पहिरो पीडितलाई राहत हस्तान्तरण

भीमबहादुर सिंह

जाजरकोट — गत आइतबार पहिरोमा आफन्त गुमाएका परिवारलाई एक लाखका दरले राहत सहयोग उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाका आफन्तलाई उक्त राहत उपलब्ध गराएका हुन् । 

पहिरो पीडित परिवारलाई राहत हस्तान्तरण गर्दै जाजरकोटका प्रजिअ ललितकुमार बस्नेत । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर । 

भेरी नगरपालिका–३ ठाँटीबजारमा पहिरोले दुई घर पुरिँदा मृत्यु भएका ८ बालबालिकासहित ९ जनाका पीडित परिवारलाई उक्त राहत दिएको हो । प्रजिअ बस्नेतले पीडितहरुले आश्रय लिएको बृद्धाश्रममा पुगेर चेक हस्तान्तरण गरेका हुन् । पहिरोले घर पुरिएर विस्थापित भएका पत्रकार तीर्थ बोहरा र गोपाल सुनारलाई तत्काल व्यवस्थापनका लागि १०/१० हजार नगदसमेत हस्तान्तरण गरेको प्रजिअ बस्नेतले बताए ।

Yamaha

त्यस्तै कर्णाली प्रदेश सरकारले पीडित परिवारलाई एक मृतकको २५ हजार दरले रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले २० हजार बराबरका खाद्य सामग्री पनि वितरण गरेको प्रजिअ बस्नेतले बताए ।
भेरी नगर कार्यपालिकाले मृतकका आफन्तलाई ३० हजार र कुशे गाँउपालिकाले पनि ४ जना मृतकका आफन्तलाई २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भेरी नपाले घाइते लालबहादुर लुहारको उपचारका लागि २० हजार दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए ।
कुशे गापाले पीडित परिवारलाई तत्काल राहतका लागि भाडाँकुडाँ, दाल, चामल, नून, तेल, कम्बल लगायतका सामग्री वितरण गरेको उपाध्यक्ष रामछाया शाहीले बताइन् ।

त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन जाजरकोटले प्रतिपरिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन र १ कम्बलका दरले राहात उपलब्ध गराएको बताए । नेपाल रेडक्रस, उद्योग बाणिज्य संघ लगायत संघसंस्थाले पनि राहत सामग्री उपलब्ध गराएका छन् । पत्रकार बोहरालाई नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले १० हजार, अर्थसरोकार अनलाइनले ५ हजार ५ सय ५५, मिरमिरे अनलाइनले ५ हजार १ सय र गर्जनपोष्ट साप्ताहिकले ५ हजार ५ सय सहयोग गरेका छन् ।

पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको थियो । घटनामा परेका लालबहादुर लुहारको जीवित उद्धार गरिएको थियो । पहिरोले घर भत्किँदा पुरिएका १२ वर्षीय गोविन्द परियारको शव अझै निकाल्न सकिएको छैन ।

Esewa Pasal

प्रकाशित : श्रावण २४, २०७५ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

आनन्द गौतम

ताप्लेजुङ — विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । 


गृह मन्त्रालयले बिदाको सूचना नपठाएपछि संघीय सरकार अन्तरगतका जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी लगायतका कार्यालय खुलेका हुन।

बिहान ११ बजेसम्म कुनै कार्यालयमा पनि सेवाग्राही भने आएका छैनन्। कसको आदेश मान्ने अन्योलमा रहेका संघीय सरकार अन्तर्गतका कर्मचारी विदाको विषयमा खुलेर बोल्न सकेका छैनन्।

बिदा गरे केन्द्रबाट सम्पर्क गरे वा कुनै तथ्यांक खोजे के जवाफ दिने भन्ने समस्याका कारण कार्यालय खुलाएका कर्मचारीलाई प्रदेशको निर्णय नमानेको आरोप लाग्न सक्ने समस्या देखिएको छ। त्यसैले पनि उनीहरु खुलेर बोल्न सकेका छैनन्।

स्थानीय तह, शैक्षिक संस्था भने बन्द रहेका छन्। प्रदेश सरकारले आदिवासी दिवस, जनैपूर्णिमा र छठ पर्वमा विदा दिने निर्णय गरेको छ। कृष्ण जन्माष्टमी रथयात्राको दिन मोरङ र सुनसरीमा सार्वजनिक बिदाको निर्णय गरेको छ। तर, केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा सेवा प्रवाह गर्ने कार्यालय नै समस्यामा परेका छन्।

प्रकाशित : श्रावण २४, २०७५ ११:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT