कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक गाउँमा, गाउँपालिका सदरमुकाममा

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको कामकाज सदरमुकामबाटै सञ्चालन भएपछि स्थानीयलाई सरकारी सेवा लिन समस्या भएको छ । बैंक अभावको कारण देखाउँदै गाउँपालिकाले सदरमुकामबाटै कामकाज सञ्चालन गर्दै आएको छ ।

बैंक गाउँमा, गाउँपालिका सदरमुकाममा

असार अन्तिम सातादेखि गाउँपालिकाको केन्द्र सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकले शाखा स्थापना गरिसकेको छ । बैंक स्थापना भए पनि गाउँपालिकाको कार्यालय सदरमुकाममै हुँदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिकाको कामकाज सदरमुकामबाटै भएपछि अन्य विषयगत कार्यालय पनि गमगढीमै बसेका हुन् । गाउँपालिकाको कार्यालय गमगढीस्थित भाडाको घरमा सञ्चालित छ । कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला विकासलगायतका शाखा सदरमुकामबाटै सञ्चालन भइरहेका छन् । गाउँपालिका सदरमुकाममै भएकाले गत आर्थिक वर्षमा सञ्चालन गरिएका विकास निर्माणका योजना प्रभावकारी नभएको स्थानीयको गुनासो छ । गत वर्ष उपभोक्ता समितिका पदाधिकारी योजनाको काम गर्न सदरमुकाम धाउन बाध्य थिए । गाउँपालिका सदरमुकाममा भएपछि पञ्जीकरण, सिफारिसलगायतका कामबाट स्थानीयवासी वञ्चित भएका छन् । अत्यावश्यक सरकारी सेवा चाहिए मात्र स्थानीयवासी सदरमुकाम आउने गरेका छन् ।

सरकारी कार्यालय सदरमुकाममै भएपछि सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकामै आएर सेवा लिनुपर्ने भएपछि स्थानीयवासी सरकारी सुविधाबाट वञ्चित भएका छन् । असार ३१ बाट बैंकले कामकाज सुरु गरेको जनाएको छ । बैंकले अनलाइन प्रविधिबाट कामकाज गर्दै आइरहेको जनाएको छ । बैंकका प्रबन्धक जयबहादुर मल्लले सरकारी कार्यालय नआउँदा आर्थिक कारोबार प्रभावित बनेको बताए । सरकारी कार्यालय सदरमुकाममै भएपछि व्यक्तिगत खातामात्रै सञ्चालन गरिएको उनले जनाए । ‘सरकारी कार्यालय नहुँदा कारोबार न्यून छ,’ उनले भने, ‘कार्यालयहरू आए सरकारी खाता सञ्चालनमा सजिलो हुने थियो ।’
बैंक स्थापना भएकाले कार्यालय सार्ने तयारीमा लागेको अध्यक्ष लोकबहादुर शाहीले बताए । जिल्लाका चार स्थानीय तहमध्ये मुगमकार्मारोङ गाउँपालिकामा मात्र बैंक स्थापना हुन बाँकी छ । राष्ट्रिय वाणिज्य बैंकले मुगमकार्मारोङको पुलुमा शाखा स्थापनाका लागि अनुगमन गरिए पनि उपयुक्त घर फेला नपरेको जनाएको छ । बैंककै कारण मुगमकार्मारोङको कार्यालयसमेत सदरमुकामबाट सञ्चालन भएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनले बैंक स्थापना भएपछि गाउँपालिकाको कार्यालयलाई गाउँमै राखिने बताए ।

जिल्ला प्रशासनमा सीसीटीभी हुम्ला – जिल्ला प्रशासन कार्यालयमा सीसीटीभी जडान गरिएको छ । कार्यालयभित्र हुने गतिविधिको निगरानीका लागि सीसीटीभी जडान गरिएको हो ।कार्यालयको काम प्रभावकारी बनाउन र सेवा प्रवाह सहज बनाउन सीसीक्यामरा जडान गरिएको हो । सीसीटीभीबाट कार्यालयभित्रका सबै फाँटको प्रमुख जिल्ला अधिकारीले निगरानी गर्नेछन् । प्रजिअ माधव ढुंगानाले जिल्लामा पहिलोपटक सरकारी कार्यालयमा सीसी क्यामरा जडान गरिएको बताए । कार्यालयमा विद्युतीय हाजिरी पनि जडान गरिएको छ । कर्मचारीको कार्यालय समयप्रतिको बेवास्ता कम गर्न विद्युतीय हाजिरी जडान गरिएको हो । सीसीटीभीको सहायताले निगरानी गर्न थालिएपछि सेवाग्राहीको काममा सहज हुने उनको भनाइ छ । कर्मचारी र सेवाग्राहीले के गरिरहेका छन् भन्ने थाहा पाउन सीसीटीभी उपयोगी रहेको उनको भनाइ छ । कार्यालयले पत्रकारलाई विभिन्न गतिविधिबारे एसएमएसबाटै जानकारी गराउने व्यवस्था पनि मिलाएको छ । प्रजिअ ढुंगानाले आफ्नो कार्यकालको समीक्षा गर्दै उत्तरी नाका हिल्सास्थित भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि पहल भइरहेको बताए । कर्मचारीको तत्काल व्यवस्थाका लागि आफूले माग गरिरहेको उनले बताए । सहयोगीकै भरमा हिल्सा भन्सार कार्यालय सञ्चालन भइरहेको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?