सरकारी जागिर छाडेर तरकारी

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–३, माछिमीका ४८ वर्षीय मोहनलाल खड्का सरकारी जागिर छाडेर तरकारी खेतीमा लागे । ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर सुरु गरेका खड्कालाई उतिबेलाको ग्रास्वाकाको तीन सय रुपैयाँ तलब कम लाग्यो ।

सरकारी जागिर छाडेर तरकारी

जागिर छाडेर ताजा तरकारी उत्पादनमा लागेका खड्काले तरकारी बेचेरै करोड बढी कमाइसके ।

‘ठ्याक्कै हिसाबकिताब त गर्न पाएको छैन, तर बजारमा तरकारीको माग बढ्न थालेदेखि नै करोड बढी आम्दानी भइसक्यो होला,’ खड्काले भने । ५ वर्ष तरकारीको बीउ मात्रै उत्पादन गरेका खड्काले १८ वर्षदेखि निरन्तर ताजा तरकारी उत्पादन गर्दै आएका छन् । ७ वर्षसम्म सामान्य तरकारी उत्पादन गर्ने गरेका उनले पछिल्लो ११ वर्ष भने तरकारी मात्रै मनग्यै उत्पादन गरेनन्, आम्दानी पनि सोचेजस्तै गरेका छन् ।

‘तरकारी उत्पादनमा लागेको सुरुका ७ वर्ष तरकारीको माग पनि धेरै थिएन, मूल्य पनि कमै थियो,’ उनले भने, ‘४ रुपैयाँ किलो तरकारीको मूल्य हुन्थ्यो, त्यही नबिक्दा ३ रुपैयाँमा बेच्दा त्यसको खासै आम्दानी भएन ।’ २०६४ सालयता उनको वार्षिक आम्दानी नै ८/९ लाख रुपैयाँ छ । १२ रोपनी आफ्नो र ३ रोपनी अरूको जग्गा बन्धकी लिएर तरकारी खेती गर्छन् । ‘मैले एकुरेट हिसाब कहिल्यै गरिनँ घर खर्च र छोराछोरीको पढाइका लागि खर्च गरेर पनि हरेक वर्ष केही लाख बचेकै थियो,’ उनले भने ।

तरकारी बेचेर पढाएका दुई छोरा सरकारी जागिरे छन् । एउटा छोरीलाई स्नातक पढाइरहेका छन् । दुई छोरा जागिरे भए पनि एउटा छोरालाई थप अध्ययनका लागि मासिक खर्च आफंै दिने गरेको उनले बताए । उनले ३५ लाख मूल्यको घडेरी पनि तरकारी खेतीबाटै जोडेका छन् । बाह्रै महिना सबैखाले तरकारी फलाउने उनको दैनिकी हरेक बिहान ३ बजे नै सुरु हुुन्छ । हरेक उपभोक्ताको चुलोमा तरकारी पुर्‍याउन बिहान ३ बजे नउठी सम्भव नै हुँदैन । बेर्ना लगाउँदा र गोडमेलमा अरूलाई समेत रोजगार दिने गरेको मोहनलालले फलेको सबै तरकारी डोकोमै बोकेर बजार पुर्‍याउँछन् ।

मुसीकोट नगरपालिका–१३, साधनचौरका ५० वर्षीय गोर्खबहादुर खड्का पनि तरकारी बेचेरै करोडपति बनेका छन् । तरकारी खेती गर्न थालेको १५ वर्षको अवधिमा उनले पनि करोड बढी आम्दानी गरेका छन् । हरेक वर्ष सबै खर्च कटाएर पनि ७ लाख बढी नगद बचाउने खड्काले पनि विदेश नगई तरकारी खेतीमा लागेका हुन् ।

विदेश जान भनेर भिसासमेत लगाइसकेका खड्काले स्वदेशमै केही गरौं भनेर तरकारी खेतीतर्फ लागेका थिए । आफ्नो र भाडामा लिइएको एक हेक्टर क्षेत्रफल जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने खड्काले खुर्सानीबाट धेरै आम्दानी गर्छन् । उनको तरकारी खेती गर्ने तरिका एडभान्स नै छ । हरेक पटक तरकारी लगाउँदा र भित्र्याउँदाको मिति लेखेर राख्छन् ।

प्रकाशित : भाद्र १, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?