बताए ।

प्रकाशित : श्रावण ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?