१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्यालय पहिरोको जोखिममा

कान्तिपुर संवाददाता

सल्यान — अविरल वर्षाका कारण बाग्चौर नगरपालिकाको बांगेलाँखुरी नजिकै राप्ती लोकमार्ग एक मिटर तल भासिएको छ । सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्गाड खोलामा आएको बाढीका कारण पनि यातायात सेवा अवरुद्ध भएको छ ।

विद्यालय पहिरोको जोखिममा

प्रहरीका अनुसार बांगेलाखुरीमा सडक भासिएका कारण गाडी आउजाउमा समस्या भएपछि डोजर लगाई वारपार गराउँदै आएको प्रहरीले जनाएको छ । भारी वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ । जिल्लाभर करिब एक दर्जन सडकमा यातायात सेवा बन्द भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले बताए । उनका अनुसार यातायात सेवा बन्द भएपछि स्थानीयवासी घण्टौं हिंडेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् । अवरुद्ध भएका सडक खुलाउन विभिन्न स्थानमा डोजर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जनाए ।

त्यस्तै, पहिरोका कारण कालिका मावि कपुरकोटको भवन भासिएको छ । विद्यालयका तीनवटा भवन पहिरोसँगै भासिएपछि ठूलो क्षति पुगेको विद्यालयले जनाएको छ । बर्सेनि पहिरोले विद्यालयमा क्षति पुर्‍याउँदै आएको शिक्षकको भनाइ छ । कक्षाकोठामा बालबालिका बस्न नमिल्ने भएकाले बासको टहरा बनाई अढाई वर्ष कक्षा सञ्चालन गरिएको थियो ।

तीन वर्षअघि पनि एक विद्यालय भवन भासिएको थियो । आइतबार पहिरो रोक्न लगाइएको तारजाली बगाएपछि थप समस्या भएको विद्यालयले जनाएको छ । खेलकुद मैदानसँगै एक सय ७५ थान तारजाली बगाएको हो । पहिरोका कारण विद्यालयमा अध्ययनरत चार सय बालबालिका प्रभावित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवीर कुँवरले बताए । ‘पहिरो जाने क्रम जारी छ,’ उनले भने, ‘विद्यालय भासिंदै गएको छ ।’

विकका अनुसार कपुरकोट बजारसमेत पहिरोको उच्च जोखिममा परेको छ । जमिनमुनिबाट माटो बग्दै गएकाले बजार भासिने क्रम सुरु भएको हो । पहिरोले तारजाली बगाएपछि स्थानीय जागेश्वर गिरीको सुन्तला बगैंचा र माधव गिरीको टिमुर खेतीमा ठूलो नोक्सानी भएको छ ।

रोकिए यातायात
रुकुम पश्चिम–चौरजहारी नगरपालिकाको केन्द्र र त्यसको आसपास सवारीका साधन नचलेको दुई हप्ता हुन थाल्यो । वर्षा बढेसँगै उक्त ठाउँमा न सवारी भित्रिन्छन्, न त्यहाँबाट सवारीका साधन बाहिरिन्छन् । खोला नाला र पहिरोका कारण चौरजहारी उपत्यकाका सवारी साधन न बाहिरिन पाएका छन् न भित्रिन । चौरजहारी तीन सडकको केन्द्र हो ।

मध्यपहाडी लोकमार्ग, चौरजहारी–सल्ली सडक र चौरजहारी–थारमारे–सल्यान सडक चौरजहारीमा जोडिएका छन् । हरेक वर्षामा चौरजहारीमा सडक अवरुद्ध हुने गरेको छ । स्थानीयलाई सडक अवरुद्ध घएपछि विजयश्वरी डाँडामा रहेको नगरपालिकाको कार्यालय पुग्न समस्या भइरहेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जहारी खोलामा बन्नुपर्ने पुल नबनेपछि उक्त सडक भएर चौरजहारी आउने तथा बाहिर जाने सवारी ठप्प छन् । चौरजहारी–सल्लीबजार तथा चौरजारी–थारमारे सल्यान सडकमा पर्ने बाँसखोला र स्यानीपिप्ली खोला बढेका कारण सवारी साधन चल्न सकेका छैनन् । मुख्य सडक नै अवरुद्ध भएपछि अन्य वडा कार्यालयबाट नगरपालिकाको कार्यालय जाने सडक बन्द छ । नगरपालिकाले १४ वटै वडा कार्यालयमा सडक पुर्‍याएको भए पनि सबै अवरुद्ध छन् । सर्वसाधारण घण्टौं पैदलै हिंडेर कार्यालय पुग्न बाध्य छन् ।

आठबीसकोट नगरपालिकाको कार्यालय पुग्ने नगरभित्रका सडक अवरुद्ध छन् । त्यस्तै बाहिरबाट जाने सडक पनि ठप्प छ । जिल्ला सदरमुकाम खलंगाबाट बाँफिकोट गाउँपालिका हुँदै नगरपालिका केन्द्र पुग्ने सडक बन्द भएको लामो समय बितेको छ । उक्त सडक भएर नगरवबासी पनि नगरपालिकाको केन्द्र जाने गर्छन् । जाजरकोट भएर चिसापानी हुँदै राडी पुग्ने सडक पनि अवरुद्ध बनेको छ ।

ठाउँ–ठाउँमा झरेको पहिरोले सडक रोकेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । नेपालगन्जबाट वा सुर्खेतबाट जाजरकोट हुँदै नगरपालिका केन्द्र पुग्ने उक्त सडक पनि अवरुद्ध बनेको नगरप्रमुख केसीले बताए । ससाना पहिरा र खोलाले सडक अवरुद्ध गर्ने गरेको प्रमुख केसीको भनाइ छ ।

बाँफिकोट गाउँपालिका केन्द्र रहेको ४ नम्बर वडा कोटमा सजिलै गाडी पुग्दैन । सडक वरिपरिबाट झर्ने पहिराले दिनकै सवारी साधन रोक्ने गरेको छ । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदलै गाउँपालिका कार्यालय जान बाध्य छन् । वडा कार्यालयबाट नहुने कामका लागि गाउँपालिका कार्यालयसम्म पुग्नुपर्ने हुन्छ ।

जिल्लाका ६ स्थानीयमध्ये मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिकाको कार्यालयमा मात्र सजिलै पुग्न सकिन्छ । सानीभेरी गाउँपालिकाको कार्यालय पुग्न पनि सास्ती छ । मध्यपहाडी लोकमार्गमा झरिराख्ने पहिरोले गाउँपालिका कार्यालय जान समस्या भएको स्थानीयले बताए । मुसिकोट नगर र त्रिवेणी गाउँपालिकामा आउजाउ गर्ने स्थानीयले समेत सास्ती भोगिरहेका छन् ।

हिउँदमा बनाइएका सडक वर्षा लागेसँगै अवरुद्ध भएकाले ६ स्थानीय तहका अधिकांश सर्वसाधारणले दु:ख पाइरहेका छन् । ‘स्थानीय तह गाउँगाउँमा त छन्, तर हाम्रो सजिलै सम्बन्ध हुन सकिरहेको छैन,’ चौरजहारी नगरपालिका–१४, का झुपलाल ओलीले भने, ‘हिउँदमा सजिलै भए पनि वर्षाले नगरपालिका केन्द्र र हाम्रो सम्बन्ध पूरै टुटाइदिएको छ ।’

प्रकाशित : श्रावण २२, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?