कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सदरमुकाम सुनसान, गाउँ गुल्जार

सरकारी सेवाहरू गाउँमा गएपछि स्थानीय तहका केन्द्रमा चहलपहल
सदरमुकामका व्यवसायीले आफ्नो व्यवसाय ग्रामीण क्षेत्रमा सार्न थालेका छन्

हुम्ला/जुम्ला — नयाँ संरचनासँगै यहाँका सदरमुकाममा मानवीय चहलपहल घट्दै गएको छ । सरकारी सेवाहरू गाउँमा गएपछि स्थानीय तहका केन्द्रमा चहलपहल बढेको हो । ग्रामीण क्षेत्रमा समेत व्यावसायिक कारोबार बढ्दै गएको छ ।

सदरमुकाम सुनसान, गाउँ गुल्जार

सदरमुकाममा चहलपहल घटेपछि व्यापार–व्यवसाय र घरजग्गा कारोबारमा समेत असर परेको छ । सदरमुकामका व्यवसायीले आफ्नो व्यवसाय ग्रामीण क्षेत्रमा सार्न थालेका छन् । कतिपयले व्यवसाय परिवर्तन गर्न थालेका छन् । सिमकोटमा लामो समयदेखि व्यवसाय गर्दै आएका विष्णु श्रेष्ठले व्यापारमा मन्दी आएपछि व्यावसाय छोड्ने विचार गरेको बताए । पछिल्लो समय पसल र होटेलको कारोबार निकै घटेको उनको भनाइ छ ।

व्यवसायपछि घरजग्गा कारोबारमा असर परेको स्थानीयको भनाइ छ । कुनै समय सदरमुकाम सिमकोटमा जग्गाको मूल्य अकासिएको थियो । जिल्लाभरिका बासिन्दाबीच सिमकोटमा घरजग्गा जोड्न होडबाजी नै चलेको थियो । केही आम्दानी हुनेबित्तिकै सदरमुकाममा घरजग्गा जोड्ने महत्त्वाकांक्षा स्थानीयवासीमा थियो । अहिले सिमकोटको जग्गा बिक्री हुन छाडेको छ । ‘संघीयता कार्यान्वयन हुनुअघि सदरमुकाममा घरजग्गाको महत्त्व धेरै थियो,’ चंंखेली गाउँपालिकास्थित पुमाका रामचन्द्र बुढाले भने, ‘अहिले सिमकोटको घरजग्गा बिक्री हुन छाडेको छ ।’

त्यस्तै, जुम्लाका सात वटा गाउँपालिकाका विभिन्न क्षेत्रमा टुक्रे बजार फस्टाउँदै गएका छन् । जिल्लाभरि नै सडक सञ्जालले छोएपछि गाउँमा बजार स्थापना हुने क्रम बढेको हो । तिला गाउँपालिकाको रारालिही सेरीमा पाँच वर्षअघि चारवटा होटेलमात्रै सञ्चालनमा थिए । अहिले सेरी बजारको रूपमा परिणत भइरहेको स्थानीय प्रेम बस्नेतले बताए । ‘जुम्ला खलंगा बजारमा पाइने सबै थोक सामग्रीहरू सेरी बजारमै पाइन्छन्,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तु खरिद गर्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’ तिला गाउँपालिकाको केन्द्र डुन्डेली नजिकै पर्ने भएकाले सेरीमा चलहपहल बढेको उनको भनाइ छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्युला बजारमा पनि चहलपहल बढेको छ ।

मोटरबाटो सञ्चालनमा आएपछि बनेको बजार अहिले पालिकाको केन्द्र बनेको छ । कनकासुन्दरीको केन्द्र लुडुमा तोकिए पनि गोठिज्युलामा बजार बसेपछि फेरिएको हो । तीन वर्षअघि गोठीज्युलामा दिउँसोको समयमा पनि मानिसको आउजाउ गर्न डराउनुपर्ने अवस्था थियो । रारा र मुगु जाने यात्रुले गोठीज्युलामै खाना खाने र बस्ने गरेका छन् ।

