मृतकका परिवारलाई १ लाख

कर्णाली प्रदेश सरकारले प्रतिमृतक २५ हजारका दरले पीडित परिवारलाई राहत उपलब्ध गराएको छ
भीमबहादुर सिंह

जाजरकोट — पहिरोमा परी ज्यान गुमाएकाका पीडित परिवारलाई एक लाख रुपैयाँका दरले राहत सहयोग उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाको परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

मृतकका परिवारलाई १ लाख

भेरी नगरपालिका–३, ठाटीबजार पहिरोमा दुई घर पुरिदा मृत्यु भएका ८ बालबालिकासहित ९ जनाका पीडित परिवारलाई राहत दिइएको हो । प्रजिअ बस्नेतले पीडितले आश्रय लिएर बसिरहेको वृद्धाश्रममै पुगेर एक/एक लाखको चेक हस्तान्तरण गरे ।


पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तीर्थ बोहरा र गोपाल सुनारलाई तत्काल व्यवस्थापनका लागि १०/१० हजार नगद समेत हस्तान्तरण गरेको बस्नेतले बताए ।


त्यस्तै, कर्णाली प्रदेश सरकारले प्रतिमृतक २५ हजारका दरले पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले दाल, चामल, नुन, तेल, चिउरा लगायतको झन्डै २० हजार बराबरका सामग्री पनि पीडित परिवारलाई वितरण गरिएको छ ।


भेरी नगर कार्यपालिकाले सबै मृतकका आफन्तलाई ३० हजार र कुशे गाउँपालिकाले पनि चार जना मृतकका आफन्तलाई प्रतिमृतक २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भेरीले घाइते लालबहादुर लुहारको उपचारका लागि २० हजार दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । कुशेले पहिरो पीडित परिवारलाई तत्काल राहतका लागि भाँडाकुँडा, दाल, चामल, नुन, तेल, कम्मल लगायत सामग्री वितरण गरेको उपाध्यक्ष रामछाया शाहीले बताइन् ।


नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष डम्मर बिष्टले संगठनका तर्फबाट प्रति परिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई किलो चिउरा, एक लिटर तेल, एक केजी नुन र कम्बल उपलब्ध गराएको बताए । नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ लगायत संघसंस्थाले पनि पीडित परिवार राहत सामग्री उपलब्ध गराएका छन् ।


पहिरो पीडित पत्रकार तीर्थराज बोहरालाई नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले १० हजार, अर्थसरोकार अनलाइनले ५ हजार ५ सय ५५, मिरमिरे अनलाइनले ५ हजार १ सय र गर्जनपोस्ट साप्ताहिकले ५ हजार ५ सय सहयोग गरेका छन् । पहिरोमा परेका लालबहादुर लुहारको जीवित उद्धार गरिएको थियो । पहिरोले घर भत्किँदा पुरिएका १२ वर्षीय गोविन्द परियारको शव निकाल्न सकिएको छैन ।

प्रकाशित : श्रावण २५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?