कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फेरिँदै गमगढी

सडकका कारण निर्माण सामग्री ल्याउन सहज भएपछि पक्की घर बनाउन स्थानीयबीच प्रतिस्पर्धा
राजबहादुर शाही

मुगु — सडक र पूर्वाधार विकाससँगै सदरमुकाम गमगढी बजारमा व्यावसायिक गतिविधि बढ्न थालेका छन् । बजारमा नयाँ घर बनाउने र जग्गा खरिद गर्ने क्रम बढेको छ । परम्परात घर विस्थापित हुँदै गएका छन् । पक्की घर निर्माणले गति लिएको छ ।

फेरिँदै गमगढी

सडकका कारण निर्माण सामग्री ल्याउन सहज भएपछि पक्की घर बनाउन स्थानीयबीच प्रतिस्पर्धा हुन थालेको छ । सदरमुकाममा मुख्य चोकमा पसल र होटल गर्नेको संख्या बढ्दै गएपछि आर्थिक गतिविधि पनि बढ्न थालेको हो । गमगढी बजारमा चौबीसै घण्टा विद्युत् सुविधा पुगेकाले व्यवसाय सञ्चालनमा सजिलो भएको व्यवसायी बताउँछन् ।

श्रीनगर छत्यालबाडाका अगुवा गगनबहादुर मल्लले पाँच दशकअघिको गमगढी र अहिलेको गमगढी कल्पनाबाहिरै रहेको बताए । उनका अनुसार ५ दशकअघि गमगढीमा मुस्किलले १० घर मात्र थिए । ‘हाम्रो उमेर छिप्पिँदै गयो, विकासले पनि कोल्टे फेर्‍यो,’ उनले भने,‘बाँझो जमिन र सल्लाका रूखैरूख रहेको बजारमा अहिले घरै घर बनेका छन् ।’

२०४० अघि खरको छाना भएका घरमा मालपोत, बैंक, अदालतलगायत सरकारी कार्यालयहरू स्थापना गरिएका छन् । अहिले सबैजसो सरकारी कार्यालय आफ्नै पक्की घरमा सरेका छन् । गमगढीमा २०६९ मा सडक यातायात सुविधा पुगेपछि पक्की घर निर्माणले तीव्रता पाएको हो ।

पश्चिमको चैन बालै गाउँ हुँदै पूर्वतर्फ रेडक्रस मार्ग, उत्तरको ठिनी अस्पताल र दक्षिण तलितुम गाउँसम्म बजार विस्तारको क्रमले तीव्रता पाएको छ । अहिले गमगढी बजारमा मात्रै ४ सय बढी घर निर्माण भएका छन् । जिल्लामै ४ सय किलोवाटको गमगाढी साना जलविद्युत्बाट उत्पादन भएको बिजुलीले बजारको पूरै माग धानेको छ । विद्युत् सेवा पुगेपछि घरेलु उद्योग स्थापना हुन थालेका छन् ।

अहिले ताल्चा विमानस्थल कालोपत्रे भइसकेको छ । तिब्बत जोड्ने सडकको निर्माण भइरहेकाले चिनियाँ सीमासम्म सडक यातायात जोडिए विकासले फड्को मार्ने स्थानीयको भनाइ छ । विकास निर्माणले गति लिएसँगै घरजग्गाको भाउ अकासिएको छ । नयाँ रोडमा प्रतिमिटर ५ लाखमा जग्गा किनबेच हुने गरेको व्यवसायीको भनाइ छ ।

स्थानीयवासीबीच सदरमुकाममा घरजग्गा जोड्ने र व्यवसाय गर्ने होडबाजी नै चलेको छ । तराईका व्यापारिक केन्द्रको भाउमै दैनिक उपभोग्य सामग्री पाइन थालेको छ । ‘पहिले हामी दिपायल पुगेर नुन, तेल, चामल लगायतका उपभोग्य वस्तु ल्याउँथ्यौं,’ रुगा गाउँका छयात्ते लावडले भने, ‘अहिले सबै सामान गमगढीमै पाइन्छ ।’ गमगढीमा आर्थिक कारोबार बढ्दै गएपछि स्थानीय उत्पादनले समेत राम्रो भाउ पाउन थालेको उनले बताए ।

रारा आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण गमगढीमा ठूला लगानीका होटल सञ्चालनमा आएका छन् । अहिले बजारमा एक दर्जन बढी सुविधायुक्त होटल सञ्चालनमा छन् । गमगढीलाई नमुना बनाउन विभिन्न पूर्वाधार विकासका कामहरू भइरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख हरिजंग शाही रारा भ्रमणमा आउने पर्यटकलाई गमगढी घुमाउने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताए । ‘गमगढीलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र पूर्वाधारयुक्त बनाउने नगरको योजना छ,’ नगरप्रमुख शाहीले भने,‘गुरुयोजना नै निर्माण गरी पूर्वाधार निर्माणको कामलाई अगाडि बढाइनेछ ।’ अहिले अधिकांश गाउँमा टेलिफोन तथा इन्टरनेट सुविधा छ ।

गाउँपालिकाका योजना छानबिनमा
सोरु गाउँपालिकामा विकास निर्माणका काममा अनियमितता भएको आरोपमा उजुरी परेपछि अख्तियारले छानबिन थालेको छ । गाउँपालिकामा सञ्चालित ४ सडक योजना निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारका अनुसार सिप–एक्लिसल्ला, गिलाहा–तारापानी, कालिकोट–खनाय र रारा–कालै सडक निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेको हो । चारवटै सडकबारे पहिलो चरणको छानबिन सुरु गरिएको छ । चारवटा सडकमा ५० लाखदेखि २ करोडसम्म खर्च भएको छ । सडक योजना निर्माणमा उपभोक्ता समिति गठन गरी निर्माणको जिम्मा डोजरलाई दिएर अनियमितता गरेको आरोपसहित उजुरी परेका हुन् ।

उजुरीका विषयमा उपभोक्ता समिति पदाधिकारीसँग बयान लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘गहिरो रूपमा अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रियामा ल्याइनेछ,’ उनले भने, ‘तीन स्थानीय तहमध्ये सोरु गाउँपालिकामा बढी आर्थिक अनियमितता भएको भन्दै उजुरी परेका छन्, सबैको क्रमश: छानबिन गरिनेछ ।’

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतले बिनियोजित योजनाको बजेट गुपचुप राख्ने गरेको स्थानीयको आरोप छ । सोरु गाउँपालिकामा आर्थिक पादर्शिता, उत्तरदायित्व र जवाफदेहिताको कमी देखिएको प्रजिअले बताए ।

सिपदेखि जिमा–सोरुकोट सडक र गिलाहा तारापानीदेखि कालै–खनाया सडकमा विनियोजन भएको ४ करोड बजेटको मात्र सामान्य प्रगति देखिएको छ । योजना सञ्चालनको जिम्मा पाएका उपभोक्ता समितिका पदाधिकारीको मिलोमतोका कारण निर्माणको काम प्रभावकारी हुन नसकेको स्थानीय देवीलाल मल्लले बताए ।

प्रकाशित : श्रावण २६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?