कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एक छोरा र भाइको हत्या

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले घरमा सुतिरहेका छोरा र भाइको हत्या गरेका छन् । दुई घाइते छन् ।

एक छोरा र भाइको हत्या

शंकरले बुधबार बिहानै कान्छा छोरा ६ वर्षीय सुदर्शन र अपांग भाइ २० वर्षका गोकर्णको हँसिया प्रहार गरी हत्या गरे । शंकर, शंकरका बुवा, शंकरकी श्रीमती, शंकरका भाइ र शंकरका तीन छोरा मंगलबार राति सामान्य अवस्थामा सुतेका थिए ।

बुवा र पत्नी घरबाहिर निस्केको बेला कान्छो छोरा र भाइको हत्या गरे । माइलो छोरा ९ वर्षका दिनेशको गर्धनमा हाने । जेठो छोरा १३ वर्षीय प्रकाश मार्ने प्रयास गर्दा उनी भागेपछि हँसिया प्रहार गरे । उनलाई सामान्य चोट लागेको छ । शंकरले आफैंमाथि पनि हँसिया प्रहार गरे । घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको छ । माइला छोरा दिनेशलाई बढी चोट लागेको छ ।

‘परिवारका सबै सदस्यलाई सिध्याउने र आफू पनि मर्ने योजनासहित हसिया उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले भने ।

जेठो छोरालाई आक्रमण गरिरहेका बेला शंकरका बाबुले देखेपछि थप क्षति हुन नसकेको प्रहरीले बताएको छ । शरीरको तल्लो भाग नचल्ने गोकर्णलाई उनले ओछ्यानमै हत्या गरेका थिए । माइलो छोरा हँसिया लागेपछि धानबारीमा लडेका थिए । नजिकका नातेदारका अनुसार शंकर केही समयदेखि डिप्रेसनमा थिए । उनी केही महिनाअघिसम्म घर नजिकैको स्कुलमा पढाउने गर्थे ।

शंकर तीन दिनदेखि घरभित्रै बसिरहेको पाइएको प्रहरीले जनाएको छ । ‘शंकर तीन दिनदेखि घरबाट कतै नगएको पाइएको छ,’ डीएसपी खड्काले भने, ‘उनमा मानसिक समस्या रहेको सूचना पाएका छौं, यसको विस्तृत अनुसन्धान हुँदै छ ।’

शंकरलाई जिल्ला अस्पतालमा उपचार गरी हिरासतमा राखिएको छ । प्रहरीको नियन्त्रणमा आएदेखि हालसम्म उनले केही नबोलेको डीएसपी खड्काले बताए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?