हिमाली जिल्लामा औलो

कान्तिपुर संवाददाता

मुगु — औषधिसहित विशेषज्ञ चिकित्सकको टोली औलो प्रभावित क्षेत्रमा पुगेको छ । खत्याड गाउँपालिका–७, ८ र ९ मा फैलिएको औलो रोग नियन्त्रणका लागि स्वास्थ्य विभागका महामारी रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लिलाविक्रम थापासहित डा. किरण अवस्थी, डा. स्मृति लामा लगायत विशेषज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

विशेषज्ञ चिकित्सकको टोलीले प्रभावित क्षेत्रमा पुगेर बिरामीको चेकजाँच, औषधि उपचार र लामखुट्टे अनुसन्धान सुरु गरेको छ । गत असारमा महामारी रोग नियन्त्रण महाशाखाबाट बिशेषज्ञ चिकित्सकसहितको टोली रिघा गाउँमा पुगेर फर्किएको थियो ।

एक साताअघि महामारी रोग नियन्त्रण शाखाबाट डा. मदन कोइरालाको टोली पुगेर फर्किएको थियो । अहिलेसम्म औलो प्रभावित क्षेत्रमा तीन बिशेषज्ञ चिकित्सकको टोली पुगिसकेको छ । अझैसम्म औलो नियन्त्रणमा आउन सकेको छैन ।

Yamaha

जिल्ला स्वास्थ्य कार्यालय, औलो रोग नियन्त्रण कार्यक्रमका फोकलपर्सन बलीबहादुर बुढाले असार र साउनमा एक सय ११ जनामा रोगको संक्रमण देखिएको बताए ।

बिरामीले खलखली पसिना निकाल्दै थरथरी काप्ने र मुखबाट फिँज निकाल्ने गरेको उनको भनाइ छ । चिकित्सक टोलीले करिब चार सय बिरामीलाई पुग्ने औषधि लिएको उनले जनाए ।

‘गत वर्षका बिरामीलाई फेरि औलो रोग देखा परेपछि समस्या भएको छ,’ उनले भने, ‘गाउँ पुगेको विशेषज्ञ चिकित्सकको टोलीले लामखुट्टे छोपेर विशेष अनुन्धानका लागि काठमाडौं लैजानेछ ।’

Esewa Pasal

प्रकाशित : भाद्र १, २०७५ ०९:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँभरि माछा रेस्टुरेन्ट

पर्यटकका लागि लोकप्रिय बन्दै परिकार
माधव ढुंगाना

छपिया (रूपन्देही) — तराईका जिल्लामा माछापोखरी देखिनु सामान्य हो । ती पोखरीमा उत्पादन भएका माछा सहर र राजमार्गका होटल, रेस्टुराँमा खपत हुन्छन् । तर, यहाँस्थित छपिया माछा उत्पादन मात्र होइन थरीथरीका परिकारका लागि प्रसिद्ध बनिरहेको छ ।

माछा पोखरीमा माछा हेर्दै सर्वसाधारण । तस्बिर : माधव । कान्तिपुर

यहाँ गाउँभरि माछा रेस्टुराँ छन् । रेस्टुराँमा माछाका परिकार खान दिनहुँ भीड लाग्छ । त्यसैले यहाँका बासिन्दा ‘माछा पर्यटन’ प्रवद्र्धनमा सक्रिय छन् ।

सियारी गाउँपालिका ४ स्थित छपियामा जिल्लाका चारैतर्फबाट पुग्न सकिन्छ । त्यसैले यहाँका पोखरी डिलमा करोडौं लगानीमा आधा दर्जन रिसोर्ट सञ्चालन आइसकेका छन् । धेरै सञ्चालनको तयारीमा छन् । धमाधम पूर्वाधार निर्माण चलिरहेको छ ।

पोखरीको बीचमा रिसोर्ट सञ्चालन गरिएकाले आकर्षण बढेको हो । छपिया परम्परादेखि माछा उत्पादन पकेट क्षेत्रका रूपमा मानिन्छ । अहिले यहाँका व्यवसायीले रिसोर्ट, रेस्टुराँ र होटल सञ्चालन गरेर पर्यटक आकर्षित गरिरहेका छन् । भैरहवा, बुटवल, लुम्बिनीबाट सजिलै पुग्न सकिन्छ । त्यसैले यहाँ आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।

