किसानले छाडे कपास खेती

नगदे र अन्नबालीबाट राम्रो फाइदा हुने भएपछि कपास खेती छाडेको स्थानीयको भनाइ छ ।
राजबहादुर शाही

मुगु — यहाँका ग्रामीण क्षेत्रमा कपास खेती गर्न छोडिएको छ । सोरु गाउँपालिकाको जिमा, नार्थपु ,फोतु, रारा भीई र कालैमा राम्रो कपास उत्पादन हुने भए पनि किसानले छोडेका छन् । दु:ख बढी तर आम्दानी घट्दै गएकाले किसानले कपास खेती छोडेका हुन् ।

किसानले छाडे कपास खेती

यहाँका पाखो जमिनमा कपास खेती हुँदै आएको थियो । दशक अघिसम्म गाउँमा उत्पादन भएको कपास सहरी क्षेत्रमा पठाएर प्रशोधन गरी कपडाको रूपमा प्रयोग गरिन्थ्यो । कपास खेती हटेसँगै ग्रामीण क्षेत्रमा परम्परागत कपडाको प्रयोग हुन छाडेको छ ।

सहरी क्षेत्रबाट तयारी कपडा भित्रन थालेपछि स्थानीयले कपास खेती गर्न छाडेका हुन् । सोरु गाउँपालिका–४, लिब्रुका भक्तबहादुर शाहीले अहिले गाउँमा कपास खेती हुन छाडेको बताए । ‘उत्पादन गर्न धेरै मेहनत लाग्ने तर आम्दानी कम हुने भएकाले कपास खेती गर्न छाडिएको छ,’ उनले भने, ‘रेडिमेट कपडाले पनि कपास खेती ओझेलमा पर्‍यो ।’ उनका अनुसार दुई दशक अघिसम्म नेपालगन्जमा कपास बेचेर स्थानीयले त्यही रकमले कपडा किन्ने गरेका थिए ।

कपासको धागोबाट बनेका कपडा टिकाउ र गुणस्तरीय हुने गरेको उनको भनाइ छ । कपास खेती छोडिए पनि केही वृद्धले अहिले पनि कपासबाटै उत्पादित कपडा प्रयोग गर्ने गरेको उनको भनाइ छ । कपासको बियाबाट तेलसमेत उत्पादन हुने गरेको थियो । कपासको तेल पनि राम्रो मूल्यमा बिक्री हुने गरेको उनको भनाइ छ । केही वर्ष अघिसम्म फोतु, नार्थपु, जिमा गाउँका अधिकांश क्षेत्रमा वैशाख महिनामा कपास खेती हुन्थ्यो ।

कार्तिकमा उत्पादन भएको कपास काठको मेसिनले प्रशोधन गरी गाउँमै कपडा उत्पादन समेत हुने गरेको थियो । नगदे र अन्नबालीबाट राम्रो फाइदा हुने भएपछि कपास खेती छाडेको स्थानीयको भनाइ छ । खडेरीका कारण पनि कपास खेती ओझेलमा परेको सोरु–३ का वडाअध्यक्ष लालु धामीले बताए । उनका अनुसार कपास खेती गरिने पाखोमा अहिले कोदो, सिमी, मास, काउनी, चिनो लगायतका बाली लगाउन थालिएको छ । ‘पाँच वर्षअघिसम्म यहाँका अधिकांश पाखामा कपासमात्र खेती गरिन्थ्यो,’ उनले भने, ‘आजभोलि अन्य बालीले बारी ढाकेको छ ।’

कपास उत्पादन राम्रो हुने भएकाले प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने योजना गाउँपालिकाको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा चामल ज्यालामा कपास खेतीका लागि केही वर्षअघि बगैंचा तारबार कार्यक्रम सञ्चालन गरिएको थियो । बीउ, प्रविधि, रोग–किरा नियन्त्रण लगायतमा समस्या भएपछि कार्यक्रम बीचैमा अलपत्र परेको थियो । गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सोरुमा सबैभन्दा बढी कपास उत्पादन हुने भएकाले प्रवद्र्धनका लागि योजना बनाइएको बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?