कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आठ वडाका एउटै सचिव

जयबहादुर रोकाया

हुम्ला — सदरमुकामस्थित आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक जना वडासचिवले काम गर्दै आएका छन् । आठ वडाको काम एक्लैले गर्दा वडासचिव धर्मराज रोकायालाई भ्याईनभ्याई छ ।

आठ वडाका एउटै सचिव

रोकायाले गाउँपालिकाको केन्द्र रहेको सिमकोटबाटै सबै काम गर्ने गरेका छन् ।

सरकारले आवश्यक कर्मचारी र वडासचिव नपठाउँदा एक्लो सचिवले पूरै गाउँपालिकाको काम गरेका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकामै आउनुपर्ने बाध्यताले स्थानीयले सास्ती पाएका छन् । कर्मचारी अभावमा पूरै गाउँपालिकाका स्थानीयवासी सरकारी सेवा दिन सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

‘सेवाग्राही घण्टौं हिंडेर आउने गरेका छन्,’ सचिव रोकायाले भने, ‘एक्लैले सबैको काम गर्दा एक छिन पनि फुर्सद हुँदैन ।’ सिमकोट गाउँपालिका मात्र होइन जिल्लाका सातवटा स्थानीय तहको अवस्था उस्तै छ । सात गाउँपालिका ४७ वडा छन् । अधिकांश वडामा सचिव छैनन् । दरबन्दीअनुसार पदपूर्ति नहुँदा एक सचिवले धेरै वडाको जिम्मा लिनुपर्ने बाध्यता छ । जिल्ला समन्वय समितिका .इन्जिनियर देवी ऐडीका अनुसार जिल्लाभरिमा १५ सचिव मात्र छन् । एक सचिवले धेरै वडाको काम गर्दा स्थानीयलाई सेवाप्रवाहमा समस्या भइरहेको छ । सेवा सहज नहुँदा स्थानीयले लामो समयदेखि सास्ती पाएका छन् ।

आफ्नो वडाको काम कसले हेर्छ भन्नेबारे स्थानीयवासीमा अन्योल छ । सेवाग्राही सचिव खोज्दाखोज्दै घण्टौं समय खर्चिन बाध्य छन् । सडक यातायात नभएको हुम्लामा एक वडाबाट अर्काे वडामा पुग्न एक दिनभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । त्यसमा पनि पर्याप्त सचिव नहुँदा स्थानीयवासी अधिकांश सरकारी सेवाबाट वञ्चित छन् ।

सिमकोट गाउँपालिकाको एक नम्बर वडाबाट आठ नम्बर पुग्न दुई दिन पैदलयात्रा गर्नुपर्छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट केन्द्र रहेको याल्बाङ पुग्न झन्डै पाँच हजार मिटर उचाइको लेक पार गरी एकतर्फी तीन दिन पैदल हिँड्नुपर्छ । चंखेली गाउँपालिकाको नेप्क गाउँबाट केन्द्र रहेको पिप्लाङ पुग्न एक दिन पैदलयात्रा गर्न स्थानीयवासी बाध्य छन् । नेप्क गाउँमा टेलिफोन सुविधासमेत छैन । त्यस्तै, दुई वर्षपहिले स्थापना भएको इलाका प्रशासन कार्यालयमा हालसम्म अधिकृत नहुँदा स्थानीयवासी पैदल हिँडेर सदरमुकाम पुग्न बाध्य छन् । कर्मचारी अभावमा स्थानीयवासी सहज सरकारी सेवा प्रवाहबाट वञ्चित हुँदै आएका छन् ।

प्रकाशित : श्रावण १६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?