२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

यार्सा बेच्न तिब्बती हाट

संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै तिब्बत जान थालेका हुन् ।
कान्तिपुर संवाददाता

डोल्पा — यार्सागुम्बा बेच्न यहाँका व्यापारी तिब्बत जान थालेका छन् । शुक्रबारदेखि क्याटो र छोग्रामा लाग्ने हाटबजारमा यार्सा बिक्री गर्न संकलक तिब्बत जान थालेका हुन् । पाटनमा धेरै व्यापारी नआएको र संकलनस्थलमा राम्रो भाउ नपाएको भन्दै संकलक तिब्बत जान थालेका हुन् ।

यार्सा बेच्न तिब्बती हाट

त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला, मुड्केचुला र काइके गाउँपालिकाबाट एक हजार बढी यार्सा संकलक तिब्बती बजार जान थालेका हुन् । केही संकलक आइतबार तिब्बत गएको र केही संकलक सोमवार हिंड्ने तयारीमा छन् ।

तिब्बती नाकामा व्यापारीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट १३ प्रहरीको टोली खटाइएको छ । उक्त टोलीसँगै नजिकैका प्रहरी चौकीका प्रहरीले हाटबजारस्थलमा सुरक्षा दिनेछन् । तिब्बतको क्याटो र छोग्रामा दुई सातासम्म हाटबजार लाग्ने गरेको छ । उक्त हाटबजारमा स्थानीयले यार्सा बेच्ने र दैनिक उपभोग्य सामग्रीको किनमेल गर्ने गरेका छन् । स्थानीय व्यावसायी धनचन्द्र बैजीले गतवर्ष यार्सा बिक्रीबाट राम्रै आम्दानी भएकाले यस वर्ष पनि राम्रो आम्दानी हुने आशा रहेको बताए ।

शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङका अनुसार सीमामा लामो समयदेखि हाटबजार लाग्दै आएको छ । ‘माथिल्लो डोल्पाका स्थानीयले यार्सागुम्बा लगायत जडिबुटी बेच्ने र त्यही रकमले वर्षभरि पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन्,’ उनले भने, ‘वर्षायाममा तिब्बतमा गरिने व्यापारबाटै हिउँदमा स्थानीयवासीको दैनिक उपभोग्य सामानको जोहो हुन्छ ।’

उक्त हाटबजारमा करिब दुई क्विन्टलको यार्साको व्यापार हुने उनको भनाइ छ । विदेशमा यार्सा सोझै निकासी गर्न नपाइने भए पनि तिब्बती नाका क्याटो र मरिम्लाबाट यार्सागुम्बा तिब्बत जाने गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?