कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ स्थानका पुल बगे

विद्यालय जान नपाउँदा ५ सय विद्यार्थीको पढाइ प्रभावित
भीमबहादुर सिंह

जाजरकोट — नगरपालिकाको झुम्रा खोलामा गत बुधबार आएको बाढीले पुल बगाएपछि विद्यार्थी स्कुल जान पाएका छैनन् । बाढीले नलगाडका मुख्य ५ स्थानका पुल बगाउँदा वडा १, २ र ३ का ५ सय विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् ।

५ स्थानका पुल बगे

बाढीले घुवारा ट्रसब्रिज, छेप्का, कालिमाटी ट्रसब्रिजका साथै साङट, सिस्नेरी र करुवाको काठेपुल बगाउँदा नर्सरीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी विद्यालय जान पाएका छैनन् । नलगाड १ चिउरी, पाली, कल्पत, २ को डाँडागाउँ, छेप्का, ३ को कैनालगायत गाउँका विद्यार्थी ३ दिनदेखि विद्यालय जान नपाएको स्थानीय प्रताप जैसीले बताए ।

झुम्रा खोला वारपार हुँदा र खोलामा भएका सबै पुल बगाउँदा बालबालिका विद्यालय जान नपाएको उनको भनाइ छ । पुल बगेपछि क्रियटिभ इंग्लिस स्कुल दल्ली, जनकल्याण आधारभूत विद्यालय गारेखोला, जनता प्रावि पीपलचौर, सूर्योदय मावि कैना र त्रिभुवन मावि दल्लीमा अध्ययनरत विद्यार्थीको पढाइ छुटेको हो ।

सम्बन्धित निकायले वैकल्पिक उपाय तत्काल खोजेर बालबालिकाको पढाइ सुचारु गर्नुपर्ने अभिभावकको भनाइ छ । बाटो नभएपछि ३ दिनयता विद्यालय जान नपाएको मावि कैनामा ९ कक्षामा अध्ययनरत दिनेश ओलीले बताए । वर्षा नहटेसम्म विद्यालय जान नपाइने अवस्था आएको उनको गुनासो छ । पुल बगाएपछि विद्यार्थी मात्र होइन, बारेकोट गाउँपालिका, डोल्पा, जुम्लालगायत क्षेत्रतर्फ जाने यात्रुले समेत सास्ती खेप्नुपरेको छ ।

त्यस्तै बाटो नहुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु आपूर्ति गर्न थप समस्या भएको स्थानीय वीरबल पुनले बताए । झुप्रा खोलामा आएको बाढीले १० घर, ४ मिल, सय पानी घट्ट, ६ घुम्ती पसल, ७ पुल, ३ सिँचाइ कुलो, सिलिपलाउन लघु जलविद्युत् पावर हाउस र हजार रोपनी खेत बगाएको थियो ।

बाढीले नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका बासिन्दाको करोडौंको सम्पत्तिमा क्षति पुर्‍याएको छ । बाढीले प्रभावित क्षेत्रका सय घरपरिवार विस्थापित भएका छन् । नलगाड नगरपालिका ३, करुवाको जंगलबाट आएको पहिरोका साथै खोलामा बाढी आएकाले उक्त क्षति पुर्‍याएको हो ।

उक्त जंगलमा डोजरले अन्धाधुन्द सडक खन्दा पहिरो आएको स्थानीय पुनले बताए । नलगाड ३, करुवास्थित जंगल हुँदै पाँचकाटिया पुग्ने कैना नेटिलेक सडक अन्धाधुन्द निर्माण गर्दा बाढीपहिरोको जोखिम निम्तिएको उनले बताए ।

प्रकाशित : भाद्र २, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?