‘माछा उत्पादनमा प्रसिद्ध ठाउँलाई पर्यटनसित जोडेर विकास गर्न जुटेका छौं,’ करिब १० करोड रुपैयाँको लगानीमा एक वर्षदेखि छपिया फिस भिलेज सञ्चालन गरिरहेका गौरव गौतमले भने, ‘मत्स्य पर्यटन गाउँका रूपमा परिचित हुँदैछ ।’ यहाँ नौ वर्षअघि अभियानमुखी माछा उत्पादन थालिएको थियो । अहिले मत्स्य जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रमले माछा उत्पादन र व्यावसायिकतामा सहयोग गरेको छ । पर्यटक आकर्षित गर्न माछाका विभिन्न परिकार बनाउन सिकाउने गरेको छ । छपिया गाउँ र माछा पर्यायवाची भइसके । यहाँको चिसो पानीमा हुर्केका ताजा माछा भारतमा पनि लोकप्रिय छन् । भैरहवा र बुटवलमा तीन दर्जनभन्दा बढी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन् । काठमाडौं, चितवन, पोखरालगायत भारतको गोरखपुरसम्म यहाँका माछा बिक्री हुन्छन् ।

‘यहाँका माछा स्वदेश र विदेशसम्म परिचित छन् । तर, गाउँमै माछाका परिकार खाने ठाउँ नभएपछि रिसोर्ट सञ्चालन गरेको हुँ,’ गौतमले भने, ‘अहिले यहाँका माछा परिकार खान र पोखरीमा रमाउन आन्तरिक पर्यटक आइरहेका छन् ।’ उनका अनुसार झोल, फ्राइ, माछाको सेकुवा, स्टिम बोयल, माछा तावा, माछाको म:म, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइलालगायत डेढ दर्जन परिकार उपलब्ध छन् ।

विदेशमा जस्तै परिकार बनाउन व्यावसायीले सिक्न थालेका छन् । व्यवसायीलाई एकजुट बनाएर आम्दानीमा वृद्धि गर्न जलदेवी मत्स्य उत्पादन सहकारी संस्था सञ्चालनमा ल्याइएको छ । यहाँ २ सय २५ हेक्टर जमिनमा १ हजार ५ सय माछा पोखरी छन् । ६ सय हाराहारीमा किसान संलग्न छन् । वार्षिक १ हजार २ सय ५० मेट्रिक टन माछा उत्पादन गर्छन् । यसको बिक्रीबाट वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने सहकारी अध्यक्ष गणेश शाहीले बताए ।

यहाँका रिसोर्टमा जिउँदो माछासँग खेल्ने, बल्छीले माछा मार्ने र ठूला पोखरीमा डुंगामा घुम्ने/रमाउने सुविधा छन् । कम मिहिनेत र समयमा नगद आम्दानी हुने भएकाले किसान व्यावसायिक माछापालनमा आकर्षित हुन थालेको स्थानीय कृष्णबहादुर बस्नेतले बताए । ‘धान खेतीमा लगानी र परिश्रम धेरै छ,’ बस्नेतले भने, ‘त्यसको तुलनामा माछापालन धेरै सजिलो र फाइदा सात–आठ गुणा बढी छ ।’

व्यापारीले घरघर आएर जाल थाप्दै तौलअनुसार पैसा तिर्ने भएकाले बजारको समस्या नभएको उनले बताए । होम स्टेसहितका माछापालन केन्द्र र रेस्टुराँ खुलेपछि दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन् । माछापालन व्यवसाय अध्ययन गर्ने, माछा किन्ने, माछाका परिकार चाख्ने, माछासँग
खेल्ने पर्यटक बढ्न थालेपछि रिसोर्टका लागि ठूला लगानीकर्ता आकर्षित हुन थालेका छन् ।

यहाँस्थित बैदौलीमा स्विमिङ पुल, दुई बिघा जमिनको पोखरीको बीचमा बस्ने कोठा, त्यहाँसम्म आउजाउ गर्न डुंगा प्रयोग र भ्यु टावर विशेषतासहितको निर्माणाधीन छपिया रूपन्देही एकीकृत कृषि फर्म आउँदो मंसिरबाट सञ्चालनमा ल्याउने योजना रहेको अर्जुन भुसालले सुनाए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT