कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक दरबन्दी मिलान भएन

लामो समयदेखि दरबन्दी मिलान नहुँदा पठनपाठनमा समस्या
हिमाली जिल्लामा २० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि अधिकांशमा अपर्याप्त छन् ।
जयबहादुर रोकाया

हुम्ला — एक जना शिक्षक भएको हिमगिरि प्रावि लिमाटाङमा कक्षा ३ मा तीन विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म सञ्चालित महांकाल प्रावि, लाङदुकमा ११ विद्यार्थीका लागि दुई शिक्षक कार्यरत छन् ।

शिक्षक दरबन्दी मिलान भएन

१४ विद्यार्थी अध्ययन गर्ने चन्दनाथ प्रावि, नल्लास्याम्नेमा दुई शिक्षक कार्यरत छन् । ३० विद्यार्थी भएको सिद्धार्थ निमावि, बुराउसेमा ६ जनाको दरबन्दी छ । तीन सय विद्यार्थी भएको पञ्चमुखी मावि, ठेहेमा स्वीकृत दरबन्दीको एक र अस्थायी दरबन्दीमा एक गरी दुई शिक्षक मात्र कार्यरत छन् ।

जिल्लामा लामो समयदेखि दरबन्दी मिलान नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यार्थी नै नभएका विद्यालयमा शिक्षक संख्या बढी छ भने विद्यार्थी बढी भएका विद्यालयमा शिक्षक संख्या न्यून ।

स्थानीयले आफ्ना बालबालिकालाई सदरमुकाम वा सहरमा अध्ययन गराउन थालेपछि प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटदै गएको छ । माथिल्ला तहका विद्यालयमा भने विद्यार्थी संख्या बढी छ । अर्काे गाउँबाट स्थानीयवासीको खेतबारीमा काम गर्न आएका परिवारका बालबालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएकाले विपन्न विद्यार्थी मौसमी रूपमा विद्यालय जान्छन् । काम सकिएपछि अभिभावकसँगै बालबालिका फर्कने गरेकाले विद्यार्थी मौसमी बनेका हुन् ।

कक्षा ६ देखि १२ सम्म अध्ययन गराउने महादेव माध्यमिक विद्यालय, दार्ममा झन्डै पॉच सय विद्यार्थी र १३ जनामात्र शिक्षक भएको प्रधानाध्यापक भीमसेन बीएमले बताए । ‘लामो समयदेखि दरबन्दी मिलान नहुँदा जिल्लाभरको पठनपाठन अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘दरबन्दी मिलान नहुँदासम्म सामुदायिक विद्यालयको पठनपाठन व्यवस्थित हुने देखिँदैन ।’

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा ३ सय १९ प्रावि, ४६ निमावि र २६ मावि छन् । जिल्लाभर २७ हजार चार सय ४६ विद्यार्थी छन् । शिक्षा नियमावलीअनुसार हिमाली जिल्लामा २० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि अधिकांशमा अपर्याप्त छन् । करिब एक हजार तीन सय शिक्षक दरबन्दी हुनुपर्ने भए पनि ४ सय ९४ मात्र शिक्षक कार्यरत छन् ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख वर्ष फडेराले कम विद्यार्थी संख्या भएका विद्यालयलाई अन्यत्र गाभ्ने योजना भए पनि विभिन्न कारणले सफल नभएको बताए । उनले हिमगिरि प्रावि लिमाटाङ, सेल्मुकाङ प्रावि टल्की र महांकाल प्रावि लाङदुकलाई रल्लिङ मावि बरगाउँमा गाभ्ने योजना बनाइएको बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?