१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपा प्रवक्ता पक्राउको विरोध 

कान्तिपुर संवाददाता

कालिकोट — सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता एवं स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेकोमा कालिकोटवासीले विरोध जनाएका छन् ।

नेकपा प्रवक्ता पक्राउको विरोध 

नरहरिनाथ–६, माल्कोट घर भएका विश्वकर्मालाई पक्राउ गरेकोमा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयले विरोध गरेका हुन् । विश्वकर्मा ०६४ को संविधानसभा निर्वाचनमा २७ हजार ल्याएर विजयी भएका थिए । उनी माओवादी केन्द्रको तर्फबाट महिला बालबालिका तथा समाज कल्याणमन्त्री र पर्यटन तथा नागरिक उडड्नमन्त्री समेत भएका थिए ।


अगुवाहरुले सामाजिक सञ्जाल फेसबुक, स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीमार्फत विरोध जनाएका हुन् । पाका राजनीतिज्ञ प्रेमबहादुर सिंहले सामाजिक सञ्जालमार्फत राजनैतिक समस्याको हल राजनीतिक रुपमा खोज्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले फेसबुकमा विश्वकर्माको फोटो राख्दै कडा प्रतिक्रिया दिएका छन् । ‘दुला भित्रको सर्पसँग जिस्किँदा राम्रो प्रतिक्रिया कुनै कालखण्डमा भएको छैन,’ बमले भनेका छन्, ‘बिना शर्त रिहा गरेकै राम्रो ।’


त्यस्तै, तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले दमनबाट विस्फोट हुन्छ भन्ने सरकारले बुझ्नुपर्छ भनेर प्रतिक्रिया दिएका छन् । पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले विश्वकर्मालाई प्रक्राउ गर्नु राम्रो संकेत नभएको बताउँदै बिनाशर्त रिहा गर्न माग गरेका छन् । नेकपाका नेता दुर्गाप्रसाद काफ्लेले कालिकोटमा परिवर्तन र बलिदानीका लागि विश्वकर्माले धेरै त्याग गरेको जनाए । ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी लगाउनु अपराध हो,’ उनले भने, ‘सरकारले बिना शर्त रिहा गर्नुपर्छ ।’


उनको गिरफ्तारीमा कांग्रेस नेताले पनि विरोध जनाएका छन् । कांग्रेस सहसचिव दमनबहादुर शाहीले सरकारले विश्वकर्मालाई गिरफ्तारी गरेर 'बहादुरी' देखाएको बताए ।


गैसस महासंघ कालिकोटका अध्यक्ष वीरेन्द्रवहादुर बुढाले लोकतन्त्र र अग्रगमनका लागि लडेका योद्धालाई फरक विचार राखेको आधारमा हातमा हत्कडी लगाएर राख्नु कदापि राम्रो मान्न सकिँदैन बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?