१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीले रोकिए गाडी

कान्तिपुर संवाददाता

सल्यान — छिन्चु–जाजरकोट सडकखण्डको बन्गाड खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारमा अलपत्र परेका छन् । प्रहरीका अनुसार लगातार भएको वर्षाका कारण जिल्लाभर एक दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।

बाढीले रोकिए गाडी

बन्गाड खोलाको बाढीले सडक अवरुद्ध बनेपछि काठमाडौं, नेपालगन्ज, सुर्खेत आउजाउ गर्ने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । केही गाडी बाढीमा फसेपछि डोजरको सहायताले निकालिएको इलाका प्रहरी कार्यालय, सल्लीबजारका इन्चार्ज चन्द्रबहादुर कठायतले बताए । दुई दिनसम्म लगातार भएको वर्षाले खोलामा बाढी आएको थियो ।


बन्गाड खोलामा पुल नबन्दा बर्सेनि यात्रुलाई सास्ती हुने गरेको छ । स्थानीय देवबहादुर विष्टका अनुसार नाथेखोलामा पक्की पुलसहित कल्भर्ट निर्माणको जिम्मा पाएका ठेकेदार भागेपछि अहिले योजना अलपत्र भएको छ । ‘ठेकेदारले काम अलपत्र पारेपछि वर्षात्को समयमा यात्रुको बिचल्ली हुने गरेको छ,’ उनले भने, ‘सरकारी बेवास्ताले यात्रुले सास्ती पाइरहेका छन् ।’


पुल निर्माणको जिम्मा पाएको आशिष निर्माण सेवाले समयमै काम नगर्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । नगरपालिकाले आफ्नै डोजरमार्फत सडकका विभिन्न ठाउँमा गएको पहिरो हटाउँदै आएको जनाएको छ । पुल निर्माणमा भएको ढिलाइले एक महिनाअघि आएको बाढीका कारण खोला थुनिँदा गैलीबजार डुबानमा परेको थियो । डुबानका कारण दुई दर्जन बढी घरमा क्षति पुगेको थियो ।

दैनिकजसो पानी परिरहेकाले खोलामा बाढी नघटेको बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको बताए । खोलामा पुल नबन्दासम्म स्थानीयलाई सास्ती भइरहने उनको भनाइ छ । उनका अनुसार पुन नहुँदा बालबालिकालाई विद्यालय आउजाउमा समेत समस्या भइरहेको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?