१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रभावितलाई ३ लाख राहत

भीमबहादुर सिंह

जाजरकोट — निर्माण व्यवसायी रत्नबहादुर खड्काले पहिरोपीडित परिवारलाई नगद ३ लाख राहत सहयोग छन् । आठ दिनअघि भेरी नगरपालिका–३, ठाटीबजारको पहिरोमा परी ज्यान गुमाएका ९ जनाका आफन्तलाई सहयोग गरेका हुन् ।

प्रभावितलाई ३ लाख राहत

खड्का–कृष्ण निर्माण सेवाका प्रोपराइटर खड्काले व्यक्तिगत रूपमा प्रतिमृतक ३० हजारका दरले पीडित परिवारलाई उक्त रकम प्रदान गरेका हुन् । भेरी नगरपालिका–३, ठाटीबजारको पहिरोमा दुई घर पुरिंदा मृत्यु भएका ८ बालबालिकासहित ९ जनाका पीडित परिवारलाई राहत वितरण गरिएको हो । उनी कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

पहिरोपीडित परिवारलाई पुन:स्थापनाका लागि आफूले सहयोग उपलब्ध गराएको बताए । पहिरोको कारण मानवीय क्षतिसमेत भोगेर घरवारविहीन भएका पीडितलाई सबैले सहयोग गर्नुपर्ने उनले जनाए । उनले पीडितले आश्रय लिएर बसिरहेको वृद्धाश्रममै पुगेर सहयोग रकम उपलब्ध गराए । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले खड्का मनकारी समाजसेवी भएको बताए ।

खड्काले वितरण गरेको राहतले सरकारलाई नै चुनौती दिएको प्रजिअ बस्नेतले बताए । व्यक्तिगत रूपमा ३ लाख राहत वितरण गर्नु सानो कुरा नभएको उनले बताए । प्रमुख जिल्ला अधिकारी बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाको आफन्तलाई यसअघि नै एक लाखका दरले राहत उपलब्ध गराएका थिए । पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तीर्थ बोहरा र गोपाल सुनारलाई तत्काल व्यवस्थापनका लागि १०/१० हजार थप रकम हस्तान्तरण गरिएको प्रजिअ बस्नेतले बताए ।

कर्णाली प्रदेश सरकारले पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजार राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले दाल, चामल, नुन, तेल, चिउरालगायतको झन्डै २० हजारको सामग्री पनि प्रतिपरिवारका दरले उपलब्ध गराएको थियो । भेरी नगरपालिकाले मृतकका आफन्तलाई ३० हजार र कुशे गाउँपालिकाले प्रतिमृतक २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । भेरीले घाइते लालबहादुर लुहारको उपचारका लागि २० हजार दिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले बताए । त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखाले प्रतिपरिवारलाई २५ किलो चामल लगायतको खाद्यान्न सहयोग गरेको छ । रेडक्रस र उद्योग वाणिज्य संघले पनि राहत सामग्री उपलब्ध गराएका छन् ।

पहिरोपीडित पत्रकार तीर्थराज बोहरालाई नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले १० हजार, अर्थसरोकार अनलाइनले ५ हजार ५ सय ५५, मिरमिरे अनलाइनले ५ हजार १ सय र गर्जनपोस्ट साप्ताहिकले ५ हजार ५ सय सहयोग गरेका छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?