कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जमरा जुस उत्पादन

नियमित सेवन गर्नेको संख्या बढ्यो
एलपी देवकोटा

जुम्ला — जमराको जुस उत्पादन हुन थालेपछि नियमित सेवन गर्नेको संख्या बढ्दै गएको छ । चन्दननाथ नगरपालिका–८, जातिभिडकी कमला बुढथापाले जमराको जुस उत्पादन थालेकी छन् । एक वर्षदेखि आफ्नो पतिलाई मधुमेह भएपछि यसको उत्पादन सुरु गरेको उनले बताइन् ।

जमरा जुस उत्पादन

केही समयदेखि व्यावसायिक रूपमा जमराको जुस उत्पादन गर्न थालेको उनको भनाइ छ । उनका पति खड थापा सुगर रोगले सिकिस्त भएपछि चिकित्सकको सल्लाह बमोजिम नियमित रूपमा जमराको जुस खुवाउन थालेकी थिइन् ।

दैनिक ५ एमएल जुस खुवाउँदा उनलाई निको भएपछि व्यावसायिक उत्पादन थालेको उनको भनाइ छ । ‘जुम्लामा सुगर र प्रेसरका बिरामी धेरै भएकाले व्यावसायिक रूपमै उत्पादन गरिरहेकी छु,’ उनले भनिन्, ‘जुस पिउनकै लागि दैनिक २० जनासम्म ग्राहक आउने गरेका छन् ।’ उनले चन्दननाथ मन्दिर अगाडि बिहान ६ बजेदेखि ८ बजेसम्म जुस बेच्दै आएको बताइन् ।

रोगसँग लड्ने क्षमता बढी हुने भएकाले धेरै बिरामीका लागि जमराको जुस उपयोगी हुने चिकित्सकको भनाइ छ । आयुर्वेद चिकित्सक रमेश केसीले सु्गर, प्रेसर, मोटोपनाका लागि जमराको जुस राम्रो मानिने बताए । ‘जमराको जुस आयुर्वेदिक पद्धतिमा भरपर्दो मानिएको छ,’ डा. केसीले भने, ‘यसमा आल्मुनियम, म्याग्निसियम, माइक्रोन्युटेन लगायतको मात्र बढी हुने भएकाले बहुउपयोगी छ ।’ उनले केही स्वास्थ्य समस्या नियमित जमराको जुसको सेवनका कारण निको हुने बताए ।

उनले महिलाका लागि समेत यो उपयोगी भएको बताए । महिलाको सेतोपानी बग्ने, पाठेघरको क्यान्सर हुने जस्ता समस्या जमराको जुसबाट निदान हुने केसीको भनाइ छ । ‘एक जना व्यक्तिले दैनिक ५ एमएल जुस पिउन उपयोगी मानिन्छ,’ उनले भने ।

नियमित रूपमा जमराको जुस पिउँदा फाइदा पुगेको स्थानीय मानबहादुर खत्रीले बताए । जमराको जुसको उपयोगिता थाहा पाएपछि आफूले पनि नियमित सेवन गर्ने गरेको स्थानीय जय श्रेष्ठले बताए । ‘जुसको बारेमा प्रचारप्रसार भए धेरै बजार पाउनेछ,’ उनले भने, ‘बजारमा बिक्रीका लागि ल्याएको एक हप्तामै २० जनाले नियमित जुस पिउने गरेका छौंं ।’ जमराको जुस ताजा हुने भएकाले बिहान चियाको विकल्पमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?