बिरामीले विद्यालय बन्द

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जनकल्याण माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–९, पुरानागाउँले कक्षा ७ र ८ को पठनपाठन केही समयका लागि बन्द गरेको छ । विभिन्न लक्षण देखिँदै विद्यार्थी बिरामी हुन थालेपछि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

बिरामीले विद्यालय बन्द

कक्षा ७ र ८ का छात्राहरू एक्कासि रुने, कराउने, चिच्याउने र अचेत हुने क्रम नरोकिएपछि बाध्य भएर विद्यालय नै बन्द गर्नुपरेको शिक्षक बलबहादुर खत्रीले बताए । तीन महिनाअघि देखिएको समस्या समाधान हुनुको साटो अन्य छात्रामा पनि सरेपछि पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक खत्रीले बताए । गाउँपालिकासँगको सल्लाहमा ७ र ८ कक्षाको पठनपाठन बन्द गरिएको हो ।


विद्यालयमा यसअघि पनि नियमित हुन सकेको थिएन । कक्षा ७ र ८ मा अध्ययन गर्ने छात्रा बिरामी पर्ने भएपछि अरु कक्षाका विद्यार्थीहरू समेत त्रासमा पर्ने गरेका थिए । बिरामी विद्यार्थीको व्यवस्थापनमा सबै खटिनुपर्ने भएकाले अरू कक्षाको पठनपाठनमा असर पर्ने गरेको थियो । अन्य कक्षाको पठन पाठनमा असर नपरोस् भनेर २ वटा कक्षाको पठन पाठन बन्द गरिएको शिक्षक खत्रीले बताए । हरेक दिन १२ बजेदेखिपछि विद्यार्थीमा समस्या देखिने गरेको थियो । ७ र ८ कक्षाका १६ जना छात्राहरूमा उक्त समस्या दोहोरिएर देखिने गरेको छ ।


त्यस अघि पनि केही विद्यार्थीमा यस्तो लक्षण देखिए पनि श्रावण १४ गतेदेखि धेरै छात्रामा यस्तो समस्या सुरु भएको उनले बताए । यसअघि बिरामी भएकै छात्रामा समस्या दोहोरिरहन थालेपछि थप विद्यार्थीलाई उक्त समस्याबाट बचाउन कक्षाको पठनपाठन नै बन्द गरिएको हो । विद्यार्थीमा समस्या देखिएपछि विद्यालयमै आराम गराउने, हावाको व्यवस्था गरिदिनेबाहेक अरू उपचार हुन सकेको छैन । यस विषयमा जानकारी गराउँदा गाउँपालिका, शिक्षा समन्वय शाखा कसैले पनि वास्ता नगरेको गुनासो विद्यालयको छ । उक्त विद्यालय हाल विद्यालय व्यवस्थापन समिति विहीन छ । पुरानो समितिले राजीनामा दिएपछि नयाँ समिति गठन नै हुन सकेको छैन ।


यो सहित यस विद्यालयका विद्यार्थी तथा यो विद्यालयले यस्तो समस्या दुई पटक भोग्दै छ । यसअघि गत जेठ महिनाभर पनि केही छात्रामा यस्तो समस्या देखिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?