१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अस्पताल तोडफोड

तीन दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त
अस्पतालले छानबिन समितिको प्रतिवेदन नआएसम्म अन्य कुनै विषयमा सहमति नहुने बताएको छ ।
हरि गौतम

रुकुम पश्चिम — उपचारका क्रममा महिलाको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको भन्दै चौरजहारी अस्पताल तोडफोड गरेका छन् । बिरामीका आफन्तले आन्दोलन गरेपछि तीन दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त बनेको हो ।

अस्पताल तोडफोड

आइतबार र सोमबार अस्पताल तोडफोडमा उत्रिएका मृतकका आफन्तलाई रोक्न प्रहरीले दुई दिनमा १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर गर्नुपर्‍यो । मृगौलाको संक्रमण भएपछि साउन १७ गते अस्पताल भर्ना भएकी भेरी नगरपालिका–१३, जाजरकोटकी २८ वर्षीया यशोदा मल्लको आइतबार मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीले सुई लगाएलगत्तै उनको मृत्यु भएपछि आफन्त गलत सुई प्रयोग गरेर बिरामीको मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । जानाजान स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु भएको दाबीसहित मृतकको आफन्तले आन्दोलनमै छन् ।


उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही, पीडित पक्षलाई उचित क्षतिपूर्तिको माग मृतकका आफन्तले गरेका छन् ।

अस्पतालले भने स्वास्थ्यकर्मीको लापरबाहीको कारण बिरामीको मृत्यु नभएको दाबी गरेको छ । नियमित उपचारअन्तर्गत लगाइएको सुई गलत नभएको दाबी अस्पतालका डा. कालेव बुढाले गरे । उनले यस घटनाका सम्बन्धमा हुने अनुसन्धान र छानबिनमा पूर्ण सहयोग गर्ने र त्यसपछि आउने प्रतिवेदनअनुसार अस्पताल अघि बढ्ने बताए ।

अस्पतालका अनुसार मृतक यशोदालाई घाउ सुकाउने एन्टिबायोटिक जोन र सेफिक्जिम सुई दिइएको त्यसको प्रतिक्रियामा विरामीमा घाउ खटिरा आएपछि एम्पिसिलिन सुई दिइएको थियो । एम्पिसिलिन सुई दिइएपछि यशोदाको मुटुको चाल बढेको अस्पतालले बताएको छ ।

बिरामीलाई च्यापेपछि उनका आफन्तले थप उपचारका लागि जिल्लाबाहिर लैजाने भनेर हेलिकप्टरसमेत बोलाएका थिए । हेलिकोप्टर चौरजहारी अवतरण भएपछि मात्रै अस्पतालले यशोदालाई मृत घोषणा गरेको थियो ।

उक्त घटना कारण यशोदाको शव उठेको छैन । भर्ना भएका अन्य बिरामीको पनि उपचार हुन सकेको छैन । समस्या समाधानका लागि भएको छलफल पनि बिना निष्कर्ष सकिएको छ । घटनाको छानबिन गर्ने छानबिन समिति बनाउन मृतकका आफन्त र अस्पताल सहमत भएप नि क्षतिपूर्तिको सम्बन्धमा उनीहरूबीच सहमति हुन सकेको छैन ।

मृतकका बालबच्चाको पठनपाठनका लागि क्षतिपूर्तिको माग आफन्तले गरेका छन् । अस्पतालले छानबिन समितिको प्रतिवेदन नआएसम्म अन्य कुनै विषयमा सहमति नहुने बताएको छ । सोमबारबाट सुरु भएको छलफलले मंगलबारसम्म निष्कर्ष निकाल्न सकेन । पीडितका तर्फबाट मृतक यशोदाका बुबा धनबहादुर मल्ल, ससुरा टीकाराम आरसीलगायत छन् ।


अस्पतालको तर्फबाट अस्पताल सञ्चालक संस्था मानव विकास तथा सामुदायिक संस्थाका स्वास्थ्य विभाग प्रमुख कपिल शर्मा, अस्पताल प्रशासक डिलबहादुर गिरी, डा. कालेब बुढालगायत सहभागी छन् । चौरजहारी अस्पतालमा तनाव बढेपछि रुकुमसहित जाजरकोटबाट पनि प्रहरी बोलाइएको छ ।

यसैबीच मृतकका आफन्तले जाजरकोट–छिन्चु सडकखण्ड अनिश्चितकालीन बन्द गरेका छन् । क्षतिपूर्ति नपाउँदासम्म शव नबुझ्ने र सडक बन्द गर्ने आफन्तको भनाइ छ । मृतकका आफन्तले कुदु जम्मा भएर सडक बन्द गराएका हुन् ।

प्रकाशित : श्रावण २३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?