वर्षामै खानेपानी अभाव

स्थानीयवासीले एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गरेका छन् ।
बिप्लब महर्जन

सल्यान — सिद्धकुमाख गाउँपालिका–५ राम्रीका बासिन्दालाई वर्षायाममै खानेपानी अभाव छ । स्थानीयले वर्षौंदेखि बाह्रै महिना खानेपानी समस्या भोग्न बाध्य छन् । स्थानीयवासीले एक घण्टा टाढाको मुहानबाट खानेपानीको जोहो गरेका छन् ।

वर्षामै खानेपानी अभाव

नजिकै खानेपानी मुहान नहुँदा स्थानीयलाई खानेपानी समस्या भएको हो । सरकारी निकायको बेवास्ताका कारण राम्री गाउँका ६० धरधुरीलाई सधैं खानेपानी समस्याले सताउने गरेको छ । पानीको लागि खोलामै पुग्नुपर्ने बाध्यता भएकाले स्थानीय सास्ती भोग्न बाध्य छन् । स्थानीय सीता कुमाईले आकाशको पानीको भर नहुने भएकाले आफूहरू सास्ती भोग्न बाध्य भएको बताइन् । उनका अनुसार वर्षातको पानी संकलन गरेर गाईबस्तुलाई खुवाउने गरिएको छ । पिउने पानीका लागि खोलामै झर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

वर्षाका कारण बाटो चिप्लो हुने गरेकाले थप समस्या भएको स्थानीयले जनाएका छन् । स्थानीयले हिउँदको महिना पानी अड्कलेर खानुपर्ने बाध्यता रहेको बताए । पानीका लागि खोला पुग्नुपर्ने बाध्यताले बालबालिकाको पढाइमा असर परेको स्थानीय निर्मला रोकाले बताइन् ।

‘आकाशबाट परेको पानी संकलन गरेर कपडा धुने, सरसफाइ गर्ने, पशुबस्तुलाई खुवाउने गरेका छौं,’ उनले भनिन्, ‘पिउने पानीका लागि खोलामा नझरी सुखै छैन ।’

उनका अनुसार पानीकै अभावका कारण गाउँका सबै शौचालय प्रयोगविहीन बनेका छन् । गाउँ नजिकका दुई मुहान सुकेपछि स्थानीयलाई सास्ती भएको हो । स्थानीय कमारो बुढाथोकीले खानेपानी अभावका कारण दैनिकी कष्टकर बनेको बताए ।

स्थानीयले पटकपटक विभिन्न निकायमा खानेपानी समस्या समाधानका लागि अनुरोध गरे पनि बेवास्ता भएको बताए । खानेपानी सवडिभिजन कार्यालयबाट गत वर्ष प्राविधिकको टोली आएर सर्भे गरेको थियो । बढी खर्च लाग्ने भन्दै सरकारी निकायले बेवास्ता गरेको उनले जनाए ।


पानीकै समस्याका कारण स्थानीयले बसाइसराइ गर्न थालेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?