३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चार दिनदेखि उपचार ठप्प

बिरामीको मृत्यु भएपछि अस्पतालमा विरोध र वार्ता दुवै जारी छ ।
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–९, का खिमबहादुर बुढा एपेन्डिसाइटिसको अप्रेसनका लागि चौरजहारी अस्पताल आए । तर अस्पतालमा भर्ना हुन पाएनन् । चौरजहारी–१, कै वविता विकलाई सुत्केरी व्यथा लागेपछि चौरजहारी अस्पताल पुर्‍याइयो । उनको पनि उपचार भएन ।

चार दिनदेखि उपचार ठप्प

अस्पतालमा भर्ना हुने अवस्था नभएपछि नेपालगन्ज जान हिँडेकी उनले बाटोमै बच्चा जन्माउनुपर्‍यो । जाजरकोट भेरी नगपालिकाको कुदु प्राथमिक स्वास्थ्य केन्द्रमा उनी सुत्केरी भइन् ।

उनीहरू मात्र होइन, चौरजहारी अस्पतालमा चार दिनदेखि उपचार ठप्प भएपछि बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ । जटिल तथा सामान्य बिरामीले चार दिनदेखि अस्पतालमा भर्ना हुन पाएका छैनन् । उपचारको क्रममा अस्पतालमै एक महिलाको ज्यान गएपछि अस्पतालमा उत्पन्न समस्या समाधान हुन सकेको छैन । साउन २० गतेदेखि अस्पतालमा विरोध, वार्ता र छलफल जारी छ ।

मृगौलाको संक्रमण भएर अस्पताल भर्ना भएकी भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यशोदा मल्ल आरसीको मृत्यु भएपछि अस्पतालमा तनाव सुरु भएको हो । मृगौलाको संक्रमण भएपछि श्रावण १७ गते अस्पताल भर्ना भएकी यशोदाको श्रावण २० गते मृत्यु भयो । स्वास्थ्यकर्मीले सुई लगाएलगत्तै उनको मृत्यु भएको थियो ।

आफन्तले गलत सुई प्रयोग गरेर बिरामीको मृत्यु भएको दाबी गरेका छन् । अस्पतालले गलत सुई नलगाएको दाबी गरेको छ । स्वास्थ्यकर्मीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरे । आइतबार र सोमबार अस्पताल र त्यस आसपासमा ठूलो प्रदर्शन भयो ।

प्रदर्शनका कारण अस्पतालका झ्याल, ढोका, मेसिन र औषधिमा क्षति पुगेको छ । तोडफोड रोक्न प्रहरीले दुई दिनमा १० राउन्ड अश्रुग्यास तथा चार राउन्ड हवाई फायर गरेको थियो । उपचाररत महिलाको मृत्यु भएपछि उत्पन्न समस्या समाधान हुन नसकेपछि बिरामीले उपचार नपाएका हुन् । भर्ना भएका बिरामीले पनि शय्या छाड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

आईसीयूमा राखिएको शव कुहिन थालेकाले समस्या भइरहेको बिरामीले बताएका छन् । स्वास्थ्यकर्मी तथा डाक्टर पहिले जस्तै उपचारका लागि शय्यामा नआउने गरेको गुनासो बिरामीको छ । ‘नहुनुपर्ने दु:खद् घटना घट्यो, त्यप्रति हामीलाई पनि दु:ख लागेको छ,’ एक बिरामीले भने, ‘त्यही कारणले हामी भर्ना भएका अरू बिरामीलाई समस्यामा कसैले पार्नुभएन ।’ अस्पतालका डाक्टर कालेब बुढाले अस्पतालमा उत्पन्न परिस्थितिका कारण बिरामी भर्ना र भर्ना भएका बिरामीको उपचार हुन नसकिरहेको बताए । ‘समस्या छ, हामीले बिरामी हेर्न पाएका छैनौं,’ उनले भने, ‘२० गतेदेखि नै शव नउठ्दा रोगको प्रकोप फैलने सम्भावना पनि बढ्दै छ ।’

पीडित पक्ष र अस्पताल प्रशासन आफ्नै अडानका कारण समस्या समाधान हुन नसकेको हो । मंगबालर तीन पटक दुवै पक्षबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो । बुधबार छलफल हुन सकेन । घटना छानबिनका लागि छानबिन समिति बनाउने विषयमा दुवै पक्ष सहमत भए पनि क्षतिपूर्तिको विषयमा कुरा मिल्न सकेको छैन । पीडित पक्षले छानबिन समिति पनि बनाउने र मृतकका बालबालिकाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ । अस्पताल प्रशासन भने छानबिन समितिको प्रतिवेदनअनुसार अघि बढ्ने अडानमा कायमै छ ।

पीडिततर्फका टीकाराम आरसीले मृतकका बालबच्चाको पठनपाठनका लागि अस्पतालले क्षतिपूर्ति नदिएसम्म छलफल नगर्ने बताए ।

अस्पताल प्रशासक डिलबहादुर गिरीले छानबिन समिति बनाएर घटनाको छानबिन गर्नुपर्ने बताए । छानबिन समितिको प्रतिवेदन नआइ क्षतिपूर्तिका विषयमा सोच्न नसकिने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?