कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सदरमुकाम नै हिलाम्मे

ज्योति कटुवाल

दैलेख — सदरमुकाम नारायण नगरपालिकामा अधिकांश सडक हिलाम्मे भएपछि यात्रुलाई आवतजावतमा समस्या भएको छ । सडक मर्मत नहुँदा सदरमुकाम नै हिलाम्मे बनेको छ । कतिपय स्थानमा सडकमै पानी जमेर स–साना पोखरी बनेका छन् ।

सदरमुकाम नै हिलाम्मे

जिल्ला प्रहरी कार्यालय जाने सडकमा खाल्डाखुल्डी बढेपछि गाडी आवतजावतमा समस्या छ । नारायण–नौमुले, रावतकोट–दुल्लु, कुसापानी, चामुन्डा, मध्यपहाडी राजमार्गलगायत कच्ची सडक हिलाम्मे बनेपछि यात्रु सास्ती भोग्न बाध्य छन् ।

सडकको स्तरोन्नती नहुँदा हिउँमा धुलो र वर्षामा हिलोले सताउने गरेको यात्रुको गुनासो छ । जिल्ला प्रशासन हुँदै जिल्ला अस्पताल पुग्ने सडक हिलाम्मे हुँदा बिरामी लैजान समस्या छ । त्यसैमाथि सडकमा जथाभावी पार्किङ र निर्माण सामग्री थुपारिँदा पैदलयात्रीलाई समेत आउजाउमा समस्या छ ।

नारायण नगरपालिका– ६, को काडाचौर बसपार्क सडक पनि हिलाम्मे बनेपछि यात्रुलाई समस्या भएको छ । नौमुले, भवानी, रानीवन, सोतमा सदरमुकामबाट गाडी चलाउन समस्या भएको चालकको गुनासो छ । नयाँ बजारबाट सुर्खेत जाने सडक पनि हिलाम्मे बनेको छ । सडक हिलाम्मे भएपछि मोटरसाइकल, ई–रिक्सा, जिपलगायतका साना सवारी साधन आउजाउमा समस्या भएको हो ।

स्थानीय रूपक थापाले सरकारी निकायले समयमै मर्मतमा ध्यान नदिँदा स्थानीयले दु:ख पाइरहेको बताए । उनका अनुसार एक वर्षअघि साहारे खानेपानी योजनाले पाइप गाड्ने भन्दै सडक खनेपछि स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । उनले सडक कालोपत्रेतर्फ कसैले ध्यान नदिदा यात्रा सहज बन्न नसकेको बताए । ‘हिलोमा फसेका गाडी धकेलेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यात्रुलाई समयमै गन्तव्यमा पुग्न समस्या छ ।’

सदरमुकामबाट भैंसीखोर–सोत–खुर्सानीबारी जाने सडक गतिलो नहुँदा साना गाडी चलाउन समस्या भएको चालकको गुनासो छ । अटो रिक्साचालक तिलक विकले सडकको अबस्था राम्रो नहुँदा गाडी दैनिकजसो बिग्रने गरेको बताए । सडकका कारण किस्ता तिर्ने रकमसमेत उठाउन नसकिएको उनको भनाइ छ । नाली बिनाका सडकका कारण वर्षामा यातायात सञ्चालनमा समस्या भएको स्थानीय जितबहादुर थापाले बताए । उनले स्थानीय तहले सडक मात्रै बनाउने तर नाली नबनाउने समस्याले यात्रुले दु:ख पाइरहेको बताए । उनका अनुसार नाली नबन्दा सडक हिलाम्मे बनेका हुन् ।

नारायण नगरपालिकाका प्रशासकीय अधिकृत जगत बस्नेतले नियमित सडक मर्मत गरिरहेको दाबी गरे । वर्षा जारी रहेकाले मर्मत गरेका सडक समेत हिलाम्मे बनेको उनको भनाइ छ । यस वर्षदेखि नाली नभएका सडकमा नाली निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ छ ।

वर्षाले यातायात अवरुद्ध
डोल्पा – वर्षाका कारण सडक हिलाम्मे बनेपछि सदरमुकाममा सञ्चालन भएको आन्तरिक जिप सेवा अवरुद्ध भएको छ । खराब मौसमका कारण हवाई उडानसमेत अवरुद्ध हुन थालेपछि यात्रु समस्यामा परेका छन् । यात्रु तथा कार्गो लिएर उड्ने तयारीमा रहेका जहाज शनिबार डोल्पा आउन सकेनन् । त्यस्तै दुनैदेखि सुनपानीसम्म सञ्चालन भएको जिपसेवा बन्द भएपछि स्थानीयवासी घण्टौं हिँड्न बाध्य छन् । वर्षाका कारण भेत्ति डाँडा आसपासका क्षेत्रमा पहिरो खसेपछि आन्तरिक जिपसेवा बन्द भएको हो । सडकको अधिकांश भाग हिलाम्मे बनेपछि पैदलयात्रीलाई समेत आवतजावतमा समस्या छ ।

प्रकाशित : श्रावण २७, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?