१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुठीको जग्गामा व्यक्तिका घर

शिवजन माविदेखि अहिलेको बसपार्क र टाउन प्लानिङ गरेको स्थानमा गुठीको जग्गा थियो ।
विप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–१, शीतलपाटीस्थित रुद्रेश्वर महादेवको एक सय चार रोपनी गुठीको जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गरेका छन् ।

गुठीको जग्गामा व्यक्तिका घर

२० वर्षअघि मोहीका रूपमा प्रयोग गरेका स्थानीयले गुठीको जग्गा रैकरमा परिणत गरेर बिक्रीसमेत गरिसकेका छन् । अहिले गुठीका अधिकांश जग्गामा पक्की घर र अन्य संरचना बनेका छन् ।

रुद्रेश्वर महादेबको जग्गा सुरुमा केहीले प्रयोग गरेका थिए । सरकारले २०५५ मा मोहीले रैकरमा परिणत गरेर प्रयोग गर्न पाउने निर्णय गरेपछि सबै जग्गा मासिएको स्थानीय शेरबहादुर खत्रीले बताए । शिवजन माविदेखि अहिलेको बसपार्क र टाउन प्लानिङ गरेको स्थानमा गुठीको जग्गा थियो । अहिले सबैमा घर बनिसकेका छन् । मन्दिर अगाडिको पुरानो भवन मात्र बाँकी रहेको उनको भनाइ छ । ‘महाराजजी बस्नलाई बनाएको घरमात्र बाँकी छ, त्यो पनि सबैको आँखा अगाडि परेर मात्र बचेको छ,’ उनले भने, ‘अन्यत्र भएको भए त्यो पनि बिक्री भइसक्थ्यो ।’

बन्गाड कुपिण्डे नगरपालिका–१, देवस्थलको कृष्ण मन्दिरको ५७ रोपनी जग्गामध्ये मन्दिर लामो समयदेखि अतिक्रमणको चपेटामा छ । १७ रोपनी खेत र ४० रोपनी पाखो प्रभाकर माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र नगरपालिकाले अतिक्रमण गरेका छन् । उक्त जग्गा मन्दिरका पुजारी नन्दकिशोर उपाध्याय र कर्णध्वज शाहले २०४८ मा बिक्री गरेका थिए ।

स्थानीय पुरनसिंह बिष्टका अनुसार मन्दिरमा रहेको कृष्ण, राधा र रुक्मिनीको मूर्ति, सुनको बाँसुरी लगायतका बहुमूल्य सामग्री हराइसकेका छन् । पुजारी उपाध्यायको मृत्यु भएपछि अहिले उनको सन्तानले जग्गा उपभोग गरिरहेका छन् । मन्दिरको नामको सबै जग्गा अतिक्रमणमा परेपछि कृष्ण जन्माष्टमीको दिन लाग्ने जिल्लाकै चर्चित मेला लाग्न छाडेको छ । स्थान अभावमा मेला लाग्न छाडेको हो ।

त्यस्तै, खैराबाङ भगवती मन्दिरको रोल्पाको लौराबाङस्थित २० रोपनी जग्गामा स्थानीयले घर बनाई प्रयोग गर्दै आएका छन् । मन्दिरकै नामको लान्ती रहेको ६ रोपनी खेतलाई व्यवस्थापन समितिले वार्षिक १३ हजार ठेक्कामा स्थानीयलाई भाडामा दिएको छ । समितिका अध्यक्ष रहेका रामसिं बुढाथोकीका अनुसार लान्तीमा रहेको ६ रोपनी खेत द्वन्द्वको समयमा माओवादीले कब्जा गरी स्थानीय गणेश भारतीलाई उपलब्ध गराएका थिए ।

रोल्पाको २० रोपनी जग्गा स्थानीयवासीले कब्जा गरी उपभोग गरिरहेका छन् । ‘रोल्पाको जग्गाको कुनै आधिकारिक प्रमाण नभएकाले खोजी गर्न नै छाडिसक्यौं,’ उनले भने, ‘सल्यानको जग्गा भने भाडामा लगाएर आएको आम्दानीले मन्दिरको विकास गरिरहेका छौं ।’ दार्मा गाउँपालिका–१, दार्माकोटस्थित भगवती मन्दिरको जग्गा स्थानीयले द्वन्द्वको समयमा ‘कब्जा’ गरी प्रयोग गरिरहेका छन् ।

स्थानीय बुद्धिप्रसाद शर्माका अनुसार मन्दिरको जग्गा संरक्षणतर्फ कसैले चासो नदिएपछि सार्वजनिक सम्पत्ति व्यक्तिको बनेको बताए । मन्दिरका गुठीका जग्गा अतिक्रमण गर्दा मन्दिरको अस्तित्व नै संकटमा परेको शर्माको भनाइ छ । जिल्ला मालपोत कार्यालयका अनुसार रुद्रेश्वर महादेवको गुठीको जग्गा २१ रोपनी मात्र देखिन्छ ।

२०५५ मा रैकरमा परिणत गरेपछि अहिले आठ रोपनी ११ आना मात्र बचेको र त्यो पनि मोहीले लगाउँदै आएको कार्यालयले जनाएको छ । २ रोपनी ६ आना बगर खेत भएको ढड्डामा देखिए पनि कहाँ छ भन्ने पत्ता लगाउन नसकिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय प्रमुख लीलाबहादुर बस्नेतले प्रशासन नजिकै रहेको कृष्ण मन्दिरको साहुटोलामा रहेको गुठीको जग्गा पनि स्थानीयले रैकरमा परिणत गरी प्रयोग गर्दै आएको बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?