१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आलुले बढायो आम्दानी

कान्तिपुर संवाददाता

सल्यान — बाग्चौर नगरपालिकास्थित बाँफुखोलाका किसान व्यावसायिक आलु खेतीमा लागेपछि जीवनस्तर फेरिएको छ । करिब एक हजार घरधुरी रहेको बाफुखोलामा ८० प्रतिशत किसान व्यावसायिक आलु खेतीमा छन् ।

आलुले बढायो आम्दानी

आलुबाट बाफुखोलामा वार्षिक पाँच करोड रुपैयाँ भित्रिने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

स्थानीय कृषक डिल्ली ओलीले यस वर्ष बर्ष ४० क्विन्टल आलु उत्पादन गरेर सात लाख कमाएको सुनाए । आलु खेतीबाट स्थानीयवासीको जीवनस्तर फेरिएको छ । विगतमा परिवार पाल्न भारतमा जान बाध्य भए पनि आलु खेतीले घरमै रोजगारी पाएको उनले बताए ।

आलु खेतीबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको स्थानीय कोमल ओलीको भनाइ छ । आलुखेतीकै कारण घर खर्च चलाउन र बालबालिकालाई पढाउन सजिलो भएको उनको भनाइ छ । अन्न उत्पादन कम हुने भएकाले आलु खेतीलाई प्राथमिकता दिएको उनले जनाए । बारीमै आएर खरिदकर्ताले लिएर जाने गरेकाले बजारको समस्या नभएको उनले बताए ।

खरिदकर्ता गाउँमै आएर प्रतिकिलो २२ देखि २४ रुपैयाँमा खरिद गरेका छन् । स्थानीय दुर्गा ओलीले सडक पुगेपछि आलु बिक्री गर्न सजिलो भएको बताए । ‘पहिले गाउँमा सबैका घर खरका छानाले छाएका थिए, आलुबाट आम्दानी हुन थालेपछि टिन तथा ढुंगाले छाएका छन्,’ उनले भने, ‘खाद्यबाली कम उत्पादन हुने भएकाले आलुलाई व्यवसायिक बनाइरहेका छौं ।’ केही समय अघिसम्म आलुसँग चामल साटेर गुजारा गर्ने गरेको उनले बताए । गाउँमा मोटरबाटो पुगेपछि नगदमै कारोवार हुने उनले जनाए । आलु उत्पादनबाट राम्रो आम्दानी भएपनि भण्डारणमा समस्या भएको स्थानीय दीपक ओलीले बताए । भण्डारणको लागि ब्यवस्थित भवन नहुँदा परम्परागत रूपमै भण्डारण गर्ने गरिएको छ ।

बाँफुखोलामा करिब एक हजार पाँच सय रोपनी जग्गामा किसानले आलु खेती गर्दै आएको जिल्ला कृषिले जनाएको छ । बरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले आलु खेतीलाई व्यावसायिक बनाएपछि किसानले अन्यत्रसमेत घर जग्गा जोड्न थालेको बताए । उनका अनुसार बर्सेनि लाखौं रकम किसानले बचत गर्न थालेका छन् । अधिकांश किसानले आफ्ना बालबालिकालाई सहरमा पढाउन थालेको शर्माले जनाए ।

उनका अनुसार बाफुखोलामा उत्पादित सबैभन्दा बढी आलु पोखरा जाने गरेको छ । जिल्ला कृषिले व्यावसायिक खेतीका लागि किसानलाई विभिन्न उपकरण उपलव्ध गराउँदै आएको छ । बाफुखोलाका आलु उत्पादनलाई अझ व्यवस्थित गर्न योजना निर्माण गरिरहेको नगरप्रमुख लोकमान बुढाथोकीले बताए । उनले बाफुखोलालाई आलु उत्पादन जोनको रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाए ।

प्रकाशित : श्रावण २७, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?