१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२० दिनपछि फोहोर उठ्यो

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — मुसिकोट नगरपालिकाले फोहोर उठाउन थालेको छ । खलंगा, बागबजार, सेरीगाउँ, सल्लेमा थुप्रिएका फोहोर नगरपालिकाले शुक्रबारदेखि उठाउन थालेको हो ।

२० दिनपछि फोहोर उठ्यो

वडा २ का बासिन्दा र मुसिकोट नगरपालिकाबीच सहमति भएपछि यसअघि फाल्दै आएकै ठाउँमा फोहोर विसर्जन गर्न थालिएको हो । नगरपालिकाको टिपरले शुक्रबार बिहानैदेखि २० दिनदेखि थुप्रिएको फोहोर बोक्न थालेको छ । वडा २ को पानढुंगामा फोहोर फालिँदै आएकामा गत असार मसान्तदेखि स्थानीयले अवरोध गरेका थिए ।

नगरप्रमुख देवीलाल गौतमले स्थानीयसँग छलफलपछि अर्को व्यवस्था नभएसम्मका लागि पानढुंगामै फोहोर व्यवस्थापन गर्ने सहमति भएको जनाए । ‘हामीले स्थानीयसँग छलफल गर्‍यौं,’ उनले भने, ‘अर्को व्यवस्था नभएसम्मका लागि पानढुंगामै फोहोर फाल्न सहमति जुटेको छ ।’ नगरप्रमुखसँगको छलफलपछि स्थानीय बासिन्दा ससर्त पानढुंगामा फोहोर विसर्जनका लागि सहमत भएका हुन् ।

पानढुंगामा फोहोर फालेबापत नगरपालिकाले सल्लेदेखि उक्त ठाउँसम्म विद्युत् लाइन विस्तार गर्नुपर्ने, डेढ किमि खानेपानीको पाइप व्यवस्था गरिदिनुपर्ने र फोहोर व्यवस्थापनमा लाग्ने सबै जनशक्ति स्थानीयलाई नै परिचालन गर्न नगरपालिका तयार भएपछि फोहोर विसर्जनमा सहमति जुटेको हो । सहमतिपछि स्थानीय आफैं फोहोर व्यवस्थापनका लागि भनेर खाडल खन्ने र फोहोर गाड्ने काममा जुटेका छन् ।

स्थानीय रमेश खडकाले केही समयका लागि मात्रै पानढुंगामा फोहोर फाल्ने सहमति भएको बताए । स्थानीयले बसपार्क बनाउन भनेर उक्त ठाउँमा १९ रोपनी जमिन दिएका थिए । उक्त जमिन लामो समयसम्म फोहोर विसर्जन गर्न सम्भावना नहुने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?