कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्थानीय तहका सूचना वेबसाइटमा

प्रकाश अधिकारी

सुर्खेत — केही वर्षअघिसम्म सामान्य सूचना लिनसमेत सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । सूचना प्रविधिको पर्याप्त ज्ञान, उपलब्ध स्रोत–साधनको कमीका कारण वेबसाइट लगअन गर्ने सेवाग्राही औंलामा गनिन्थे ।

स्थानीय तहका सूचना वेबसाइटमा

कर्मचारीलाई कार्यालयसँग सम्बन्धित सबै सूचना वेबसाइटमा हुँदाहुँदै ‘प्रिन्ट’ गरेर दिनुपर्ने झन्झट पनि उस्तै हुन्थ्यो । तर, पछिल्लो समय सञ्चार प्रविधि क्षेत्रमा भएको विकासले स्थानीय तहमा सहज सूचना प्रवाह गर्न मद्दत पुर्‍याएको छ ।

घर–घरमा इन्टरनेट, कम्प्युटर, हात–हातमा एन्ड्रोइड मोबाइल सेटले सजिलो भएको स्थानीय तहमा कार्यरत सूचना अधिकृतहरू बताउँछन् । सेवाग्राहीलाई सूचना माग्न कर्मचारीकै टेबुलमा पुग्नुपर्ने बाध्ययता केही हदसम्म टरेको उनीहरूको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाको सञ्चार तथा सूचना प्रविधि उपशाखाले अधिकांश सेवाग्राही वेबसाइटमार्फत सूचना लिने गरेको बताएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई समेत नियमित वेबसाइट हेरेर आवश्यक जानकारी लिन कर्मचारीले सुझाउँदै आएका छन् ।

नगर प्रमुख देवकुमार सुवेदीले सूचना प्रविधि शाखाले सूचना प्रवाहमा सहजता ल्याएको बताए । ‘हाम्रा अधिकांश कामकाज सफ्टवेयर सिस्टमबाटै सञ्चालित छन्,’ उनले भने, गु्रपिङ एसएमएसदेखि हरेक डकुमेन्ट डिजिटलायज्ड गर्दैछौं ।’ वीरेन्द्रनगरले वडासम्म पुगेर जनप्रतिनिधि र कर्मचारीलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन थालेको छ । वडा नं ७ मा तीनदिने तालिम सम्पन्न गरिसकेको छ ।

जनप्रतिनिधिले वेबसाइट लगअन गर्ने, मोबाइल एप प्रयोग गर्ने, गु्रप एसएमएस पठाउन/हेर्न, सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउने गरिएको छ । सूचना प्रविधि अधिकृत भानुभक्त रेग्मीले वेबसाइटमा आन्तरिक अभिलेख व्यवस्थापनदेखि आमसर्वसाधारणसम्म प्रवाह गर्नुपर्ने सूचना समयमै अपडेट गर्ने गरेको बताए । कतिपय इन्टरनेटमा पहुँच नभएका सेवाग्राहीलाई नगरसँग सम्बन्धित सूचना, कागजात प्रिन्ट गरेरै उपलब्ध गराउने गरेको बताए । सूचना प्रविधि शाखाले अन्तरकार्यालय सूचना आदानप्रदान, स्थानीय तथ्यांक संकलन, प्रशोधन, अभिलेखीकरण लगायतका कार्य गर्दै आएको छ ।

सुर्खेतका ९ वटै स्थानीय तहमा सूचना प्रविधि शाखा र आवश्यक कर्मचारीको संरचना निर्माण भइसकेका छन् । स्थानीय सरकार गठन भएको एक वर्षमा सबै तह सूचना प्रविधि उन्मूख अवस्थामा पुगेका छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले पनि आफूलाई सूचना प्रविधिमा अभ्यस्त गर्दैछ । अध्यक्ष कविन्द्रकुमार केसीले वडा–वडासम्म सूचना प्रविधिका विभिन्न आयामहरूलाई विस्तार गर्न लागेको बताए ।

सूचना प्रविधिको विकासले जनप्रतिनिधि, कर्मचारीलाई दैनिक कार्य सम्पादन गर्न हौसला मिलेको उनको दाबी छ । ‘सेवाग्राहीले मोबाइलबाटै थुपै्र सन्देश ग्रहण गरेका छैनन्, गाउँपालिकादेखि स्कूल, स्वास्थ्यचौकी लगायत मातहतका सबै विषयगत कार्यालयमा कम्प्युटर सफ्टवेयरमार्फत् काम गर्न थालेका छौं, अध्यक्ष केसीले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर सेवा लिने नौलो प्रविधि भएकाले सेवाग्राही पनि उत्साही छन् ।’

लेकवेशी नगरपालिकाका सूचना प्रविधि अधिकृत भरत ढकालले आफूले विभिन्न डिभाइस सेटअप गर्नेदेखि, इलेक्ट्रोनिक सूचनाहरू वितरण गर्ने, वडा सचिवसहितका कर्मचारीलाई सफ्टवेयरमा समस्या आउँदा समाधान गर्ने गरेको बताए । उनले जनप्रतिनिधिलाई छिट्टै तालिम दिने तयारीमा रहेको बताए । भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्यले आफूहरूका कामकारबाहीलाई सूचना प्रविधिसँग जोडेर लैजाने गरेको बताइन् ।

सूचना प्रविधि शाखाले के गर्छ ?
स्थानीय तहमा स्थापना भएको सूचना तथा सञ्चार प्रविधि शाखा/उपशाखाले आफ्नो क्षेत्रभित्रको इन्टरनेट सेवाको विस्तार, केबुल तथा ताररहित टेलिभिजन प्रशारणको अनुमति, नवीकरण र नियमन गर्छ । त्यस्तै, एक सय वाटसम्मको एफएम रेडियो अनुमति, नवीरकण र नियमन, आफ्नो क्षेत्रभित्रका पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख र नियमन स्थानीय निकायले गर्छन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?