विस्थापितलाई खानेपानी अभाव

कान्तिपुर संवाददाता

कालिकोट — यहाँको शुभकालिका गाउँपालिकाले हाउडी पहिरो विस्थापितलाई नैनेलमाडुमा पुन:स्थापना गरेको छ । शुभकालिका ६ हाउडीस्थित कबलथलाबाट फुटेको पहिरोपीडित २५ दलित परिवारका १ सय ७६ जनालाई गाउँपालिकाले नैनोलमाडुस्थित चौरमा पाल हालेर पुन:स्थापना गरेको हो ।

विस्थापितलाई खानेपानी अभाव

०७२ भदौ ८ मा देखि प्रत्येक वर्ष निरन्तर पहिरो जाने गरेको छ ।जोखिममा रहेका दलित परिवारलाई गाउँपालिकाले पाल, र जमिन उपलब्ध गराएर बस्ने ठाउँ उपलब्ध गराएको अध्यक्ष खडानन्द चौलागाईले बताए ।

‘सबै दलित समुदायका घर जोखिममा छन्,’ अध्यक्ष खडानन्द चौलागाईले भने ‘पानी परेर पहिरो बगिरहेकोले सुरक्षित ठाउँमा सारेका छौं ।’ उनले तत्काल बस्ती सार्नुपर्ने अवस्था रहेको बताउँदै पहिरोले २५ दलित समुदायका दाजुभाइका घर भत्किएकाले बस्ने समस्या रहेको सुनाए । यहाँको पहिरोले हाउडीगाउँका ३९ शाही घरपरिवारको जग्गा पनि क्षति गरेको सुनाए ।

साउन दोस्रो सातादेखि लगातार परेको पानीसँग पहिरो बग्न थालेपछि घरमा बस्न नसकिएको स्थानीय हरिलाल दमाईले बताए । उनको ९ जनाको परिवार छ । ‘कतिखेर मरिन्छ भनेर डरले रात काट्थ्यौ’ पाल, ओछ्याउने र केही कपडा पाएपछि खुसी हुँदै दमाईले भने ‘अब बाँचिने भइयो ।’यहाँका दलित परिवारका पहिरोले घर, पाखोबारी, भाँडाकुँडा र खाद्यान्न क्षति पुर्‍याएको गाउँपालिका उपाध्यष पम्फाकुमारी शाहीले बताइन् ।

उनले अधिकांश परिवारसँग बिहान बेलुकी खाने अन्न र लगाउने कपडा नभएको सुनाउँदै गाउँपालिकाको सहयोगले नपुग्ने भएकाले अन्य निकायलाई पनि सहयोगका लागि अनुरोध गरिन् । गाउँपािलकाले उपलब्ध गराएको खाली चौरमा खानेपानी र शौचालयको अभाव छ । कतिपय परिवारका ११ जनासम्म जहान भएकाले दिएको पालमा सुत्न पनि कठिनाइ छ । मेरा त ११ जनाको परिवार छ । शुभकालिका ६ हाउडीमा मन्दिरे कामीले भने ‘छोराबुहारी, नातिनातिना सबै सँगै सुत्नुपर्ने अवस्था छ ।’ उनले पहिरो पीडितका लागि गतिलो ठाउँमा स्थायीरूपले बस्ने ठाउँको माग गरे ।

प्रकाशित : श्रावण २७, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?