कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५५ वर्षमा १२ पास

ज्योति कटुवाल

दैलेख — जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तिलकप्रसाद न्यौपानेले ५५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका नायब सुब्बा न्यौपानेले अवरुद्ध भएको पढाइ पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सकेसम्म पढाइलाई निरन्तरता दिने बताए ।

५५ वर्षमा १२ पास

दृढ इच्छाशक्ति भए गर्न नसकिने केही नभएको उनी बताउँछन् । ०३८ सालमा एसएलसी उत्तीर्ण न्यौपानेले मुखियाबाट सरकारी सेवा प्रवेश गरेका हुन् । २०४० सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् । ‘विभिन्न कारणले पढाइलाई निरन्तरता दिन सकेको थिएन,’ उनले भने, ‘वर्षौंपछि कक्षा १२ उत्तीर्ण गर्न पाउँदा धेरै खुसी छु ।’


न्यौपाने जिल्ला प्रशासनको प्रशासन फाँटमा मुखिया भएर १३ वर्ष कार्यरत रहे । १५ वर्ष खरिदार बनेका न्यौपाने आठ वर्षदेखि नायब सुब्बा पदमा कार्यरत छन् । उनले कक्षा ११ र १२ दुबैमा ५० प्रतिशत अंक प्राप्त गर्न सफल भएको बताए । न्यौपानेले त्रिभुवन नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् । ‘अब मलाई बढुवा भएर अधिकृत बन्नका लागि बाटो खुल्नेछ,’ उनले भने, ‘पहिले गाउँ गाउँमा उच्च माविहरू थिएनन्, जागिरकै कारण व्यस्त बने त्यसैले पढाइलाई निरन्तरता दिन सकेनन् ।’ अहिलेको जस्तो अवस्था भएको भए र पढाइलाई निरन्तरता दिन सकेको भए अहिलेसमम आफूले स्नातकोत्तरसम्मैको पढाइ पूरा गर्न सक्ने उनले जनाए । जागिर, घरधन्धा र छोराछोरीको जिम्मेवारीकै कारण पढाइ बीचैमा रोकिएको उनको भनाइ छ ।


न्यौपानेको परिवारमा ९ सदस्य छन् । जेठा छोरा प्रकाशले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । प्रकाश नारायण नगरपालिका–६ का वडाअध्यक्ष छन् । कान्छा छोरा, छोरी र दुई बुहारीले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । कक्षा १२ उत्तीर्ण भएसँगै आफूमा आत्मविश्वास बढेको न्यौपानेको भनाइ छ । ‘अब सकेसम्म माथिल्लो तहको पढाइलाई निरन्तरता दिन्छु,’ उनले २९ जना प्रमुख जिल्ला अधिकारीसँग काम गरिसकेको बताए । उनी इमान्दार कर्मचारीको रूपमा जिल्लाभर परिचित छन् । उनी कक्षा १२ उत्तीर्ण भएपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले खुसी भएको बताए । ‘तिलकजी प्रौढ अवस्थामा पनि राम्रो प्रतिशत ल्याएर उत्तीर्ण भएर उदाहरणीय बन्नुभएको छ,’ उनले भने, ‘यसले अरूलाई पनि प्रेरणा दिएको छ ।’

प्रकाशित : श्रावण १८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?