कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पहिरो पीडितलाई राहत हस्तान्तरण

भीमबहादुर सिंह

जाजरकोट — गत आइतबार पहिरोमा आफन्त गुमाएका परिवारलाई एक लाखका दरले राहत सहयोग उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाका आफन्तलाई उक्त राहत उपलब्ध गराएका हुन् । 

पहिरो पीडितलाई राहत हस्तान्तरण

भेरी नगरपालिका–३ ठाँटीबजारमा पहिरोले दुई घर पुरिँदा मृत्यु भएका ८ बालबालिकासहित ९ जनाका पीडित परिवारलाई उक्त राहत दिएको हो । प्रजिअ बस्नेतले पीडितहरुले आश्रय लिएको बृद्धाश्रममा पुगेर चेक हस्तान्तरण गरेका हुन् । पहिरोले घर पुरिएर विस्थापित भएका पत्रकार तीर्थ बोहरा र गोपाल सुनारलाई तत्काल व्यवस्थापनका लागि १०/१० हजार नगदसमेत हस्तान्तरण गरेको प्रजिअ बस्नेतले बताए ।


त्यस्तै कर्णाली प्रदेश सरकारले पीडित परिवारलाई एक मृतकको २५ हजार दरले रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले २० हजार बराबरका खाद्य सामग्री पनि वितरण गरेको प्रजिअ बस्नेतले बताए ।

भेरी नगर कार्यपालिकाले मृतकका आफन्तलाई ३० हजार र कुशे गाँउपालिकाले पनि ४ जना मृतकका आफन्तलाई २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भेरी नपाले घाइते लालबहादुर लुहारको उपचारका लागि २० हजार दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए ।

कुशे गापाले पीडित परिवारलाई तत्काल राहतका लागि भाडाँकुडाँ, दाल, चामल, नून, तेल, कम्बल लगायतका सामग्री वितरण गरेको उपाध्यक्ष रामछाया शाहीले बताइन् ।


त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन जाजरकोटले प्रतिपरिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन र १ कम्बलका दरले राहात उपलब्ध गराएको बताए । नेपाल रेडक्रस, उद्योग बाणिज्य संघ लगायत संघसंस्थाले पनि राहत सामग्री उपलब्ध गराएका छन् । पत्रकार बोहरालाई नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले १० हजार, अर्थसरोकार अनलाइनले ५ हजार ५ सय ५५, मिरमिरे अनलाइनले ५ हजार १ सय र गर्जनपोष्ट साप्ताहिकले ५ हजार ५ सय सहयोग गरेका छन् ।


पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको थियो । घटनामा परेका लालबहादुर लुहारको जीवित उद्धार गरिएको थियो । पहिरोले घर भत्किँदा पुरिएका १२ वर्षीय गोविन्द परियारको शव अझै निकाल्न सकिएको छैन ।

प्रकाशित : श्रावण २४, २०७५ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?