स्थानीय दीपेन्द्र उपाध्यायका अनुसार अहिले गोठीज्युलामा इलेक्टोनिक्स, फेन्सी, खाद्यान्नदेखि सबैखाले सामग्री पाइन्छ । उनका अनुसार पूरै गाउँपालिका बासिन्दा किनमेलका लागि गोठीज्युलामै निर्भर छन् । तीन वर्ष अघिसम्म सामान्य किनमेलका लागि समेत जुम्लाबजार आउनुपर्ने बाध्यता थियो । सिंजा विराटका प्रकाश उपाध्यायले अहिले नुनदेखि सुनसम्म गोठीज्युलामै पाइने गरेको बताए । उनका अनुसार मुगुमा समेत यहींबाट सामान जान थालेको छ ।

संघीय संरचना कार्यान्वयनसँगै तातोपानी गाउँपालिकाको तातोपानी, तिलाको कुडारी र रारालिही, चन्दननाथ नगरपालिकाको श्रीढुस्का र उम्गाड, हिमाको नाग्म र बागबजार व्यापारिक केन्द्रमा परिणत भएका छन् । त्यस्तै सिंजाको नराकोट, पातारासीको लासी, उर्थु र डिल्लीचौर, गुठिचौरको झारज्वालामा व्यवसायिक चहलपहल बढ्दै गएको छ । त्यहाँका उपभोक्ता र सरकारी सेवा लिने सेवाग्राही खलंगा बजार आउन छाडेका छन् । सबै कामहरू पालिकाको केन्द्रबाटै हुने भएकाले पनि केन्द्र स्थापना गरिएका स्थानमा चहलपहल बढ्दै गएको छ । केन्द्र स्थापनापछि गाउँमा उत्पादित तरकारी र फलफूलले बजार पाएको छ ।

जुम्लाको खलंगाबाहेक अन्य बजारमा विद्युत्को व्यवस्था छ । बिजुलीको सुविधा भएकाले पनि गाउँमा व्यापारव्यवसाय बढेको बागबजारका व्यवसायी मुन रावतले बताए । ‘बागबजारमा मोटरबाटो पुगेपछि गाउँको सबै बस्ती यता सरेको छ,’ उनले भने, ‘धेरै मानिसहरू सदरमुकाम जान छोडिसके ।’ पटमारा गाउँपालिकाको उर्थु बजार अहिले ११ बजेसम्म पनि खुल्छ । जुम्ला सदरमुकामदेखि सवारीसाधनमा १५ मिनेटको दूरीमा पुगिने उर्थु अहिले व्यावसायीको रोजाइमा परेको छ । सबैजसो टुक्रे बजारमा निजी विद्यालय सञ्चालनमा छन् । बालबालिकाका कारण समेत बजारको रौनकता थपिएको छ ।

खलंगा बजारको व्यापारमा कमी आउन थालेको स्थानीय हीराकली बुढाले बताइन् । ‘जुम्ला बजारमा पाइने मूल्यमै गाउँमा उपभोग्य सामान पाइन्छ,’ उनले भनिन्, ‘सरकारी सेवा समेत गाउँमै सरेपछि गाउँमा चहलपहल बढेको छ ।’ चौधबिस क्षेत्रमा उत्पादन हुने आलु पहिले सदरमुकाम ल्याउनुपर्ने बाध्यता भए पनि अहिले उर्थुमै बिक्री हुने गरेको उनको भनाइ छ । अहिले बाहिरका व्यावसायीले उर्थु गएर कृषिजन्य सामग्री खरिद गरी ल्याउने गरेका छन् ।

खलंगाबजारमा चहलपहल घटेसँगै आर्थिक कारोबार समेत घटेको उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द आचार्यले बताए । उनका अनुसार विभिन्न गाउँमा सडक सञ्जालले छोएपछि र संघीयता कार्यान्वयन भएपछि खलंगाको व्यापार घटेको हो । ‘पहिले व्यापारका लागि मुगु र डोल्पाका बासिन्दा समेत किनमेलका लागि यहाँ आउने गर्थे,’ उनले भने, ‘अहिले गाउँमै व्यापारिक केन्द्र बन्न थालेपछि चहलपहल न्यून भएको छ ।’ आसपासका बासिन्दा मात्रै खलंगामा किनमेलका लागि आउने गरेको उनको भनाइ छ । बैंकिङ सुविधा नपुगेका स्थानीय तहका बासिन्दा भने अहिले सदरमुकाममै आउने गरेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?