२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

समूहमा विद्यार्थी बिरामी

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जनकल्याण माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–९, पूरानागाउँको पठनपाठन केही दिनदेखि नियमित हुन सकेको छैन । १० बजेदेखि १२ बजेसम्मका सबै विषय नियमित पठनपाठन भए पनि १२ बजेपछिका कुनै पनि विषय पठनपाठन गराउने वातावरण विद्यालयमा छैन । अनौठो खालको लक्षणसहित विद्यार्थी बिरामी हुन थालेपछि पठनपाठन नियमित हुन नसकेको हो ।

समूहमा विद्यार्थी बिरामी

छात्रा विभिन्न लक्षणपछि बिरामी हुन थालेपछि समस्या भएको विद्यालयले जनाएको छ । छात्राहरू एक्कासि रुने, कराउने, चिच्याउने र अचेत हुने गरेको शिक्षक बलबहादुर खत्रीले बताए । त्यसअघि पनि केही विद्यार्थीमा यस्तो लक्षण देखिएको थियो । श्रावण १४ गतेदेखि धेरै छात्रामा यस्तो समस्या सुरु भएको उनले बताए ।

‘बिहान स्वस्थ अवस्थामा पढ्न आएका किशोरीहरू मध्याह्न १२ बजेपछि अचेत हुन थालेका छन्,’ शिक्षक खत्रीले भने, ‘यसकारण विद्यालयमा न विद्यार्थीले पढ्ने वातावरण छ न हामी शिक्षकहरूले पढाउने वातावरण नै ।’ १२ बजे भन्दा अघि कसैलाई यस्तो समस्या नआउने गरेको विद्यालयले जनाएको छ ।


यसअघि जेठ महिनाभरि केही छात्रामा यस्तो समस्या देखिएको थियो । जेठ महिनामा छात्रा बिरामी भइरहेपछि उनीहरूलाई नेपालगन्ज तथा काठमाडौं लिएर अभिभावकले उपचार गराएका थिए । ७ र ८ कक्षाका ७ जना छात्रालाई जिल्ला बाहिर लगी उपचार गराइएको थियो । उपचार गरेर फर्केका छात्राहरू विद्यालयमा आउन थालेपछि अन्य विद्यार्थीमा पनि यो समस्या भएको विद्यालयले जनाएको छ । शिक्षक खत्रीका अनुसार गत जेठ महिनामा यस्तो समस्या देखिएपछि उपचार गरेर आएका ७ जना छात्रामा यो समस्या कायमै छ भने अरू छात्राहरू पनि यस्तो समस्याबाट ग्रसित छन् ।

प्रकाशित : श्रावण १८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?