नेकपा प्रवक्ता पक्राउको विरोध 

कान्तिपुर संवाददाता

कालिकोट — सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता एवं स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेकोमा कालिकोटवासीले विरोध जनाएका छन् ।

कालिकोटको मान्ममा गत माघमा स्थानीयवासीलाई पार्टीमा लाग्न आह्वान नेकपाका नेता खड्गबहादुर विश्वकर्मा । फाइल तस्विर : तुलाराम/कान्तिपुर

नरहरिनाथ–६, माल्कोट घर भएका विश्वकर्मालाई पक्राउ गरेकोमा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयले विरोध गरेका हुन् । विश्वकर्मा ०६४ को संविधानसभा निर्वाचनमा २७ हजार ल्याएर विजयी भएका थिए । उनी माओवादी केन्द्रको तर्फबाट महिला बालबालिका तथा समाज कल्याणमन्त्री र पर्यटन तथा नागरिक उडड्नमन्त्री समेत भएका थिए ।

Yamaha


अगुवाहरुले सामाजिक सञ्जाल फेसबुक, स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीमार्फत विरोध जनाएका हुन् । पाका राजनीतिज्ञ प्रेमबहादुर सिंहले सामाजिक सञ्जालमार्फत राजनैतिक समस्याको हल राजनीतिक रुपमा खोज्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले फेसबुकमा विश्वकर्माको फोटो राख्दै कडा प्रतिक्रिया दिएका छन् । ‘दुला भित्रको सर्पसँग जिस्किँदा राम्रो प्रतिक्रिया कुनै कालखण्डमा भएको छैन,’ बमले भनेका छन्, ‘बिना शर्त रिहा गरेकै राम्रो ।’

त्यस्तै, तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले दमनबाट विस्फोट हुन्छ भन्ने सरकारले बुझ्नुपर्छ भनेर प्रतिक्रिया दिएका छन् । पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले विश्वकर्मालाई प्रक्राउ गर्नु राम्रो संकेत नभएको बताउँदै बिनाशर्त रिहा गर्न माग गरेका छन् । नेकपाका नेता दुर्गाप्रसाद काफ्लेले कालिकोटमा परिवर्तन र बलिदानीका लागि विश्वकर्माले धेरै त्याग गरेको जनाए । ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी लगाउनु अपराध हो,’ उनले भने, ‘सरकारले बिना शर्त रिहा गर्नुपर्छ ।’

उनको गिरफ्तारीमा कांग्रेस नेताले पनि विरोध जनाएका छन् । कांग्रेस सहसचिव दमनबहादुर शाहीले सरकारले विश्वकर्मालाई गिरफ्तारी गरेर 'बहादुरी' देखाएको बताए ।

गैसस महासंघ कालिकोटका अध्यक्ष वीरेन्द्रवहादुर बुढाले लोकतन्त्र र अग्रगमनका लागि लडेका योद्धालाई फरक विचार राखेको आधारमा हातमा हत्कडी लगाएर राख्नु कदापि राम्रो मान्न सकिँदैन बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नूरप्रसादको घरमा म्याद तामेल   

कान्तिपुर संवाददाता

गोरखा — कृष्णप्रसाद अधिकारी हत्यामा जाहेरी दिएका नूरप्रसाद अधिकारीको गण्डकी गाउँपालिका–३ फुजेल चमती गाउँको घरमा म्याद तामेल गरिएको छ ।


चितवन जिल्ला अदालतले जाहेरीवाला नूरप्रसादलाई आगामी भदौ ४ मा वकपत्रका लागि आउन आग्रह गरेको म्याद तामेलीपत्र बुधबार घरमा टाँसिएको हो। म्याद टाँस्न गोरखा अदालतका तामेलदार फुजेल पुगेका थिए।

‘बुधबार मान्छे नभेटिएपछि घरमा म्याद तामेल गर्‍यौं,’ जिल्ला अदालतका स्रेस्तेदार गोविन्द आचार्यले शुक्रबार भने, ‘चितवन अदालतबाट भदौ ४ गतेअघि नै म्याद तामेल गर्नु भन्ने थियो।’ सामान्यतया म्याद तामेल सम्बन्धित व्यक्ति, सम्बन्धित व्यक्ति नभेटे उनका परिवारलाई दिने, परिवार पनि नभेटे घरमा टाँस गर्ने र घर पनि नभए सार्वजनिक स्थानमा टाँस्ने प्रक्रिया छ।

सम्बन्धित व्यक्ति र एकाघरका मान्छे नभेटिएपछि घरको दैलोमा म्याद तामेल गरिएको हो। गोरखा जिल्ला अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापा फुजेलस्थित अधिकारीको घर पुगेर वडाध्यक्ष नवराज श्रेष्ठलगायत स्थानीयको रोहवरमा म्याद तामेल गरिएको उनले बताए।

म्याद तामेलीको पत्र एक प्रति घरमा टाँसिएको, एक प्रति वडाध्यक्षलाई दिइएको र एक प्रति चितवन जिल्ला अदालतमा पठाइएको छ। २०६१ सालमा छोरा कृष्णप्रसादको हत्या भएपछि नन्दप्रसाद र गंगामाया अधिकारीले २०६४ मंसिरमा गाउँ छाडेका थिए। छोराको हत्या गर्नेलाई कारबाहीको माग गर्दै अनशन बसेका नन्दप्रसादको मृत्यु भइसकेको छ।

सरकारसँगको सहमतिपछि गंगामायाले हालैमात्र लामो अनशन तोडेकी छन्। बेपत्ता रहेका अर्का छोरा नूरप्रसादलाई प्रहरीले खोजी गरेर गंगामायासँग राजधानीमा भेट गराएको छ। ११ वर्षयता अधिकारी परिवार नफर्किएकाले घर र गोठ जीर्ण छन्। आँगनमा झार उम्रिएको छ।

प्रकाशित : श्रावण २५, २०७५ १८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT